सार्वजनिक जग्गा सार्वजनिक घोषित

119

प्रस, वीरगंज, ९ पुस/
तत्कालीन वीरगंज उपमहानगरपालिका–२० मा रहेको ६ कट्ठा सार्वजनिक ऐलानी जग्गालाई उच्च अदालत वीरगंज इजलासले सार्वजनिक कायम गरेको छ।
सो वडाको कित्ता नं ९२ को ६ कट्ठा जग्गा सार्वजनिक ऐलानी रहेकोमा जोगी राउत डोमले किर्ते कागजात पेश गरी नाटकीय तरीकाबाट अंशबन्डा गरेर आफ्नो नाममा दर्ता कायम गरेका थिए।
सो जग्गा जोगीराउत डोमको मृत्यु भएपछि निजकी पत्नी फूलकुमारीले अदालतमा अंश मुद्दा दायर गरेर आफ्नो नाममा आधा अंश कायम गरेकी थिइन्। सोही जग्गा सम्बन्धमा पर्सा जिल्ला अदालतमा परेको रिटमा अदालतले अढाई वर्षपहिले वीमनपा–२ बस्ने ज्याउल हक र अताउल हक राकीको हकमा निर्णय गरेको थियो। फूलकुमारीसँग हक र राकीले जग्गा खरीद गरेको दाबी पेश गरेपछि पर्सा जिल्ला अदालतले आधा जग्गा सार्वजनिक र आधा जग्गा व्यक्ति विशेषको नाममा फैसला गरेको थियो।
तर सोही मुद्दा सम्बन्धमा उच्च अदालत वीरगंज इजलासले कित्ता नं ९२ को ६ कट्ठा जग्गा सार्वजनिक घोषित गरको छ।
उच्च अदालत वीरगंज इजलासका मुख्य न्यायाधीश सारङ्गा सुवेदी र न्यायाधीश कृष्ण थापाको इजलासले बुधवार सो जग्गा सार्वजनिक गर्ने निर्णय गरेको कानून व्यवसायी अधिवक्ता वीरेन्द्र यादवले बताए।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्