वीरगंज भन्सारबाट ५ महीनामा साढे १५ अर्बको वस्तु निकासी

104

प्रस, परवानीपुर, ८ पुस/
मुलुकको मुख्य भन्सार नाका वीरगंजबाट चालू आर्थिक वर्ष २०७७/७८ को पहिलो ५ महीनामा भारततर्फ १५ अर्ब ५८ करोड ५४ लाख ८२ हजार रुपैयाँँबराबरको विभिन्न मालसामान निर्यात भएको छ।
चालू आवको साउनदेखि मङ्सिरसम्मको अवधिमा वीरगंज नाकाबाट भटमासको तेल सबैभन्दा बढी भारततर्फ निर्यात भएको वीरगंज भन्सार कार्यालयका अधिकृत रमेश शुकमणिले बताए। कोरोना महामारीका कारण वीरगंज नाकाबाट भारततर्फ हुने निकासीसमेत प्रभावित भएको अधिकृत शुकमणिले बताए। चालू आर्थिक वर्षको पहिलो ५ महीनामा वीरगंज नाकाबाट मात्रै ९ अर्ब १० करोड रुपैयाँबराबरको ६ करोड ३१ लाख किलो भटमासको तेल भारततर्फ निकासी भएको छ।
वीरगंज नाकाबाट बारा, पर्सा औद्योगिक कोरिडोरका १४ वटा उद्योगले तेल निकासी गर्दै आएका छन्।
गत आव २०७६/७७ को साउनदेखि मङ्सिरसम्मको तुलनामा चालू वर्ष निकासी भएको भटमासको तेल मूल्यका आधारमा ३७९ प्रतिशतले वृद्धि भएको वीरगंज भन्सार कार्यालयले जनाएको छ। पाम आयलको निकासी रोकिएपछि स्वदेशी तेल उत्पादकहरू भटमासको तेल निर्यातमा केन्द्रित भएको वीरगंज भन्सार कार्यालयका अधिकृत शुकमणिले भने, “गत वैशाखको अन्त्यमा भारतले पाम आयल आयातमा प्रतिबन्ध लगाएको थियो, पाम निकासी हुन नसकेपछि स्वदेशी उद्योगीले भटमासको कच्चा तेल ल्याएर प्रशोधनपछि भारत निकासी गर्न थालेका छन्।”
अर्जेन्टिना, ब्रजील, युक्रेन, इन्डोनेसियालगायत देशबाट भटमासको अर्ध प्रशोधित तेल आयात हुने गरेको छ। यस्तो तेल नेपालबाट शून्य भन्सार सुविधामा भारत निकासी हुँदै आएको छ। त्यसैगरी, वीरगंज नाकाबाट डाबर नेपालद्वारा उत्पादित जुस, दन्त मञ्जन, च्यावनप्राशसहित कपडा, सेन्थेटिक यार्न, स्पोट्र्स सुज, उनी गलैंचा, कार्पेट र पिना भारत निकासी हुने मुख्य वस्तु रहेका छन्।
त्यसैगरी, आयुर्वेदिक औषधि, स्टीलका भाँडाकँुडा, कागजका बाकस, सिआर सिटलगायत वस्तुसमेत ठूलो परिमाणमा भारततर्फ निर्यात हुने गरेको वीरगंज भन्सारले जनाएको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्