भारतले सीमा खोलेपछि दलालहरूको आँखा चेलीबेटीमाथि

110

राधेश्याम पटेल, परवानीपुर, ८ पुस/
वीरगंज नाका भएर पछिल्लो समय चेलीबेटी बेचबिखनको घटना बढ्दै गएको छ। गत कात्तिक ६ गतेदेखि भारतले एकतर्फीरूपमा नाका खोलेपछि नेपाली दलालहरूले नेपाली चेलीबेटीलाई आर्थिक प्रलोभनमा पारी भारतका विभिन्न राज्यतर्फ लैजान थालेको सीमानाकामा काम गर्ने गैरसरकारी संस्थाहरूले बताएका छन्।
पछिल्लो समय वीरगंज नाका भएर चेलीबेटीहरूको उद्धार गर्ने आफन्त नेपाल संस्थाकी कविता यादवले भारतले सीमा खोलेपछि दलालहरूको आँखा नेपाली चेलीबेटीमाथि परेको र विभिन्न प्रलोभन दिएर उनीहरूले भारतको बिहार, उत्तर प्रदेश, दिल्ली, मुम्बईलगायतका ठाउँमा बेच्न लगिरहेको अवस्थामा कतिपय युवतीलाई उद्धार गरी आफन्तको जिम्मा लगाएको बताइन्।
पर्सा जिल्लाको तथ्याङ्क हेर्ने हो भने चालू आवको साउनदेखि मङ्सिरसम्म १४ जना बालिका र २४ जना महिला गरी ३८ जनालाई वीरगंज नाकाबाट उद्धार गरी आफन्तको जिम्मा लगाएको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ। पर्साकी प्रहरी उपरीक्षक गङ्गा पन्तका अनुसार शुरूमा फेसबूकबाट साथी बन्ने, त्यसपछि केही दिन संवाद गर्दै भारतमा रोजगार दिने भन्दै दलालहरूले प्रलोभन देखाउँछन्। त्यसपछि रक्सौलसम्म आफ्नो खर्चमा आउन र त्यसपछि उनीहरूले खर्च गर्ने शर्त राखी चेलीबेटीलाई रक्सौल रेलवे स्टेशनसम्म बोलाउँछन्। भारतको विभिन्न शहरका रेस्टुरेन्ट, बार, आर्केस्ट्रालगायत गलत ठाउँमा त्यहाँका साहुसँग मोटो रकम लिएर उनीहरूलाई बेच्ने गरेका छन्।  
गत आवको १२ महीनामा ३४ जना महिला, २८ जना बालिका र एकजना बालक गरी कुल ६३ जनालाई सीमानाकाबाट उद्धार गरी परिवारजनको जिम्मा लगाएको जिप्रका मातहत रहेको महिला तथा बालबालिका सेलकी इन्चार्ज नन्दकला टमाटाले बताइन्।
विशेषगरी मध्य नेपाल र पूर्वी नेपालका जिल्लाहरूबाट गरीब, विपन्न  परिवारका चेलीबेटीलाई ललाइफकाइ दलालहरूले भारतमा बेच्न लग्ने गरेको प्रहरीको अनुसन्धानबाट देखिएको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्