कुहिरोमा काठ तस्करी बढ्यो

106

प्रस, परवानीपुर, ८ पुस/
पर्सा जिल्लामा जाडोको समयमा काठ तस्करी मौलाएको छ।
प्रहरी तथा वनकर्मीहरूको उदासीनताका कारण पर्साको उत्तरी क्षेत्रबाट साइकल तथा ट्याक्टरमा काठ तस्करी गर्ने गिरोहहरू सक्रिय भएका छन्।
गएराति सबडिभिजन वन कार्यालय सबैयाको टोलीले पर्सागढी नगरपालिका वडा नं ३ पारसचोक–बकनरवा सडकखण्ड बीचबाट ठूलो परिमाणमा करीब एक ट्याक्टर सालको गोलिया बरामद गरेको थियो।
फरेस्टर पुरुषोत्तम पटेलको कमान्डमा खटिएको गस्ती टोलीलाई देखेपछि नौवटा साइकलमा लोड गरी जङ्गल क्षेत्रबाट दक्षिणी क्षेत्रमा लागिरहेका काठ तस्करहरू साइकल र काठ छोडेर फरार भएका थिए। बरामद गरिएका काठहरू आवश्यक कारबाईको लागि डिभिजन वन कार्यालय पर्सा वीरगंजमा पठाउने तयारी भइरहेको छ।
जाडोमा कुहिरो बढेसँगै प्रशासन निष्क्रिय भएको हुन सक्ने अनुमान गरी काठ तस्करहरू सक्रिय बनेको वन कर्मचारीहरूले बताए। पर्सामा मिलनचोक, सोलखपुर, सबैया, बिरुवागुठी, बडनिहार, मनवा, रङ्गपुरलगायत क्षेत्रबाट बढी मात्रामा काठ तस्करी हुने गरेको छ। काठ तस्करी गरी उत्तरी क्षेत्रका समिलमा काठ बिक्री गरी विभिन्न फर्निचरको सामान बनाएर वीरगंज तथा भारतीय बजारसम्म पु–याइने गरिएको छ। उत्तरी क्षेत्रमा दुर्ई दर्जनभन्दा बढी अवैधानिक समिलहरू सञ्चालनमा रहेका गाउँँलेहरूले बताएका छन्।
यसबीच, सबडिभिजन वन कार्यालय सबैयाको टोलीले आजै बिहान ७ बजे वीरगंज–२८ बगहीको सुमिन्त्री समिलबाट ३ घनफिट तस्करकीको काठ बरामद गरेको छ। पूर्वसूचनाको आधारमा छापा मारी उक्त काठ बरामद गरेको जनाइएको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्