इन्दुशङ्कर चिनी उद्योग उखु क्रसिड्ढो तयारीमा

89

प्रस, सर्लाही, ८ पुस/
सर्लाहीको हरिवन नगरपालिका वडा नं ११ मा रहेको इन्दुशङ्कर चिनी उद्योगले यस वर्षको उखु क्रसिङ शुरू गरेको छ। उद्योग सञ्चालनका लागि डोङ्गा पूजा गरेर कृषकलाई जानकारी गराइसकिएको उद्योगका प्रबन्धक योगनारायण रजकले बताए।
यो वर्ष २५ लाख क्विन्टल उखु क्रसिङ गर्ने उद्योगको लक्ष्य छ। बितेको वर्ष २६ लाख ६७ हजार ९७१ क्वीन्टल उखु क्रसिङ गरेको थियो।
उक्त उद्योगले किसानको उखुको मूल्य समयमैं भुक्तानी दिएको दाबी गरेको छ। दशैंअघि नै उखु उत्पादक किसानको सम्पूर्ण भुक्तानी दिएको प्रबन्धक रजकले बताए।
सर्लाहीमा तीनवटा चिनी उद्योग छन्। सोमध्ये धनकौलस्थित अन्नपूर्ण चिनी उद्योग र महालक्ष्मी चिनी उद्योग बगदहले उखु उत्पादक किसानको गत वर्षको भुक्तानी दिन बाँकी छ।
बक्यौता रकम भुक्तानी नगरेसम्म उक्त मिल सञ्चालन गर्न नदिइने उखु उत्पादक किसान महासङ्घको अडान छ। भुक्तानी नदिएका  दुवै उद्योगविरुद्ध जिल्लाका उखु उत्पादक किसानले काठमाडौंमा आन्दोलन गरिरहेको महासङ्घका अध्यक्ष कपिलमुनि मैनालीले बताए।
गत वर्ष पनि सञ्चालनमा आउन नसकेको अन्नपूर्ण चिनी उद्योगले किसानलाई तीन/चार वर्षदेखि भुक्तानी दिन बाँकी रहेको सो मिल सम्बद्ध किसानहरूले बताएका छन् ।
महालक्ष्मी चिनी उद्योगले भने यसअघि दुई वर्ष उखु क्रसिङ गरिसकेको छ। उक्त मिलले यस वर्ष पनि सञ्चालन गर्ने तयारी गरिरहेको छ। उद्योगले आफ्नोतर्फबाट सम्पूर्ण भुक्तानी गरिसकेको बताए पनि किसानले भने सो उद्योगबाट पनि केही रकम भुक्तानी पाउन बाँकी रहेको भन्दै आन्दोलन गरिरहेका छन्।  
यस वर्षको लागि किसानलाई प्रतिक्विन्टल उखुको मूल्य रु ५४४ दिन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयद्वारा गठित कार्यदलले सिफारिश गरिसकेको छ। तर उखु किसानले भने सो मूल्य मान्य नहुने भन्दै उखुको मूल्य प्रतिक्विन्टल न्यूनतम ६१७ रुपैयाँ कायम हुनुपर्ने माग राखेका छन्।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्