त्यही भयो, जुन हुनु थियो

117

प्रधानमन्त्री केपीशर्मा ओलीको सरकारले प्रतिनिधिसभा विघटन गर्ने निर्णय ग–यो र राष्ट्रपतिले त्यसमा सही थापिन्। प्रधानमन्त्री ओलीलाई गलाएर सत्तामा बस्न खोज्नेहरूको मनमा हाहाकार मच्चियो। देश र जनतालाई त के, साँपनाथ गए, नागनाथ आउँछन्, त्यत्ति मात्र हो। प्रचण्ड र माधव नेपालको किस्मत फुट्यो। कहाँ त ओलीविरुद्ध अविश्वासको प्रस्ताव लगाएर सत्तामा बस्ने धोको थियो, कहाँ निर्वाचनको बखेडामा होमिनुप–यो। कुर्सी पाउने सजिलो बाटो गुमेको देख्दा एउटा उर्दू शेरको सम्झना हुन्छ–किस्मत की बात देखिए टुटी कहाँ कमन्द, दो हात ही जब लबे वाम रह गये। नेपालको प्रजातान्त्रिक इतिहासमा यस्तो परिदृश्य योसमेत चारपटक भयो। पहिलोपटक स्व गिरिजाबाबूले, दोस्रोपटक पनि उनकै कारणले, एकपटक मनमोहन अधिकारीले जुन सफल हुन सकेन र अहिले केपीशर्मा ओलीले। यसमा सिद्धान्त र संविधान/विधानको कुरा आफ्नो ठाउँमा छ, तर नियत सबैको हम तो डुबेंगे सनम तुझे भी ले डुबेंगे  भनेजस्तै भएको छ।
ओली लायक भएनन्, कसले पो लायकीयत देखाएको छ, सरकारको नेतृत्व गरेर ? अनि एउटा नालायकलाई हटाएर आफू नालायक बन्न किन हौंसिन्छन्, नेपालका नेताहरू ? अहिले कुर्सीको दौडमा अगाडिअगाडि कुदिरहेका प्रचण्ड हुन् वा माधव नेपाल, दुवैले अवसर पाएकै थिए, आफूलाई लायक साबित गर्न, खोइ के भयो ? ओलीको उछित्तो नकाढेको भए, उनले जतिसुकै नालायकी गरे पनि, पूर्णकाल प्रधानमन्त्री बनेको गौरव नेपाललाई हासिल हुन्थ्यो। यो कुरा नेपाली काङ्ग्रेसले पनि बुझेको छ। सत्ता परिवर्तनले नेपालको भाग्योदय भएन, पार्टी परिवर्तनले शासन व्यवस्थामा सुधार आएन, व्यक्ति परिवर्तनले स्वार्थ र भ्रष्टाचारको नियतमा सुधार आउन सकेन भने अब यस देशलाई कस्तो व्यक्ति, पार्टी वा राजनीतिक व्यवस्था चाहिएको हो ? यस्ता कुराहरू सरासर जनतालाई होचो देखाउने प्रयास मात्र हो। हिजो जनताले रोजेका प्रतिनिधिहरूद्वारा निर्वाचित प्रधानमन्त्री थिए, जनताले परिवर्तनको आवाज उठाएको थिएन, व्यक्ति परिवर्तन खोज्ने सत्तालोलुप नेताहरू थिए। तिमी सा–है योग्य छौ, तर तिमीलाई काम गर्न दिएनन् भनेर कहाँ जनताले ओलीलाई जनादेश दिएको थियो ? भर्खरै स्तम्भकार श्रीमन्नारायणले यसै अखबारमा भुरुण्डी चराको उदाहरण दिएका थिए। साँच्ची प्रचण्ड र ओलीरूपी दुई मुख भएको भुरुण्डी चराले अलोकतान्त्रिक विष खायो।
जनतालाई उछिनेर व्यक्ति अहमन्यतालाई प्रश्रय दिनु नै सामन्तवाद हो। २०४६ सालदेखिको प्रजातान्त्रिक नेपालको इतिहास केलाउने हो भने जति पनि प्रधानमन्त्रीहरू भए, ती सबै सामन्तवादका पृष्ठपोषक मात्र थिए। कसैले पनि आफू, आफ्नो परिवार, आफन्त, इष्टमित्र अनि पछि आफ्नो पार्टीको कार्यकर्ता, त्यो पनि आफ्नो पक्ष्Fको, अनि पार्टीको हित सोचे। देश र जनताका लागि कसैले सिन्को भाँचेको कुनै उदाहरण देखिन्न। कालक्रममा, स्वस्फुरित, दाता राष्ट्रहरूको दयाले भएको विकासबाहेक कसले के योगदान दियो ? सबै बनियाँ साबित भए। राजनीतिक सिद्धान्तसँग त कसैलाई कुनै सरोकार नै भएन। राजनीतिक पसल मात्र खोले, ‘प्रजातन्त्र’ र ‘वामपन्थ’ नाम राखे। जनताले पनि खोजीखोजी नालायकहरूलाई छान्यो। अब मध्यावधि निर्वाचन हुन्छ भने जनता सजग हुनुपर्छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्