किसानहरू गहुँखेतीको लागि सिंचाइको व्यवस्थापनमा

100

प्रस, सेढवा, ५ पुस/
गहुँखेती गरेका किसानहरू अहिले गहुँ रोपेको २१औं दिनपछि सिंचाइमा लागिपरेका छन्।
गहुँ रोपेको २१ दिनपछि खेतमा सिंचाइ गर्नुपर्ने हुनाले किसानहरू सिंचाइका विभिन्न उपाय अवलम्बन गर्दैछन्। गण्डक नहरको पहुँचमा नरहेका पर्साको उत्तरी–पश्चिम क्षेत्र थरुहटका किसानहरू अहिले खोला, बाँध, पैनी तथा भूमिगत सिंचाइबाट खेत सिञ्चित गर्दैछन्।
अन्यत्रका किसानहरूले सहुलियत मिटरबाट खेतमा सिंचाइ गरे पनि थरुहटमा सहुलियत मिटरको व्यवस्था नहुँदा यहाँका किसानहरू सोबाट पनि वञ्चित छन्। प्रायः उपभोक्ता समितिमार्फत विद्युत् उपभोग गर्दै आएका किसानहरूलाई सहुलियतको मिटर सिंचाइको लागि व्यवस्था छैन। उनीहरूले उपभोक्ता समितिले तोकेको दररेटमा विद्युत् महसूल तिर्नुपर्ने हुँदा विद्युतीय मोटरबाट सिंचाइको सुविधा लिन सकेका छैनन्।
जीराभवानी गापा–२ सेढवा निवासी जयदत्त राउत थारूले अहिले आकाशे सिंचाइको भर नभएको र अन्य सिंचाइ विधि उपयोग गर्नुपरेको बताए। उनले थरुहट क्षेत्रका अधिकांश किसान भूमिगत सिंचाइमा निर्भर भएका र यो अलि खर्चिलो भएको बताए। सिंचाइका लागि यहाँका किसानहरू अहिले बिहानदेखि बेलुकासम्म दमकलको जोहोमा लागेका छन्। दमकल भएका किसानहरू डिजेल, मोबिललगायत दमकलको मरम्मत सम्भारमा खेतमैं दिन बिताउने गरेका छन्। दमकल मिस्त्री लक्ष्मणभैया थारूले अहिलेको सिजनमा मरम्मत सम्भारमा दैनिक १०/१५ वटा दमकल आउने गरेको बताए। उनले गहुँमा सिंचाइ गर्ने समयमा दमकल मरम्मतका काम बढ्ने गरेकोले अहिले मरम्मत सम्भारमा भ्याइनभ्याइ भएको बताए।
सेढवाका थारूले भूमिगत सिंचाइ पनि महँगो भएको बताए। उनले अन्यत्रझैं यस क्ष्Fेत्रमा पनि सहुलियतको विद्युतीय मिटर जडान गर्नुपर्ने आवश्यकता रहेको बताए।
सखुवाप्रसौनी गापा र पर्सागढी नपाका किसानहरू भने सहुलियतको विद्युत् मिटरबाट लाभ लिइरहेका छन्। यस क्ष्Fेत्रका ७५ प्रतिशत किसानले यो सेवा प्राप्त गरेकोले त्यहाँ सिंचाइको समस्या देखिएको छैन। जीराभवानी गापामा पनि उपभोक्ता समितिमार्फत विद्युत् आपूर्ति भइरहेकोले कृषि प्रयोजनको लागि सहुलियत मिटरको व्यवस्था नहुँदा त्यहाँका किसानहरूले समस्या भोग्दैछन्। जीराभवानी गापा–१ शान्तिनगर, पिपरा भवानीपुर र वडा नं २ को सेढवा, वसन्तपुर, काठमाडौंटोलमा उपभोक्ता समिति भएको कारण कृषि प्रयोजनका लागि सहुलियत मिटरको व्यवस्था छैन।
यसबीच, जीराभवानी गापा–५ हरैयाका डेढ सय किसान पर्सा राष्ट्रिय निकुञ्जबाट सिंचाइ सेवा लिंदै आएका छन्। बस्तीभन्दा १७ किलोमिटर टाढा जङ्गल क्षेत्रमा रहेको खोलाबाट कुलो बनाइ करीब साढे तीन सय बिघा जमीनमा उनीहरूले सिंचाइ गर्दै आएका छन्। स्थानीय किसान मेघराज रामले १७ किलोमिटर टाढाबाट सिंचाइ गर्दा बेलाबखत समस्या हुने गरेको बताए। उनले कुलोको मुहान बिग्रिनेलगायतका समस्या समाधानका लागि ४०–५० जना किसान अहिले मरम्मत सम्भारमा जुटेको बताए।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्