अङ्ग्रेज सेनालाई परास्त गरेको पर्सागढी संरक्षणको पर्खाइमा

141

राधेश्याम पटेल, परवानीपुर, ५ पुस/
नेपाल एकीकरणको समयमा अङ्ग्रेज सेनासँग युद्ध भएका विभिन्न गढीहरू छन्। गढी अर्थात् वीर गोर्खाली सेनाले हातहतियार, खरखजाना तथा लडाइँ भएको ठाउँ भनेर चिनिन्छ। यस्तै, एउटा गढी पर्सा जिल्लामा पर्छ। पर्सा जिल्लाको नामकरण पनि यसै पर्सागढी भन्ने ठाउँबाट भएको किंवदन्ती तथा इतिहासका किताबहरूमा जिकिर गरिएको पाइन्छ। पर्साको सदरमुकाम वीरगंजबाट १८ किलोमिटर उत्तर–पश्चिममा रहेको यो ठाउँ हालको पर्सागढी नगरपालिकाको वडा नं ६ जिङ्गना भन्ने टोलभन्दा ३ किलोमिटर पश्चिममा अवस्थित छ। तर अधिकांश पर्सावासीलाई समेत यस गढीको बारेमा खासै थाहा छैन। कारण प्रचारप्रसार, प्रवद्र्धन, संरक्षणमा सरोकारवाला निकाय मौन रहनु हो। २०४८ सालदेखि जिल्ला विकास समितिको गठन भएसँगै जिविसले प्रकाशित गर्दै आएको वार्षिक स्मारिकामा पर्सा जिल्लाको नाम पर्साको महुवनको पारसनाथ मन्दिरबाट राखिएको भन्ने अर्को तर्क छ। तर पर्सागढीको इतिहास २०६ वर्ष पुरानो भएकोले पर्सा जिल्लाको नाम पर्सागढीबाटै नामकरण भएको पर्सागढीवासीको दाबी छ। अहिलेको पर्सागढी नगरपालिका बागेश्वरी तित्रौना, जिङ्गना, पचरुखी, बागवान्ना, हरपुर गरी पाँचवटा गााविस मिलाएर गठन भएको हो। पर्सागढीको जग्गा, आवश्यक पूर्वाधार, चर्पी, पर्खाल, धर्मशाला, विजय स्तम्भलगायत भौतिक पूर्वाधारलगायतको अभावमा यो ठाउँ अहिले पनि ओझेलमा परेको स्थानीयहरू बताउँछन्।
पुर्खाले इतिहास रचेको पर्सागढी अहिले संरक्षणको पखाईमा रहेको स्थानीय बृजमोहन चौधरी बताउँछन्। उनले भने, “पर्सागढी अङ्ग्रेज सेनालाई परास्त गरी धपाएको ठाउँ हो, यसमा स्थानीय, सरकार र केन्द्र सरकारले गर्नुपर्ने सहयोग आवश्यक छ।” अहिलेसम्म पर्सागढीवासीको कुलदेवता बन्हर बाबाको मन्दिर, महिषासुरको स्तम्भ र ५,६ कट्ठाको बगैंचाबाहेक अरू केही संरचना छैन।
पर्सागढीका प्रमुख लोकनारायण यादवले पर्सागढी पर्सेली र सम्पूर्ण नेपालीको धरोहरको थलो भएकोले यसको संरक्षणमा आफूले तन, मन, धनले सक्दो सहयोग गर्ने वचन दिए। “पर्सागढीको पहिले ५०–६० बिघा जग्गा थियो, पर्सागढी गाउँँ नै बसेको जग्गा अहिले पनि त्यसै छ, सानो जङ्गल पनि नजीकै छ, केही बिघा जग्गा पर्सागढीका रैथाने जाति तथा परिवारले अतिक्रमण गरी खेती गर्दै आएका छन्,” उनले भने, “हाम्रै परिवारले उक्त जग्गा भोगचलन गरिरहेका छन्, तर सबैले नापीको आधारमा पर्सागढीको जग्गा छोड्ने सहमति गरिसक्नुभएको छ, अब पर्सागढीको संरक्षण हुनेछ।” उनले यसै वर्ष पर्सागढीमा वैवाहिक कार्यक्रमको लागि एउटा धर्मशाला र माथिल्लो तलामा पर्सागढीको इतिहाससँग सम्बन्धित वस्तुको खोजी तथा सङ्कलन गरी सङ्ग्रहालय बनाउने योजना पनि रहेको बताए।
नेपालमा भएका गढीहरूको संरक्षण र प्रवद्र्धनबारेमा नेपाली सेनाले सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। चण्डीप्रसाद गण श्रीपुर वीरगंजका गणपति प्रमुख सेनानी मदनजङ्ग राणाले भने, “अङ्ग्रेज सेनाले नेपालका विभिन्न ठाउँमा आक्रमण गर्दा भारतबाट अलांै कब्जा गर्दै मकवानपुर जाने क्रममा पर्सागढीमा किला गाडेका थिए। त्यति बेला पर्सागढीका रञ्जीत चौधरी तथा स्थानीयको सहयोगमा वीर गोर्खाली सेनाले अङ्ग्रेज सेनालाई पराजित गरी हराएको ठाउँ भएकोले यसको संरक्षण र प्रवद्र्धनमा सबैको दायित्व हुनुपर्छ।”
पर्साका प्रमुख जिल्ला अधिकारी आसमान तामाङले संस्कृति, नागरिक तथा पर्यटन मन्त्रालयको पुरातात्विक विभागमा पर्सागढीको इतिहासका गाथाहरू दर्ता गरी अघि बढ्नुपर्ने बेला आएकोले त्यसतर्फ सोच्नुपर्ने सुझाव दिन्छन्।
कसरी पराजित गरियो ब्रिटिश सेनालाई ?
१८७१ पुस १९ गतेका दिन अङ्ग्रेजी महीनाको जनवरी १ तारेख। अङ्ग्रेज सेनाहरू नयाँ वर्ष मनाइरहेका थिए। मदिरामा मस्त थिए। तत्कालीन प्रधानमन्त्री भीमसेन थापाबाट उक्त पर्सागढी बिर्ताको रूपमा रञ्जीत चौधरीलगायत तीनजनाले पाएका थिए। त्यस कारण उक्त बाटो भएर नेपाल चढाइ गर्ने अङ्ग्रेज सेनालाई रोक्न र लडाइँमा सघाउन पर्सागढीवासीको पनि दायित्व थियो। त्यस बेला गोर्खाली सेनाको लागि पाँचवटा गाउँबाट अन्न, हातहतियारलगायतको व्यवस्थापन पनि भएको थियो।
पुस १९ गते दिनमैं पर्सागढीको पश्चिममा पर्ने तिलावे खोला, पूर्वमा पर्ने सिंघाई खोलामा बाँध लगाइ खोलामा पानीको सतह बढाइयो। अङ्ग्रेज जनरल बिनेट मार्लीको टोली मदिराको नशामा साङ्गेतिक प्रस्तुति दिइरहँदा साँझ ७ बजेदेखि दुवै खोलामा राँगा, गोरु, गाई, भैंसीलाई तैराइएको थियो। रागाँ, भैंसी, गोरुको सिंहमा मसाल बाँधेर पौडाइएको थियो। उक्त दृश्य देखेर अङ्ग्रेज सेना त्रसित भयो। हजारौंको सङ्ख्यामा गोर्खाली सेनाले आक्रमण गर्न आउँदैछन् भन्ने लागेर आआफ्नो हतियार खोल्न थाले। गोली, गोलाबारुद छोडे। केही बेरमा उनीहरूको हतियार सकियो। त्यसपछि पाँच गाउँँका गाउँँले र नेपाली सेना मिलेर घरेलु हातहतियारले धावा बोले। त्यसपछि अङ्ग्रेज सेनामा केही मारिए भने केही खोलामा डुबेर वा डुबाइएर पनि मारिएको इतिहास रहेको रञ्जीत चौधरीको छैटौं पुस्ताका सन्तान बृजमोहन चौधरी सुनाउँछन्। त्यसपछि पर्सागढी नेपालको इतिहासमा चर्चित बन्यो, उनले भने।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्