सीता गुफामा रामसीता विवाहोत्सव सम्पन्न

237

चिरञ्जीवी सापकोटा, ठोरी, ४ पुस/
विवाह पञ्चमीको अवसरमा ठोरीको सीता गुफामा रामसीता विवाहोत्सव कार्यक्रम  धूमधामका साथ सम्पन्न भएको छ। राम जन्मभूमि क्षेत्र विकास समिति र सीता गुफा पूजा समितिको संयुक्त आयोजनामा शनिवार विवाहोत्सव सम्पन्न भएको हो।
वैदिक विधि अनुसार गरिएको विवाहोत्सव कार्यक्रममा ठोरी गाउँपालिकाका अध्यक्ष पदमलाल श्रेष्ठको सहभागितामा ठोरी–माडी अयोध्यापुरी क्षेत्रबाट श्रीराम भगवान्को जन्ती सीता गुफा पुगेको थियो। त्रेतायुगमा अयोध्याका राजा दशरथका छोरा भगवान् रामचन्द्रको विवाह जनकपुरका राजा जनककी पुत्री सीतासँग भएको दिनलाई तिथि पारेर विगत लामो समयदेखि ठोरीमा पनि रामसीता विवाह महोत्सव मनाउँदै आइएको छ।
गत असार २९ गते आदिकवि भानुभक्त आचार्यको जन्मदिवसको अवसरमा प्रधानमन्त्री केपीशर्मा ओलीले त्रेतायुगका रामचन्द्रको जन्म ठोरी क्षेत्रकै अयोध्यापुरीमा भएको किटानी गरेपछि यस क्षेत्रका बासिन्दाको पौराणिक एवं धार्मिक विश्वास थप पुष्टि भएको ठोरीवासीको भनाइ छ।
विवाहोत्सव कार्यक्रममा गापा अध्यक्ष श्रेष्ठले आगामी चैतसम्ममा सीता गुफा परिसरमा रामसीताको मन्दिर निर्माण गरिने बताए। मन्दिर निर्माणका लागि प्रारम्भिक चरणमा गापाले १० लाख रुपैयाँ रकम विनियोजन गरिसकेको अध्यक्ष श्रेष्ठले जानकारी गराए।
विवाह महोत्सवमा गाउँपालिकाका जनप्रतिनिधि, सर्वसाधारणका साथै हाल चितवन अयोध्यापुरी क्षेत्र, सीमावर्ती भारत गौनाहा, जमुनिया, भतउझला, भिखना ठोरीलगायतका क्षेत्रका श्रद्धालु भक्तजनहरूको उल्लेखनीय सहभागिता रहेको ठोरी–२ का अध्यक्ष किशोर तामाङले बताए।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्