मतदाता चुनावको प्रतीक्षामा छन् –नेता रिजाल

100

प्रस, वीरगंज, ४ पुस/
मुलुकको समसामयिक अवस्थाबारे नेपाली काङ्ग्रेसको जनसभा शनिवार पर्साको धोबिनी गाउँपालिका–२ भिखमपुरमा सम्पन्न भयो।
कार्यक्रमका मुख्य अतिथि नेकाका केन्द्रीय सदस्य एवं पूर्वसांसद रमेश रिजालले सङ्घीय र प्रदेश सरकारको कार्यशैलीबाट जनता आजित भइसकेको बताए। सङ्घमा ओली नेतृत्वको सरकारलाई आफ्नै दलभित्र झगडा गर्दैमा देशको लागि काम गर्ने समय नपाएको र प्रदेश नं २ मा सत्तासीन दलका नेताहरूलाई भागबन्डा गर्ने र मुख्यमन्त्रीको कुर्सी जोगाउने ध्याउन्नमा नै अहिलेसम्मको समय बर्बाद भएको नेता रिजालले टिप्पणी गरे। राष्ट्रवादी नेपाली जनताको भावनामाथि ओली सरकारले खेलवाड गरेको र मधेसी शहीदको बलिदानीलाई प्रदेश २ सरकारले सत्ता चढ्ने भ–याङ मात्रै बनाएको भन्दै नेता रिजालले मतदाता चुनावको प्रतीक्षामा रहेको दाबी गरे।
कार्यक्रममा युवा नेता तथा सो पार्टीका जिल्ला कमिटी सदस्य नवीन  सिंहले नेपाल–भारत सीमा क्षेत्रका नागरिक सीमा बन्द भएको कारण धेरै समस्यामा परेको बताए।
परापूर्वकालदेखि सीमा क्षेत्रका भारतीय बजार उपभोग गर्दै आएका पर्साका ग्रामीण जनता र सीमा वारि र पारि पारिवारिक सम्बन्ध रहेका सर्वसाधारणका लागि विवाह, व्रतबन्ध र मर्दापर्दामा जान–आउन असहज भइरहेको भन्दै नेता सिंहले जतिसक्दो छिटो सिल सीमा नखुले धैर्यताको बाँध टुट्न सक्ने चेतावनी दिए।
सो पार्टी धोबिनी–२ बुथ सभापति रामाशिष राउतको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेशसभा सदस्य शङ्कर चौधरी, पूर्व जिल्ला सचिव वृहस्पतिकृष्ण श्रेष्ठ, नेताहरू वशिष्टनारायण कुर्मी, रमेश पाण्डे, श्रीकान्त यादव, नवप्रवेशी नेता अनिल चौहानलगायतले मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रममा विभिन्न पार्टी त्याग गरी नेकामा प्रवेश गरेका नेता, कार्यकर्ताहरूलाई स्वागत तथा सम्मान गरिएको थियो।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्