निकुञ्जको कानून जनमैत्री नभएको संरक्षणकर्मीहरूको गुनासो

107

माधव तिमिल्सिना, ठोरी, ४ पुस/
पर्सा राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्रका अगुवा संरक्षणकर्मीहरूले निकुञ्जको वर्तमान कानून जनमैत्री नभएको गुनासो गरेका छन्।
सुनाखरी मध्यवर्ती उपभोक्ता समिति ठोरी–५ ले शनिवार सुवर्णपुरमा आयोजना गरेको अन्तत्र्रिmया कार्यक्रममा सहभागी संरक्षणकर्मीहरूले सो गुनासो गरेका हुन्।
निकुञ्जको ऐन कानून जनपक्षीय हुन नसकेको कारण पर्सा राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्रका बासिन्दाहरूले दुःख झेल्नुपरिरहेको भन्दै अगुवा संरक्षणकर्मीहरूले समयसापेक्ष कानून परिमार्जन गर्नुपर्नेमा जोड दिएका छन्।
पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत मनोजकुमार साहको प्रमुख आतिथ्यमा सम्पन्न अन्तत्र्रिmया कार्यक्रममा वक्ताहरूले मध्यवर्ती क्षेत्रका जनताले घर निर्माण गर्दा सहजरूपमा गिट्टी, बालुवा निकासी गर्न पाउनुपर्ने, सुवर्णपुर हुँदै रामभौरीभाठासम्म धार्मिक पर्यटक जान पाउनुपर्ने, घोडेमसानबाट पक्की संरचना बनाएर पानी ल्याउन पाउनुपर्नेलगायतका माग गरेका छन्।
कार्यक्रममा ठोरी–५ का अध्यक्ष रामबहादुर पाख्रिनले निकुञ्ज क्षेत्रमा पर्ने खोलाहरूबाट उपभोक्ताले सहज र सहुलियतपूर्ण तरीकाले गिट्टी, बालुवा निकासी गर्न पाउनुपर्ने धारणा राख्दै विद्यमान नियम कानूनले मध्यवर्ती क्षेत्रका उपभोक्ताहरूलाई सास्ती भइरहेको बताए।
कार्यक्रममा निर्मल मध्यवर्ती उपभोक्ता समितिका पूर्वअध्यक्ष सन्तोष श्रेष्ठले ठोरीमा मध्यवर्ती सामुदायिक वन नहुँदा उपभोक्तालाई घाँस–दाउरा गर्नसमेत समस्या रहेकोतर्फ निकुञ्ज प्रशासनको ध्यानाकर्षण गराए। निकुञ्जको अव्यावहारिक कानूनको कारण सामुदायिक वन उपभोक्ताले पाउन नसकेको जिकिर गर्दै उनले वन संरक्षणमा लागेका नागरिकको लागि कानून पनि जनमैत्री हुनुपर्ने बताए।
सो अवसरमा नागरिक अगुवा लेखमान थापा, सुनाखरी मध्यवर्ती उपभोक्ता समितिका पूर्वअध्यक्ष भीमबहादुर पाख्रिनलगायतले मन्तव्य व्यक्त गरेका थिए।
सहभागीहरूको धारणा सुनिसकेपछि पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत साहले आफूले मध्यवर्ती क्षेत्रका स्थानीयवासीको समस्यालाई गम्भीरतापूर्वक लिएको बताउँदै सकेसम्म छिटो समस्या समाधानका लागि आफ्नोतर्फबाट सक्दो पहल गर्ने प्रतिबद्धता जाहेर गरे। उनले सुवर्णपुर हुँदै भाठा जान धार्मिक पर्यटकलाई अनुमति दिइने,  स्थानीयको मागबमोजिम  नै घोडेमसानबाट पानी ल्याउन अनुमति दिइने र स्थानीयको घर निर्माण प्रयोजनका लागि मध्यवर्ती क्षेत्रबाट गिट्टी, बालुवा सहज किसिमले ढुवानी गर्ने व्यवस्थाका लागि प्रक्रिया अगाडि बढाइने बताए।
सुनाखरी मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष देवीप्रसाद दाहालको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्