श्री गुरु तेग बहादुरजी महाराज

203

जसपाल सिंह

जिह्वा गुण गोविन्द भजो, कर्ण सुनो हरनाम
कहो नानक सुन मेरे मना, परेह ना जम के धाम।
सुख–दुःख जिह परसै नहीं, लोभ मोह अभिमान।
कहु नानक सुन रे मना, सो मूरत भगवान्।।
उसतुति निन्दा नाहिं जिहि, कञ्चन लोह समान।
कहु नानक सुन रे मना, मुकत ताहिं तैं जानि।।
हरख–सोग जाके नहीं, बैरी मीत समान।
कहु नानक सुन रे मना, मुकत ताहिं तैं जानि।।
भै का कउ देत नहीं, नहीं भै मानत आनि।
कहु नानक सुन रे मना, गिआनी ताहि बखानि।।
मन माइआ में रमि रहिओ, निकसत नाहिन मीत।
नानक मूरति चित्र जिउ, छाडत नाहिन भीत।।
राम गइओ रावन गइओ, जाको बहु परिवार।
कहु नानक थिरू कुछ नहीं, सुपने जिऊँ संसार।।
चिन्ता ताकि किजिए, जो अनहोनी होई।
इह मारगु संसार को, नानक थिरू नहीं कोइ।
गुरु तेगबहादुर सिमरिए घर नव निधि आवे धाइ सब थाइ होए सहाए।
(अर्थात् उनको स्मरणले घरमा नवनिधि धाएर आउँछन्।)
आठौं गुरु श्री गुरु हरिकृष्ण साहेबजी महाराज सानै उमेरमा गुरुपदमा आसन भई सानै उमेरमा परलोक गमन हुने बेलामा उनीपछिका नवौं गुरुको बारेमा अन्योल नहोस् भनेर “बाबा बसे बकाले“ उच्चारण गरी परलोकगमन भए। सो कुरा स्पष्ट नभएकोले केही तथा कथित व्यक्तिहरूले आफूलाई नवम् गुरु भनी आफ्नो स्वार्थ सिद्ध गर्न थाले। वास्तवमा त्यागमलजी बाल्यकालदेखि नै विद्वान्, कवि, धार्मिक तथा परम योद्धा थिए। युद्ध कौशलमा पारङ्गत भई केही युद्धमा आफ्नो वीरता देखाइसकेकाले उनको नाम त्यागमलबाट तेगबहादुरजी भयो।
गुरु तेग बहादुरजी श्री हरिकृष्ण साहेबजी महाराजको नाताले हजुरबुबा परेकाले नवम् गुरुको रूपमा “बाबा बसे बकाले” भनी उनलाई नै इशारा गरिएको थियो, तर उनी चाहिं यो सब कुराबाट अनजान भई एकाग्रता तथा प्रभुको ध्यान गर्दै बकाला गाउँको एक कोठामा आफूलाई सीमित गरी आफन्तहरूलाई मलाई ध्यानमा विघ्न नगर्नु भनी बसेका थिए।
मख्खण शाह लुबाणा ठूलो व्यापारी थिए साथै गुरु घरका प्रेमी पनि थिए। पानीजहाजमा समुद्री यात्रा गर्दै विभिन्न ठाउँमा गई व्यापार गर्ने गर्दथे। एक साँझ पानीजहाजबाट व्यापार गरी फर्कने क्रममा अचानक समुद्री आँधीमा उनको जहाज नराम्रोसँग फसेर त्राहित्राहि भई सबै साथी र सेवकहरू आत्तिएर उनको कक्षमा गए, उनी सन्ध्या बेलाको पाठ रहिरास साहिब गर्दै शान्त मुद्रामा थिए। पाठको समापनपछि जब उनले आँखा खोले सबै आत्तिएर विचलित थिए तर मख्खण शाह लुबाणा शान्त, चित्त भई सत् करतार, सत् करतार गर्दै थिए।
गुरु घरप्रति अटुट विश्वास राख्दै मनै मन प्रार्थना र नवम् गुरुलाई सम्झी केही वाचा गरी शान्त बसिरहे, बिस्तारै–बिस्तारै केही समयपछि आँधी शान्त भयो र बिहानीपख जहाज निर्धारित स्थानमा सुरक्षित पुगी किनारा लाग्यो। सबैले निरङ्कार वाहेगुरुप्रति अगाध, श्रद्धा भक्तिले दुवै हात जोडी नमन तथा किर्तज्ञता व्यक्त गरे।
जहाज किनारा लागिसकेपछि मख्खण शाहले नवम् गुरुलाई गरेका भाकल सम्झी, उनले गुरुलाई जहाज सुरक्षित भए ५०० सुनको मोहर चढाउँछु भनी मनले भाकल गरेका थिए। केही दिनपछि मख्खण शाह गुरु साहेबको लागि ५०० सुनको मोहर लिएर दर्शन गर्न गए। गाउँमा अनेकौं तथा कथित नक्कली व्यक्तिहरू गुरु बनेर बसेका थिए। उनले सबैलाई दुई मोहरको दरले मोहर चढाएर ढोगे, सबै मोहर पाएर खुशी भए तर कसैले पनि ५०० मोहरको चर्चा गरेनन्, तसर्थ यिनीहरू सत्य गुरु होइनन् भन्ने पक्का भयो। सच्चा गुरु नभेटिएकाले मख्खण शाह दुःखी भए। उनले अरूहरूसँग यहाँ कुनै अरू गुरु छन् भनी सोधे, कसैबाट उनले सुने कि एक महापुरुष छन्, जो हर समय प्रभुको गुण गाएर बस्छन् र बाहिर पनि कम निस्किन्छन्, यो सुनेर उनी नै साँचो गुरु होलान् भनी उनी त्यहाँ पुगे। गुरु तेगबहादुर साहेब एउटा कोठामा ध्यान गरिरहेका थिए। गुरु साहेबलाई पनि उनले दुई मोहर चढाएर दर्शन गरेर फर्कन लाग्दा गुरु साहेबले ‘मख्खण शाह’ भनेर बोलाए र भने, “तिमीले त गुरु घरको लागि ५०० मोहर चढाउँछु भनी भाकल गरेका थियौ त,” अन्तर्यामी गुरु साहेबले उनलाई जहाज डुब्न लागेको समयमा मख्खण शाहले गरेको प्रार्थना र भाकल सम्झाए, साथै आफ्नो एउटा काँधको वस्त्र हटाएर काँधमा भएको ताजा घाउ देखाएर भने यो तिम्रो डुब्न लागेको जहाज बचाउने बेलामा काँध दिंदा भएको हो, बल्ल उनलाई असली गुरु उनी नै हुन् भन्ने विश्वास भयो। मख्खण शाहले गुरु साहेबलाई ५०० मोहर चढाएर ढोगे। त्यसपछि अत्यन्तै खुशी भएर त्यो कोठाको छतमा गएर जोडजोडले चिच्याउन थाले, “गुरु लाधो रे गुरु लाधो” अर्थात् सही गुरु भेटिए। त्यसपछि सबै नक्कली गुरु त्यहाँबाट भागे। यसपछि गुरु तेग बहादुरजीलाई नै सबले गुरु मान्न थाले।
उपरान्त उनले गुरु रूपमा आफ्नो कार्ययोजना शुरू गरे।
नवम् गुरु श्री गुरु तेग बहादुरजी महाराजले निरङ्कार प्रभु तथा श्री गुरु नानक देवजी महाराजको मूलमन्त्र, उद्देश्य, सिद्धान्त, भेदभावरहित समाज, भोकले पीडित मानिसलाई लङ्गर–भण्डारा, रोगीहरूको औषधोपचार, महिलाहरूलाई सम्मान तथा गुरुवाणीको प्रचारलाई निरन्तरता दिंदै विभिन्न स्थानमा जनजनमा गई सो कार्यलाई मूर्तरूप दिन थाले। विभिन्न स्थानको रूपरेखा परिवर्तन गर्ने, अभावलाई मेटाउने, व्यक्तिहरूको समस्यालाई समाधान गर्ने, कुरीतिहरूलाई हटाउने, कपटी तथा अहङ्कारी व्यक्तिहरूलाई ज्ञान र वाणीले सत्मार्गमा ल्याएर ठीक पारे।
श्री गुरु तेग बहादुरजी महाराज आफ्नो कार्यमा व्यस्त थिए, उता पटना साहेब (पाटलीपुत्र) भारत बिहारको राजधानीमा उनको सुपुत्र बालक गोविन्द रायजीले (दशम् गुरु श्री गुरु गोविन्द सिंहजी महाराज) पुस २३, १७२३ मा माता गुजरीजीको कोखबाट जन्म लिए।
यता अब्दुल मुजफ्फर मोइउद्दीन मोहम्मद औरङ्गजेब आलमगीर आफ्नो धर्म नीति अनुसार अगाडि बढ्दै थियो अर्थात् अन्य धर्मलाई सफाया गर्ने औरङ्गजेबको धर्म नीति प्रतिदिन सवा मन जनैपछि भोजन गर्ने अठोटले चारैतिर हाहाकार मच्चिएको थियो। काश्मीरी पण्डितहरूलाई पनि औरङ्गजेबले दुःख दिन थालेपछि उनीहरू पनि विभिन्न मठमन्दिरमा गएर ज्यान जोगाउन सरसल्लाह गर्न थाले।
अन्तमा काश्मीरी पण्डितहरू अमरनाथजीको मन्दिरमा गएर “होमबरनी” मन्त्रको जाप गर्न थाले– “हे शिवजी १ हाम्रो धर्मको रक्षा गर्नुस्।” काश्मीरी पण्डितहरूको मन्त्र जाप उपरान्त पण्डित कृपादेवले सुझाव दिए– धर्मरक्षा श्री गुरु तेग बहादुरजीले मात्र गर्न सक्छन्।
श्री गुरु तेग बहादुरजी विभिन्न स्थानमा प्रचार गर्दै आनन्दपुर साहेब पञ्जाबको महलमा आइपुगेका थिए। बालक गोविन्दरायजी (श्री गुरु गोविन्द सिंहजी) पनि पटना साहेबबाट विभिन्न मार्ग हँुदै सङ्गतहरूलाई दर्शन दिंदै आनन्दपुर साहेब पुगेका थिए।
पीडित र दुःखी भएका जनता खासगरी काश्मीरी पण्डितहरूको व्याकुल जत्था गुरु साहेबको दर्शन र आफ्नो पीडा तथा धर्मरक्षाको लागि गुहार माग्दै महलमा आए। “हाम्रो धर्मको रक्षा गर्नुस्, हाम्रो वंशविनाश हुनुबाट हामीलाई बचाउनुस्।” औरङ्गजेब र तिनका सेनाले हामीलाई गाजर मूला जस्तै काट्दै छन्। “हाम्रो तिलक र जनैको रक्षा गर्नुप–यो प्रभु,” यो सुनेर द्रवित भई, “यो त पराकाष्ठा नै हो अब धर्मरक्षाको लागि कुनै महापुरुषले अगाडि बढेर आफ्नो बलिदान गर्नुपर्ने भयो” भनी हुकुम भयो। गुरु साहेबको वचन सुनेर काश्मीरी पण्डितहरूले भने– यस युगमा हजुरभन्दा ठूलो महापुरुषको हुन सक्छ र प्रभु ? हामी र हाम्रो धर्मलाई बचाउनुहोस्, गुरु साहेबले भने, “म त निरङ्कारको एक प्रचारक मात्रै हुँ, मैले कसरी तपाईंहरूलाई बचाउने ?” सबै काश्मीरी पण्डितहरूले हजुरले नै हामीहरूलाई बचाउनुहुन्छ र बचाउनुपर्छ भन्ने हामीलाई ज्ञात छ भनेर पुनः हार्दिक बिन्ती गरे।  गुरु साहेब एक छिन सोच्न थाले र भने– मलाई केही समय दिनुस्, म सोचेर केही उपाय गर्छु।
काश्मीरी पण्डितहरूलाई बिदा गरेपछि श्री गुरु तेग बहादुरजी महाराज गहनताका साथ सोचमा डुबेको बेला बालक गोविन्द रायजी खेल्दै पिताजीको नजीक आइपुगे। पिताजीलाई अत्यन्त गम्भीरपूर्ण मुद्रामा देखेर प्रश्न गरे, “आज हजुरलाई धेरै गहिरो सोच र चिन्तामा देख्छु किन होला ?” केही क्षणपछि गुरु साहेबले देशमा भइरहेको धर्मप्रतिको अत्याचार, जनता तथा काश्मीरी पण्डितहरूको दर्दनाक याचनाबारे जानकारी दिए। यो कुरा सुनेर नौ वर्षीय बालक गोविन्द रायजीले भने, “ठीकै त हो नि आजको युगमा तपाईंभन्दा ठूलो महापुरुष को हुन सक्छ र ? यस बलिदानको लागि तपाईं तयार हुनुहोस्।” गुरु साहेबले आश्चर्यचकित भई भने, “तर मपछि श्री गुरु नानकदेवजी महाराजको पन्थ र उद्देश्यलाई कसले अघि बढाउँछ त ?“ बालक गोविन्द रायजीले सम्झाए, “पिताजी यो त बग्दो पानी हो, अब यसलाई कसैले रोक्न सक्दैन।” यो सुनेर गुरु साहेबले भने, “तपाईंहरू त टुहुरो हुनुहुन्छ,” बालक गोविन्द रायजीले भने, “गुरु पिताजी हजारौं तिलक र जनैधारी टुहुरो हुनुभन्दा हामी टुहुरो हुनु ठीक, हजुरलाई परमात्माले यसै उद्देश्य हेतु पठाएका छन्, अगाडि बढ्नुहोस्।” नौ वर्षीय आफ्नो सुपुत्रको कुरा सुनेर प्रसन्न भई आत्मविश्वासले भरिए। उनलाई लाग्यो यही अकाल पुरखको मर्जी रहेछ। यसरी बालक गोविन्दरायजीले आफ्नो पिता गुरु श्री तेग बहादुरजीलाई देश र धर्मरक्षाको लागि प्रेरित गरे।
दोस्रो दिन काश्मीरी पण्डितहरूलाई बोलाउन लगाएर गुरुजी भन्नुभयो, “औरङ्गजेबलाई खबर पठाइदिनु कि हाम्रा गुरु श्री तेग बहादुरजीले तिम्रो इस्लाम स्वीकार गर्नुभयो भने हामी सबै आफ्नो धर्म त्याग गरी तिम्रो शरणमा पुग्नेछौं।” खबर सुनेर अहङ्कारले मात्तिएको औरङ्गजेब गदगद भई भने, “यो त मेरोलागि धेरै सहज कार्य हो, हजारौंलाई बनाउनुको सट्टा एकजनालाई बनाउँदा हुने भए एकदम सजिलो हुने भयो।” उनले तुरुन्त हुन्छ भनेर खबर पठाए। श्री गुरु तेग बहादुरजी आफू देश तथा हिन्दू धर्मको रक्षाको लागि अगाडि हुने निर्णय सबैमा हुकुम भयो। त्यसपछि गुरु साहेब आफ्ना पाँच सहयोगी, भाइ सतीदासजी, भाइ मतीदासजी, भाइ दयालदासजी, भाइ गुरदित्ताजी तथा भाइ उदाजीसित दिल्लीको लागि प्रस्थान गरे, बाटोमा विभिन्न स्थानमा सत्सँग गर्दै, भक्तहरूलाई दर्शन दिंदै उनीहरूको सङ्कट टार्दै सइफाबाद पुगे। त्यहाँका नवाब सर्पmुद्दीनले गुरु साहेबको राम्रो रेखदेख तथा आदर सत्कार गरेर गुरुको आशिष् प्राप्त गरे। औरङ्गजेब आगरा पुगेको खबर पाएपछि गुरु साहेब पनि आगरातर्फ प्रस्थान गरे। गुरु साहेबको आगरा पुग्ने अर्को कारण एक वृद्धा धेरै समयदेखि गुरु साहेबको दर्शनको प्रतीक्षामा दिनरात नाम सिमरन गरी बसेकी थिइन्। उनले आफ्नो हातले वस्त्र तयार गरी गुरु साहेबले ग्रहण गर्नुहुनेछ भनेर आसमा बसेकी थिइन्। गुरुजीले ती वृद्वालाई दर्शन दिएर उनको भेंट स्वीकार गरी उनलाई कृतज्ञ पारे, त्यस पवित्रस्थलमा गुरुद्वारा माईथान सुशोभित छ। आगराको एक बगैंचामा पुगेपछि, एक गरीब गोठालोले उनलाई चिनेर आदरसाथ प्रणाम गरेर गुरुजीलाई बिन्ती ग–यो कि हजुरले औरङ्गजेबलाई गिरफ्तारी दिने नै हो भने म गरीबमार्फत दिनु भए मैले हजुरमाथि राखेको इनाम पाउनेछु र त्यसबाट मेरो दरिद्रता समाप्त भई म सम्पन्न हुनेछु। गोठालोको कुरा सुनेर गुरुजीले उसलाई केही मिठाइ लिन बजारमा आफ्नो काश्मीरी सल र हीराको औंठी दिएर पठाए। मिठाइबापत हीरा र सल दिएको देखेर पसलेले त्यो गोठालोमाथि शङ्का गर्छ र प्रहरी तथा सेनालाई बुझाइदिन्छ। सोधपूछपछि गोठालोले एकजना राजाले दिनुभएको हो र आफू एक साधन मात्रै हँु भन्ने पुष्टि गर्छ। यो सुनेर उनीहरूले पक्कै पनि यो श्री गुरु तेग बहादुरजी नै हुन् र औरङ्गजेबलाई भेट्न आएका भनी ठान्दछन्। त्यस बेला औरङ्गजेब दिल्ली गइसकेका थिए। गुरुजीले त्यो गोठालोलाई आर्शीवाद दिए। त्यस उपरान्त गुरुजीलाई १७०० सिपाहीसहित दिल्ली लगियो।  दिल्ली पुग्ने बित्तिकै उनलाई घरमा नजरबन्दमा राखियो। त्यस घरलाई “भूतको हवेली” भनेर पनि चिनिन्छ।
त्यसपछि औरङ्गजेब तथा सहयोगीहरूले गुरु साहेबहरूलाई नानाथरी धन, जागीर, सुन, हीरा, जवाहरात, मणिक तथा दर्जनौं घोडा, हात्ती आदिको लोभ देखाए तापनि गुरु साहेब आफ्नो धर्म छोडेर इस्लाम कबूल गर्न नमानेपछि,  औरङ्गजेबले एक/एक लाई कठिन, क्रुर यातना, पीडा दिन थाले। सबैभन्दा पहिले भाइ मतिदासजीलाई मार्ने आदेश दिइयो। उनले अन्तिमपटकसम्म आफ्नो धर्म नछोड्ने अठोट गरे। काजीहरूको फतवा पाएपछि उनी गुरुजीको आशीर्वाद लिन गए र शहादत दिन तयार भए। उनलाई करौती (आरा)ले दुई भागमा काट्ने बेलामा अन्तिम इच्छा सोधियो। उनले भने– “मलाई काट्दा मेरो मुख गुरुजीतर्फ फर्केको होस्, अन्तिम साससम्म गुरुजीलाई हेर्न पाउँ र उहाँले पनि मलाई आफ्नो गन्तव्य खुशी–खुशी पुगेको हेर्न पाउनुहुनेछ।” यो भनेपछि भाइ मतिदासजीलाई चाँदनी चोक, दिल्लीमा खुलेआम शहादत दिइयो।
उनलाई दिएको डरलाग्दो यातना देखेर पनि बाँकी गुरु प्रियहरू धर्म परिवर्तन गर्न मानेनन्। त्यसैले भाइ दयाल दासजीलाई मृत्युको हुकुम सुनाइयो। उनलाई उम्लिरहेको पानीको ठूलो कसौडीमा राखी तड्पाएर शहादत दिने प्रयास गरियो तर उनी शहीद नभएपछि भोलिपल्ट उनलाई कपासले बेरेर जलाउने फतवा गरी जलाएर शहीद बनाइयो। यसरी एक/एक गरी सबैलाई यातना तथा पीडा दिएर धर्म परिवर्तन गराइन्थ्यो नत्रभने मृत्युको सजाय सुनाइन्थ्यो। अन्तमा गुरुजीलाई फेरि सोधियो, लोभ देखाइयो तर गुरुजी आफ्नो धर्मप्रति अटल रहे।
“संग सखा सब तजि गए कोऊ न निबहिओ साथ।। कहु नानक इस विपत मै टेक एक रघुनाथ।।”
श्री गुरु तेग बहादुरजी महाराजले सेवक साहेबानहरूको बलिदान देखेर उपरोक्त श्लोक उच्चारण गरे। दुईजना सेवक साहेबानलाई आफ्नो (गुरुजीको) परिवारलाई धैर्य राख्न, अडिग र अडोल बस्न सन्देशसाथ ५ पैसा र एक नरिवल दिएर गुरु गद्दी आफ्नो सुपुत्र श्री गोविन्द रायजीलाई सुम्पिने हुकुम भयो। तेस्रो शिष्य साहेबानले पनि धर्म परिवर्तन गर्न नमानेपछि बर्बरतापूर्ण तरीकाले चर्खामा राखेर शहीद बनाइयो। त्यसपछि गुरु साहेबलाई चारैतिर फलामको चुच्चो भएको पिंजडामा कैद गरी औरङ्गजेबको तर्फबाट उसको मौलाना तथा सल्लाहकारले तीनवटा शर्त सुनाए। १. इस्लाम कबुल गर्ने २. करामत देखाउने जस कारणले तपाईं गुरु भनाउनुहुन्छ ३. हैन भने शहीद हुन तयार हुनु। गुरुजीले भने मलाई तेस्रो शर्त अर्थात् शहीद हुन कबुल छ, करामत विपत्को नाम हो, जो हामी गर्न चाहँदैनौं। त्यसपछि औरङ्गजेबले आफ्नो जल्लाद जलालुद्दीनलाई गुरुजीलाई शहीद गर्न आदेश दिए। गुरुजीलाई पिंजडाबाट बाहिर निकालियो, गुरुजीले नजीकको कुवाँको पानीले स्नान गरेर जपुजी साहेबको पाठ गरे। १३ माघ १७३२ मा चाँदनी चोकमा (दिल्ली, भारत) सूर्यास्तको समयमा तरबारले घाँटीमा वार गरेर उनलाई शहीद बनाइयो। घटना लगत्तै अचानक मौसमले कोल्टे फे–यो, भयङ्कर आँधी उठ्न थाल्यो, अँधकार भयो, एकछिन त प्रलय नै आयो। ठीक त्यही समयमा बिजुली चम्केझैं एक व्यक्ति गुरुजीको काटिएको शिरलाई एउटा वस्त्रमा बेरेर भीडमा बेपत्ता भयो। उनी भाइ जैताजी, गुरु घरका एक प्रेमी थिए। केही पर उनको घोडा एउटा रूखमा बाँधेर राखिएको थियोे। उनले गुरुजीको शिरलाई घोडामा लिएर अँध्यारोमा रातदिन एक गरेर आनन्दपुर साहेब लगेर बालक गोविन्द रायजीलाई गुरु शिरको दर्शन गराएर, गुरु पिताले हिन्दू धर्मको रक्षाको लागि शिरको बलिदान दिए भनेर बिन्ती गरे। यता चाँदनी चोकमा बैल गाडीहरूको भीड लिएर लक्खी शाह बन्जारा र उसको पुत्र नगाहिया जो कि शाही ठेकेदार थियो तथा महलमा रासन आपूर्ति गर्दथ्यो, उसले भीडलाई पन्छाउँदै गुरु साहेबको शरीरलाई बैल गाडीमा राखेर त्यहाँबाट आफ्नो घरतर्फ लगेर कपासले छोपेर घरभित्र राखेर अरदास (प्रार्थना) गरी घरमैं आगो लगाएर घरसमेत अग्नि संस्कार ग–यो, र मेरो घरमा आगो लाग्यो भनी सबैलाई भन्यो। लक्खी शाह बन्जारा पनि गुरु घरका प्रेमी थिए। शाही आदेश थियो कि गुरुजीको शरीरलाई कसैले छोयो वा अन्तिम संस्कार ग–यो भने त्यसको पनि वंशनाश गरिनेछ।
यस प्रकार नवम् गुरु श्री गुरु तेग बहादुरजी महाराजले हिन्दू धर्मको रक्षाको लागि आफ्नो शिरको बलिदान दिए। उनको त्याग र बलिदान अतुलनीय छ। उनलाई “हिन्द का चादर” भनिन्छ। उनले शिरको बलिदान दिएको स्थान चाँदनी चोक, दिल्लीमा  गुरुद्वारा श्री शिशगंज साहेब शोभायमान छ। हर आउने जाने व्यक्तिले उनलाई श्रद्धाले नमन गर्ने गर्दछन्। हजारौंको सङ्ख्यामा श्रद्धालु टाउको टेकेर लङ्गर प्रसाद ग्रहण गर्ने गर्दछन्। यसैगरी जहाँ उनको शरीरको संस्कार गरिएको थियो, त्यहाँ गुरुद्वारा श्री रकाबगंज साहेब शोभायमान छ तथा उनको शिरको संस्कार आनन्दपुर साहेबमा भएको थियो, त्यहाँ पनि ऐतिहासिक अर्को शिशगंज गुरुद्वारा साहेब शोभायमान छ। गुरु साहेब साधक, योद्धा, कवि, महावीर, परमवीर, करुणा तथा दयाका सागर थिए। उनले ११८ शब्द श्लोकको रचना गरेका छन्। उनको शहीदी दिवसमा विश्वभरिका गुरुद्वारा साहेबहरूमा श्री अखण्डपाठ र सहजपाठ गरिन्छ साथै सबै स्थानमा गुरुजीको अटुट लङ्गर (भण्डारा) वितरण गरिन्छ। उनको उच्च शहादतलाई हार्दिक श्रद्धाञ्जलि। यसपालि यो पुस ४ गते शनिवार परेको छ। गुरु तेग बहादुरजीको शहादतलाई कोटिकोटि नमन।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्