मौलापुर नपाद्वारा २४ शिक्षक नियुक्त

93

प्रस, गरुडा, ३ पुस/
रौतहटको मौलापुर नगरपालिकाले आन्तरिक स्रोतबाट बेहोर्ने गरी २४ शिक्षकलाई नियुक्ति दिएको छ। नगरपालिकामा सञ्चालित विद्यालयमा शिक्षकको अभाव रहेकाले बालबालिकाको पढाइ प्रभावित हुन पुगिरहेको अवस्थामा शिक्षकको अभाव पूरा गर्न नगरपालिकाले आफ्नै स्रोतमा शिक्षक नियुक्त गरेको हो।
नगरपालिकाका १३ विद्यालयमा ७ हजार ६३ विद्यार्थी अध्ययनरत छन्। विद्यार्थीको अनुपातमा शिक्षकको सङ्ख्या अत्यन्त न्यून रहेको देखिन्छ। नगरपालिकामा सबै तहका गरी ७८ शिक्षकको दरबन्दी रहेकोमा चारवटा दरबन्दी रिक्त रहेको छ। कार्यरत एक शिक्षकमा विद्यार्थीको अनुपात ९५ जनाभन्दा बढी भएको अवस्थामा पनि केन्द्र र जिल्लासित शिक्षकको माग गर्दा पठाउन नसकेकाले नगरपालिकाले आफ्नो स्रोतबाट शिक्षक भर्ना गर्नुपरेको शिक्षा संयोजक चन्देश्वर साहले जानकारी गराए।
नगरपालिकाले प्राथमिक तहमा नेपाली माध्यमतर्फ ५ र अङ्ग्रेजी माध्यमतर्फ ५, निम्न माध्यमिक तहतर्फ १२ र माध्यमिक तहतर्फ २ जना गरी २४ जना शिक्षकलाई करारमा नियुक्त गरेको हो। नगरपालिकाद्वारा नियुक्त नयाँ शिक्षकमध्ये आठजना महिला छन्।
नगरपालिकाले प्राथमिक तहको नेपाली माध्यमका शिक्षकलाई १८ हजार, अङ्ग्रेजी माध्यमका शिक्षकलाई १९ हजार, निम्न माध्यमिक तहका शिक्षकलाई २० हजार तथा माध्यमिक तहका शिक्षकलाई २२ हजार रुपैयाँ मासिक तलब दिने निर्णय गरेको छ।
शिक्षकको अभावमा पठनपाठनमा देखिएको समस्या समाधानमा सहयोग पुग्ने विश्वास लिइएको मौलापुर नगरपालिकाकी प्रमुख रीनाकुमारी साहले बताएकी छन्। नगरपालिकाका बालबालिकालाई शिक्षामा पहुँच पु–याउन र शिक्षाको गुणस्तरमा वृद्धि गर्न पनि नयाँ शिक्षकबाट सहयोग पुग्ने नगरप्रमुख साहको भनाइ छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्