न नूनको ढिको फोर्ने, न अनिलो खाने

0
63

वैधनाथ ठाकुर

यतिबेला सबैलाई थाहा छ, हाम्रो देश कोरोनाजस्तो महामारीको महासङ्कटबाट झन्डै दश महीनादेखि आक्रान्त छ। यो आक्रान्त केवल हाम्रो देश मात्र छैन, सम्पूर्ण विश्वमैं रहेको छ। आर्थिकरूपमा सबै क्षेत्र बर्बाद भएको छ। शिक्षाको कुरा गर्ने हो भने अझैसम्म पनि यसपालिको एसइई कसरी लिने हो सोको बारेमा कुनै स्पष्ट कुरा सरोकारवाला निकायबाट आउन सकेको छैन। भविष्यका कर्णधारहरू गाउँघरमा बरालिएर हिंड्न बाध्य छन्। शैक्षिक संस्थाहरू अझै सम्पूर्णरूपले खुलिनसकेको अवस्था छ। सबै व्यवसाय ठप्प छ। बैंकबाट ऋण लिएर लगानी गरेका कारोबारहरूको हालत यस्तो छ कि ब्याज तिर्ने पनि अवस्था छैन तर यो समस्यासँग सरकारलाई कुनै मतलब छैन। कम्तीमा लकडाउन अवधिसम्मको ब्याज मात्रै मिनहा गरिदिएको भए ठूलो राहत महसूस हुने थियो। तर यसतर्फ कुनै सोच नै छैन। बैंकहरूले ताकेताका चिठीहरू धमाधम ऋणीहरूलाई पठाइरहेका छन्। बैंकमा धितोबापत राखिएका घरजग्गा, खेत लीलाम हुने चिन्ताले ऋणीहरू इन्तु न चिन्तु भएका छन्। यो वर्गमा व्यापारीदेखि लिएर ठूलठूला कारखानाका मालिक पनि परेका छन्। यतिसम्म भयावह अवस्था हुँदा पनि उपभोक्ताको बारेमा सोचिदिने सरकार नभएपछि यतिबेला यो समस्या मनोवैज्ञानिक समस्याको रूपमा पनि समाजभित्र देखिने गरेको तथ्य कोहीबाट लुकेको छैन।
यतिबेला घरपरिवारभित्र दाइहरू विद्यालय गइरहेका तर भाइहरू घरमा बस्नुपर्ने अवस्था रहेको छ। खासगरी सामुदायिक विद्यालयमा कक्षा ६ देखि १० सम्मको पठनपाठन शुरू भएको हुनाले बालविकासदेखि कक्षा ५ सम्मका भाइबहिनीहरू घरमा बस्न बाध्य छन्। प्रत्येक घरपरिवारका दाइदिदीहरू विद्यालय जाने र भाइबहिनीहरू जान नपाउने अवस्थाले समेत समस्या खडा गरेको छ। तर यो अवस्था संस्थागत विद्यालयतिर छैन। निजी विद्यालयहरूले नर्सरीदेखि कक्षा १० सम्म चलाएका छन्। यसरी विद्यालय चलाएर उनीहरूले राम्रो गरेका छन् कि नराम्रो त्यो उनीहरूले नै जानून् तर सरकारी नीतिविपरीत संस्थागत विद्यालयहरू चलेको कुरा ठीक होइन भनेर भन्न सकिन्छ। भोलिको दिनमा कुनै घटना, दुर्घटना घट्यो भने जवाफदेहिता कसले लिने भन्ने प्रश्न यत्तिकै अनुत्तरित रहेको छ।
निजी विद्यालयहरूको पनि आफ्नै ठूलो समस्या छ। भवन निर्माणलगायतका शीर्षकमा बैंकबाट कर्जा लिएका विद्यालयहरू नचलेर टाट पल्टिने अवस्थामा पुगेको हुनाले विद्यालय चलाउन बाध्य रहेको कुरा सञ्चालकहरूले बताउने गरे पनि बच्चाको ज्यानसम्म खेलबाड गर्ने कुरा कत्तिको युक्तिसङ्गत छ त ?
वीरगंजका सामुदायिक विद्यालयका शिक्षकहरू यतिबेला निकै तनावमा छन्। एकातर्फ विद्यालयमा असुरक्षित वातावरणको बीचमा पढाउनु छ त्यसमाथि झन् उनीहरूको सरुवा हुने कुराले मनोवैज्ञानिकरूपमा निकै तनाव उत्पन्न गरेको छ। खासगरी ती विद्यालयहरू जहाँ विगतमा विद्यार्थी सङ्ख्या नभए पनि सोर्सफोर्सको आधारमा शिक्षक दरबन्दीभन्दा बढी शिक्षक सरुवा भएर आए। यस्ता विद्यालयका शिक्षकहरू दरबन्दी रहेको तर शिक्षक नरहेको गाउँघरको विद्यालयमा जानुपर्ने अवस्था रहेकामा उनीहरूभित्र ठूलो आतङ्क सिर्जना गरेको छ। हुनत उनीहरू कार्यरत रहेको विद्यालयमा पनि काम गरेरै तलब खाएका छन् तर त्यो घरपायक भएकोले अलि बढी सुविधा छ। आवतजावतको हिसाबले। त्यसैगरी, शिक्षक सङ्ख्या बढी भएपछि पढाउने लोडमा कम रहेको हुन्छ। तीनदेखि पाँच घण्टी दैनिक पढाउँदा पनि पुगिरहेको छ। तर गाउँघरमा जानुपर्दा एक त आवतजावतको असुविधा छ, दोस्रो ६ देखि ७ घण्टी दैनिक पढाउनुपर्ने हुन्छ। हो, यही कारणले शिक्षकहरू बढी चिन्तित छन्। त्यसमा पनि सोर्सफोर्स भएकाहरूको सरुवा नहुने कोही कतै नभएकाहरूको मात्रै सरुवा हुने हल्लाबाट पनि उनीहरू बढी प्रभावित छन्।
अवस्था यतिबेला बडो विचित्रको छ। कुनै पनि पेशा–व्यवसायका व्यक्ति आफ्नो कर्मबाट खुशी छैनन्। सबैभित्र एक प्रकारको निराशाले ठाउँ लिएको छ। मानिसहरूमा सेवा, सहयोग जस्ता शब्दहरू केवल अरूलाई उपदेश दिनको लागि काम लाग्ने सीमाभित्र कैद भएको जस्तो छ। व्यावहारिक जीवनमा एकले अर्कोलाई धोका दिने, छल गरेर आफू आफ्नै साथीको टाउकोमा टेकेर अगाडि बढ्ने मनोविज्ञान जब्बर हुँदै गएको छ। विश्वासको सङ्कट यति ठूलो छ कि एउटा बालकलाई उसको अभिभावकले कुनै काम भोलि गरिदिन्छु भन्दा ऊ रुन थाल्छ र भन्छ भोलिको के ठेगान ? हजुरको अहिले मन राम्रो छ, भोलि रहन्छ वा रहन्न। आजै गरिदिनुप–यो। कोही पनि अब कसैलाई पर्खिन चाहन्न। एकजनाको कार्यकाल सकिएकै छैन अर्को उसको कुर्सी खोसेर बस्न अनेक षड्यन्त्र गर्न थालिहाल्छ। यस्तो अवस्थाले गर्दा एकातिर मानिसहरूबीचमा अविश्वास पैदा गरेको छ भने अर्कोतिर मानिसहरूबाट सेवा, सहयोगको भावना समाप्त पार्दै लगेको प्रस्टै देख्न सकिन्छ।
यतिबेला मानिसहरूमा एउटा बडो विचित्रको स्वभाव पनि देखिंदैछ। राजनीतिका कुशल खेलाडीदेखि लिएर एउटा सामान्य नागरिकसम्ममा के देखिएको छ भने उसको फाइदा हुने खालको कुरा भएपनि ऊ चाहन्छ म केही नगरूँ अरू कसैले गरिदियोस्। मानिसहरू कर्म गर्नभन्दा पनि फल मात्रै खोज्न थाल्ने प्रवृत्तिका हुँदै गएका छन्। जस्तो कि चुनावको बेला खराब भएपनि आफ्नै पार्टीलाई भोट दिने, व्यक्ति जस्तो भएपनि उसले दिएको सुविधा लिने र भोट दिने अनि पछि विकास भएन भनेर गीत गाइरहने। फेरि चुनाव आउँदा आफ्नो पहिलेको स्वभावमा कुनै सुधार नगर्ने तर यो भएन, यसो भएन, उसो भएन भनेर असन्तुष्टि पोखिराख्ने प्रवृत्ति बढ्दै गएकोले समाज र समुदायको हित प्राथमिकता क्रममा पुछारतिर सर्दै गएको छ र व्यक्तिको निजी हित सार्वजनिक पदमा पहिलोमा पर्दै आएको छ। यसले न नूनको ढिको फोर्ने, न अनिलो खाने भन्ने उखान चरितार्थ गरेको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्