द्रोण पर्व–२३

0
56

उमाशङ्कर द्विवेदी

रुद्रदेवले भने– भगवन्, संहारको लागि तपाईंले क्रोध नगर्नुहोस्। प्रजामाथि प्रसन्न हुनुहोस्। तपाईंको क्रोधबाट प्रकट भएको यो आगोले पर्वत, वृक्ष, नदी, जलाशय, तृण, घाँस आदि सम्पूर्ण स्थावर, जङ्गमरूप जगत्को जलाउँदै छ। अब तपाईंको क्रोध शान्त भइजावोस्–मलाई यही वर दिनुहोस्। प्रजाको हितको लागि कुनै यस्तो उपाय सोच्नुहोस्, जसबाट यी प्राणीहरूको ज्यान बचोस्।
नारदजी भन्नुहुन्छ– शङ्करजीको कुरा सुनेर ब्रह्माजीले प्रजाको कल्याण गर्नको लागि त्यस अग्निलाई पुनः लीन पारे। त्यसलाई आफूमा लीन गर्दा उनको सम्पूर्ण इन्द्रियहरूबाट एउटी स्त्री प्रकट भइन्। उनको रङ्ग थियो– कालो, रातो र पहेंलो। उनको जिब्रो, मुख र नेत्र पनि राता–राता थिए। ब्रह्माजीले उनलाई ‘मृत्यु’ भनेर बोलाए तथा भने– मैले लोकको संहार गर्ने इच्छाले क्रोध गरेको थिएँ, त्यसैबाट तिम्रो उत्पत्ति भएको छ। अतः तिमीले मेरो आज्ञाबाट सम्पूर्ण चराचरको नाश गर। यसैबाट तिम्रो कल्याण हुनेछ।
ब्रह्माजीको यस्तो आज्ञा पाएर ती स्त्री अत्यन्त सोचमा परेर क्वा…क्वा… गरेर रुन थालिन्। उसको आँखाबाट तप्केको आँसुलाई ब्रह्माजीले आफ्नो हत्केलामा थापेर उनलाई सान्त्वना दिन थाले। अनि मृत्युले भनिन्– भगवन्, तपाईंले मलाई स्त्री किन बनाउनुभयो ? के म जान्दाजान्दै यो अहितकारक कठोर कर्म गरूँ ? म पापबाट तर्सिन्छु। मैले आजित पारेका मानिसहरू रुनेछन्, ती दुःखीहरूको आँसुबाट मलाई बडो भय लागिरहेको छ। त्यसैले म तपाईंको शरणमा आएकी छु। मलाई वर दिनुहोस्, म आजैबाट धेनुकाश्रममा गएर तपाईंकै आराधनामा संलग्न भएर तीव्र तपस्या गर्न पाउँ। रोइ–कराइ गरिरहेका मानिसहरूको प्राणहरण गर्ने काम मबाट हुन सक्दैन। मलाई यस पापबाट जोगाउनुहोस्।
ब्रह्माजीले भने– मृत्यो, प्रजाको संहार गर्नकै लागि तिम्रो उत्पत्ति भएको छ। जाऊ, सबै प्राणीको नाश गर्दै गर। यसमा विचार गर्ने कुनै कुरा नै छैन। यस्तै हुनेछ, यसमा कदापि परिवर्तन हुन सक्दैन। तिमीले मेरो आज्ञाको पालन गर। यस कारणले तिम्रो निन्दा हुँदैन।
ब्रह्माजीले यस्तो भनेपछि ती कन्या प्रजाको संहारको प्रतिज्ञा नगरेरै तप गर्ने इच्छाले धेनुकाश्रममा गइन्। त्यहाँबाट पुष्कर, गोकर्ण, नैमिष, मलयाचल आदि तीर्थमा गई आफ्नो रुचिअनुकूल कठोर नियमहरू पालन गर्दै आफ्नो शरीर सुकाउन थालिन्। उनी अनन्य भावले केवल ब्रह्माजीमा नै सुदृढ भक्ति राख्दथिइन्। उनले आफ्नो धर्माचरणले ब्रह्माजीलाई प्रसन्न पारिन्।
अनि ब्रह्माजीले प्रसन्न मनले उनीसित भने– मृत्यो, भन त तिमीले केको लागि यो कठिन तप गरिरहेकी छौ ? मृत्युले भनिन्– प्रभो, म तपाईंसित यति कुरा गर्न चाहन्छु कि मलाई प्रजाको नाश गर्न नपरोस्। मलाई अधर्मबाट बडो भय लागिरहेको छ। त्यसैले म तप गर्नमा लागेकी छु। भगवन्, म भयभीत अबलालाई तपाईंले अभयदान दिनुहोस्। म एउटी निरपराध स्त्री हुँ, तपाईंसित कृपाको भीख माग्दैछु, मलाई शरण दिनुहोस्। ब्रह्माजीले भने– कल्याणी, यी प्रजावर्गको संहार गर्दा तिमीलाई कुनै किसिमको पाप लाग्दैन। मेरो कुरा कस्तै गरे पनि मिथ्या हुन सक्दैन। त्यसैले तिमी चार प्रकारका प्रजाको नाश गर, सनातन धर्मले तिमीलाई सदैव पवित्र बनाइराख्नेछ। लोकपाल यम तथा नानाथरीका व्याधिहरू तिम्रा सहायक हुनेछन्। फेरि देउताहरू तथा म सबैले तिमीलाई वरदान दिनेछौं।
यो सुनेर मृत्युले ब्रह्माजीको चरणमा मस्तक झुकाएर नमस्कार गरिन् र हात जोरेर भनिन्– प्रभो, यदि यो कार्य मबेगर हुन सक्दैन भने तपाईंको आज्ञा मलाई शिरोधार्य छ। अब एउटा कुरा भन्दैछु, त्यो सुन्नुहोस्। लोभ, क्रोध, असूया, ईष्र्या, द्रोह, मोह, निर्लज्जता तथा परस्पर कटु वचन बोल्नु–यी नाना प्रकारका दोषहरू नै प्राणीहरूको शरीरको नाश गरून्। ब्रह्माजीले भने– मृत्यो, यस्तै हुनेछ। तिम्रो आँसुका थोपा जसलाई मैले आफ्नो हत्केलामा थापेको थिएँ, व्याधि बनेर गतायु प्राणीहरूको नाश गर्नेछ। तिमीलाई पाप लाग्नेछैन। अतः न तर्स, तिमीले कामना र क्रोधलाई त्याग गरेर सम्पूर्ण प्राणीहरूको प्राणहरण गर। यस्तो गर्नाले तिमीलाई अक्षय धर्मको प्राप्ति हुनेछ। जो मिथ्याको आवरणद्वारा ढाकिएका हुन्छन, ती जीवहरूलाई अधर्मले नै मार्नेछ।
नारदजी भन्नुहुन्छ– ती मृत्युनामधारी स्त्रीले ब्रह्माजीको उपदेश तथा विशेषतः उनको शापको भयबाट ‘वेश’ भनेर उनको आज्ञालाई स्वीकार गरिन्। त्यसपछि उनी काम र क्रोधलाई त्यागेर अनासक्त भावबाट प्राणीहरूको अन्तकाल उपस्थित भएपछि तिनीहरूको प्राणलाई हरण गर्दछिन्। यही प्राणीहरूको ‘मृत्यु’ हो, यसैबाट व्याधिहरूको उत्पत्ति भयो। व्याधि रोगलाई भन्दछन्, जसबाट प्राणी रुग्ण भइहाल्दछ। अन्तकाल आएपछि सबै प्राणीको मृत्यु भइहाल्दछ। त्यसैले राजन्, तपाईंले व्यर्थको शोक नगर्नुहोस्। मरणपश्चात् सबै प्राणी परलोकमा जान्छन् र त्यहाँबाट इन्द्रिय तथा वृत्तिहरूका साथ यहाँ फर्की आउँदछन्। देउताहरू पनि परलोकमा आफ्नो कर्मभोग पूर्ण गरेर यसै मृत्युलोकमा फर्की आउँदछन्। त्यसैले तपाईंले आफ्नो पुत्रको लागि शोक गर्नुहँुदैन। ऊ वीरहरूलाई प्राप्त हुने योग्य रमणीय लोकहरूमा पुगेर त्यहाँको स्वर्गीय आनन्दको उपभोग गर्दछ। ब्रह्माजीले मृत्युलाई प्रजाको संहार गर्नको लागि स्वयम्ले नै उत्पन्न गरेका थिए। अतः मृत्युले समय आइपुगेपछि सबैको संहार गर्दछिन् नै।
यो कुरा थाहा पाएर धीर पुरुषले मरेका आफन्तहरूको लागि शोक गर्दैनन्। यो सम्पूर्ण सृष्टि विधाताले बनाएका हुन्, उनी स्वेच्छाले यसको उपसंहार गर्दछन्, त्यसैले तपाईं आफ्नो मरेको पुत्रको शोक शीघ्र त्यागिदिनुहोस्। क्रमशः…

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्