जाडो छल्ने देहाती उपक्रमः गाँती, गुदरा, घुर र बोरसी

401

राजेश मिश्र

“सुनतारू हो, नन्हकी के गाँती ना बान्ह द, ना त ठण्डा से मियाज नु खराब हो जाई” वर्तमान समयमा गाँतीको प्रयोग कम भएपनि केही दशकअघिसम्म जाडोबाट बच्नको लागि देहातमा ‘गाँती’ नै प्रमुख उपक्रमको रूपमा विद्यमान थियो। गाँती, गुदरा, घुर आदि देहाती जीवनशैलीका उपयोगी संसाधनमध्येका प्रमुख उपक्रमहरू अपवादबाहेक आधुनिक जीवनशैलीको ओतमुनि विलीन हुने क्रम जारी छ। बच्चा मात्र होइन, जाडो छल्नको लागि व्यस्क र वृद्धवृद्धासमेतले गाँती र घुरकोे सहारा लिनुपथ्र्यो। देहातका सामान्यजनको लागि पुस र माघको कठ्याङ्ग्रिदो जाडोबाट बच्नको लागि आजको जस्तो व्याप्त विद्युतीय संसाधनको उपलब्धता थिएन। सुत्ने र ओढ्ने सवालमा तरई, गुदरा र रजाइलगायतका संसाधन भुइँमान्छेको दैनिकीसँग गाँसिएको थियो। करीब दुई मिटरको सुती कपडा वा मरदानी (धोती) वा घरमा उपलब्ध कपडालाई नै गाँतीको रूपमा उपयोग गरिन्थ्यो। गाँतीले टाउकोदेखि घुँडासम्म छोप्ने हुनाले गाँतीको उपयोगिता आजको महँगो र आधुनिक टोपीसहितको जैकेटभन्दा कम थिएन।
पुस महीनाको आगमनसँगै ठण्डीको असर बढ्न थालेको छ। मधेसको प्राकृतिक परिवेश हुस्सुमय हुन थालेको छ। बिहान हुस्सु र कहिलेकाहीं दिउँसो हल्का घाम लाग्ने भएकोले पुस महीनामा बच्चा, वृद्धवृद्धा र रोगीलाई बढी समस्या हुने गर्दछ। जाडोयाममा ठन्डीको प्रकोपबाट बच्नको लागि देहातका मानिसहरूले ‘घुर’ र ‘बोरसी’को आगो तापेर शरीर न्यानो पार्ने प्राकृतिक निरन्तरता यथावत् छ। ‘घुर’ आगो ताप्ने स्थायी साधन हो भने ‘बोरसी’लाई हिटर जस्तै एक ठाउँबाट अर्को ठाउँमा सार्न मिल्छ। जाडोयाममा ठन्डीबाट बच्नकोे लागि पराल, उखुको पात, धान/गहुँको भुस, गोइँठा आदिको उपयोगिता आजको परिवेशमा समेत देहाती विपन्नवर्गकोे अभिन्न अङ्ग जस्तै छ। जाडोयाममा अपवादबाहेक देहातका प्रत्येक घरमा ‘घुर’को व्यवस्था रहेको पाइन्छ। भुस वा पराललगायतको चाङमा आगो सल्काइन्छ भने बोरसी सानो आकारको भएकोले दाउराका ससाना टुक्रा र थोरै मात्रामा भुस प्रयोग गरिन्छ। प्राकृतिक तापले शरीरलाई न्यानो पार्ने देहाती उपक्रम विद्युतीय उपक्रमभन्दा पनि सस्तो र भरपर्दो संसाधन हो भन्नुपर्दा कुनै अतिशयोक्ति नहोला। आजको परिवेशमा समेत आर्थिकरूपमा विपन्न परिवारको सहारा स्थानीयस्तरमा उपलब्ध संसाधन नै जाडोबाट बच्ने उपायको रूपमा अवलम्बन गरिरहेको पाइन्छ। महँगो र अत्याधुनिक विद्युतीय हिटर जस्ता संसाधन हरेक वर्गको पहुँचमा सम्भव नहुने भएकोेले आजको परिवेशमा समेत ‘घुर’ र ‘बोरसी’ जाडो छल्ने संसाधनको रूपमा प्रयोग भइरहेको देख्न सकिन्छ।
घुर ताप्दै खेतीपातीसम्बन्धी चर्चा मात्र होइन, गाउँदेहातका विकाससम्बन्धी चर्चाको साथै स्थानीय र राष्ट्रिय स्तरको राजनीतिक चर्चा परिचर्चा पनि हुने गर्दछ। जाडोयाममा ‘घुर’को चारैतिरबाट परालको ‘बिठइ’मा बसेर आगो ताप्ने परम्परा देहातबाहेक अन्यत्र पाउन मुश्किल छ। प्रायः मानिस गम्छाले टाउकोमा ‘मुरेठा’ (पगडी) बाँधेर चिसोबाट टाउको र कानलाई सुरक्षित राख्दछन्। ‘घुर’को वरिपरि सबै उमेर समूहको मानिस बसेर गाउँघरका समस्यालगायतका विषयमा कुराकानी गर्ने गर्दछन्। समूहमा बसेर आगो ताप्दै एकापसमा कुराकानी गरिरहेका दृश्यहरू गरिमामय देहाती परिदृश्य हुन्।
चश्मा निकालेर मरदानी (धोती)को कुनाले आँखाको किचरा सफा गर्दै वृद्धले एक युवकलाई भन्दै थिए, “बुरबक कहीं के, अगिया मत ना खोर, बुतानु जाई बबुओ।” युवकले भन्यो, “पुुआरा त राखी हो गइल बा बाबाजी (हजुरबुबा) ओहिसे नु खोरतानी।” अर्को एक वयस्कले भने, “है बुरबक कहीं का, राखी नु उडता, मत ना खोर मरदे, हमर कामरा (कम्बल) राखी से भर गइल हो दादा।”
देहातमा घुरको आनन्द लिंदै विभिन्न प्रकारका समसामयिक विषयमा कुराकानी हुने गर्दछ, जस्तै कसको बिहे भइसक्यो ? कसको बिहे हुनेवाला छ ? कसको छोरा–छोरी कहाँ पढ्दै छन् ? कसको नोकरी भयो ? कसले जग्गा किन्यो ? कसले सम्पत्ति बेच्यो ? कसलाई के रोग लाग्यो ? को कुन समस्यामा छ ? लगायतका यावत कुराकानी घुर ताप्ने क्रममा हुने गर्दछ। घरका बुजुर्ग मानिस ब्रह्म मुहूर्तमा नै उठ्छन्। सर्वप्रथम घुर बाल्छन्। नित्यकर्म आदिबाट निवृत्त भइसकेपछि घुर ताप्छन्। घरका ससाना बच्चाहरू सूर्योदयपश्चात् उठ्छन् र आँखा मिच्दै घुरसम्म आइपुग्छन्। ‘फोरजी’ र ‘फाइभ जी’को परिवेशमा हुर्केको पीढीलाई यावत् प्रसङ्ग एकादेशको कथा जस्तै लाग्न सक्छ तर वयस्क तथा वृद्धवृद्धाहरूलाई झल्झल्ती याद आउँदो होला।
यसपालिको जाडोयाममा कोरोनाको असर र आगामी चुनावको परिदृश्य नै ग्रामीण क्षेत्रमा चर्चाको विषय रहन सक्छ भन्नुपर्दा कुनै अतिशयोक्ति नहोला। देहातमा प्रयोग हुने ‘गाँती’ राष्ट्रिय राजनीतिक परिवेशमा पनि ठ्याक्कै फिट भएको देखिन्छ। कसैले कसैलाई झुक्याउने प्रकृतिको कार्य गर्दछ भने सो सन्दर्भमा झुक्याउने पात्रले सामान्यजनलाई ‘गाँती’ पहि–याइरहेको छ भन्ने देहातमा व्यङ्गात्मकरूपमा प्रयोग गर्ने शब्द हो। ओहोदाधारीहरूलाई देहातमा यसरी भन्न थालिएको छ, “जनप्रतिनिधि लोग जीत गइल, अब आपन मान्सा पूरा करेमें लागल बा लोग, जनता जाओ खान्तामें, जनता के खुब गाँती पेन्हाइ लोगिन नेताजी।” अचेल ओहोदाधारीहरूले आमनागरिकलाई विकासको नाममा ‘गाँती’ पहि–याइरहेको सन्दर्भ पनि देहाती चर्चामा स्थान पाइरहेको छ।
घुर तापेर जीउ न्यानो पार्ने देहातीजन ‘प्राचीन’ र विद्युतीय उपकरण प्रयोग गर्ने मानिस ‘आधुनिक’ हुन् भन्ने होइन। समयको गतिसँगै प्राप्त संसाधन मानिसहरूले प्रयोग गर्दछन्। प्राचीनकालमा हाम्रा पुर्खाहरू पनि आफ्ना पुर्खाहरूको अनुपातमा आधुनिक नै थिए भन्नुपर्छ। भविष्यमा यतिबेलाका पुस्ता पनि प्राचीन हुनेछन् र भविष्यका सन्तति अति आधुनिक हुनेछन्। ‘गाँती’को प्रयोग गर्ने मानिस मूर्ख र महँगो जैकेट प्रयोग गर्ने मानिस आधुनिक हुन् भन्ने मनोविज्ञानबाट बाहिर आउनुपर्छ। आफ्नो आर्थिक क्षमता अनुसारको संसाधन प्रयोग गर्ने आमजनको भावनामाथि ठेस पु–याउने काम कसैले पनि गर्नुहुँदैन। आधुनिकतालाई नै सबैथोक ठानिरहेका आजका नवपीढीले ‘घुर’ तापेर जाडो छलेका पुर्खाका सन्तति हुन् भन्ने कुरा बिर्सनुहुँदैन।
मानव जीवनशैली एकाएक परिवर्तन भएको होइन। बिस्तारै परिवर्तन भएको हो। देहातका मुख्य परिवेशहरू विलीन हुने अवस्थामा छन्। आफ्नो भेषभूषा, भाषा र संस्कृतिलगायतका लोकपरम्पराको निरन्तरतामा नवपीढीले लाज मान्ने मनोविज्ञान उदेकलाग्दो छ। पुरानो साडी र मरदानीका कैयौं तह सिलाएर तयार पारिएको ‘गुदरा’ हाम्रा पुर्खाहरूको लागि सिंहासनभन्दा कुनै कम थिएन।
हाम्रा पुर्खाहरू साडी र मरदानीलगायतका कपडाले तयार पारेको ‘गुदरा’ जस्तो स्वनिर्मित ओछ्यानमा गहिरो निद्रा प्राप्त गर्दथे। अत्याधुनिक समाज महँगो ओछ्यान, परिधान, विलासी जीवनशैली, गहिरो निद्रा र मनोवाञ्छित शान्तिलगायतका सवालमा पुर्खाहरूभन्दा गरीब छन् भन्नुपर्दा कुनै अतिशयोक्ति नहोला। गाँती र घुरको सामीप्यतामा हुर्केर जीवन निर्वाह गर्दै आफ्नो सन्ततिलाई हिंड्न सिकाएका आफ्ना पुर्खाहरूको सामान्य दिनचर्या र संस्कार स्मरण गर्दै अघि बढ्नुपर्छ। कठ्याङ्ग्रिदो जाडोमा ज्येष्ठ नागरिकलगायत गरीब, निमुखा र बेसहारा नागरिकको काँधमा हात थापेर  सत्ताधारी जनप्रतिनिधिले कर्तव्य निर्वाह गर्नुपर्ने जनस्तरको आवाजलाई मध्यनजर गर्नुपर्छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्