एउटा प्राथमिक विद्यालयको भ्रमणमा

0
64

सञ्जय मित्र

निरुद्देश्य त केही पनि हुँदैन। कहिलेकाहीं यत्तिकै आसपासका क्षेत्रहरूको भ्रमण पनि गर्नुपर्दछ। यसले गर्दा आसपासकै क्षेत्रका धेरै नवीन परिवर्तन जानकारीमा आउँछन्। नवीनताको खोजी त मानवीय स्वभाव नै हो। हरेक मानिसमा नयाँ कुरा हेर्ने चाहना हुन्छ। यसैले पहिलेका कतिपय मानिस पशुपतिको यात्रा पैदलै गर्दथे। यात्रामा हिमाल, पहाड र अरू के के देख्दथे। पशुपतिको दर्शन गर्दथे र फर्कन्थे। सामान्यता त्यस जमानामा नेपाल पुगेर यताका मानिसलाई घर फर्किन एक हप्तादेखि दश दिन लाग्दथ्यो। कुनै सडकको विकास नभएको र पैदलै काठमाडौं पुगेर फर्केका कतिपय मानिसले अद्यपर्यन्त यात्राकथा सुनाउँदा कहालीलाग्दो एकादेशको कथाजस्तो लाग्छ र तिनै मानिस अहिले काठमाडौं पुग्दा एकादेशको नेपाल पुगेजस्तो अनुभूति गर्दछन्। पैदलै हिंडेर पुगेको नेपालको नवीनता र अहिले विभिन्न साधनको प्रयोग गरी पुगेको काठमाडौंको नवीनता। एकै ठाउँको दुई अतुल्य नवीनता समयको अन्तरालले नै ल्याएको हो। अझ जो त्यहीं जन्मे र हुर्के तथा अहिले सात दशकभन्दा बढी वर्षको जीवनयात्रा पथमा यात्रारत छन्, काठमाडौंका हरेक नवीनता आँखा अगाडि छन्।
हेर्दाहेर्दै ठाउँ बदलिंदो रहेछ। ठाउँ बदलिनुको अर्थको भौतिक विकासले प्रगति गर्दछ। भौतिक विकासको हरेक पाइलाको साक्षी हुनु आफैंमा पनि एउटा यात्रा हो। म पनि कतिपय ठाउँको पछिल्ला केही दशकको भौतिक परिवर्तनको साक्षी छु। तीव्रतर परिवर्तनको वर्तमान गतिलाई नजीकबाट नियाल्न कहिलेकाहीं आसपासकै यात्रामा निस्कन्छु। निरन्तर काम र कामैकामबाट केही घण्टाको यात्राले शरीरलाई थकाइ त दिन्छ तर वास्तवमा मनोविज्ञानमा भने स्फुर्ति प्रदान गरेको हुन्छ। धेरैलाई यस्तै हुँदो हो।
सर्लाहीको गोडैता नगरपालिकाको रामवनमा एउटा व्यवस्थित प्राथमिक विद्यालय छ भन्ने कुरा श्रीकृष्णबाट सुनेको थिएँ। मधेसको ठाउँमा कस्तो न होला व्यवस्थित विद्यालय भन्ने मेरो मनमा लागेकै हो तर प्रसङ्ग चल्नासाथ श्रीकृष्णजीबाट त्यस विद्यालयको नाम आइहाल्थ्यो।
श्रीकृष्ण भनेर पहिलोचोटि उनलाई बज्जिकाका महाकवि अवधेश्वर अरुणले बोलाएका हुन्। त्यसै दिनदेखि साहित्यिक प्रसङ्गमा उनलाई श्रीकृष्ण भनेर बोलाइन थालिएको हो। उनको वास्तविक नाम किशुनदयाल यादव हो र आफ्ना रचनाहरूमा यादवले किशुनदयाल यादव श्रीकृष्ण लेख्छन्। श्रीकृष्णजीले रामवनको प्राथमिक विद्यालयको नाम लिंदा विश्वास गर्नुपर्ने आधार कहाँनेर बन्दछ भने उनी आफैं पनि एक प्राथमिक विद्यालयका प्रधान शिक्षक हुन्। एकचोटि त विद्यालयको भ्रमण गर्नुपर्छ भन्ने मनमनै लागेकै हो तर परिस्थिति पनि मिल्नुपर्ने हुन्छ।
जब कतै कुनै राम्रो काम वा व्यक्तिको चर्चा हुन्छ भने मेरो किन भएन भन्ने प्रश्न मनमा उठ्छ र विरोध गर्न शुरू हुन्छ। एक किसिमले कसैको प्रशंसा नै नहोओस् भन्ने मनोविज्ञान धेरैमा हुन्छ तर राम्रो कामको खुल्ला हृदयले प्रशंसा गर्नुपर्दछ भन्ने मेरो मान्यता रहेको छ। प्रशंसाको आधार कुनै जातपात, नातागोता, दल वा अन्य पक्ष हुनुहुँदैन। यी सबै आधारमा पनि प्रशंसा हुनुपर्दछ तर त्यही सन्दर्भमा। जब श्रीकृष्णजीबाट प्रशंसा सुनेको छु भने उनैलाई सारथि बनाएर किन नलैजाने ? र यो तारतम्य कसरी मिलाउने ? यही विचार आइरहेको हुन्छ। आखिरमा समयले एक दिन अचानक त्यो मौका जुराइदियो र श्रीकृष्णजीको भटभटेमा उनैलाई सारथि बनाइ आफू उनको धूलो छेक्ने बसेर त्यस विद्यालयमा पुग्यौं।
सर्लाहीको गोडैता नगरपालिका वडा सङ्ख्या ५ को रामवनमा अवस्थित छ, श्रीमती सरस्वतीदेवी कुशवाहा सामुदायिक आधारभूत विद्यालय। २०६५ मा विद्यालय स्थापित भएको भन्ने कुरो पेन्टिङ बोर्डमैं लेखिएको छ। रामवन गाउँको पश्चिमपट्टि नहरको पूर्वी किनारमा अवस्थित यस विद्यालयका संस्थापक हुन्– रामचन्द्र महतो कुशवाहा। जिल्लामा एक चर्चित शिक्षासेवी हुन् कुशवाहा। कुशवाहा एक आदर्शवादी व्यक्ति हुन् भन्ने कुरा केही भेटमा मैले बुझेको छु। उनको आदर्शको एउटा साक्ष्यको रूपमा रहेको विद्यालयमा अहिले उपस्थित छु। कुशवाहाले कीर्तिशेष जीवनसङ्गिनीको नाममा खोलेका छन् विद्यालय।
अहिले दश कट्ठामा विद्यालय रहेको छ। विद्यालय पनि आफ्नै जग्गामा खोलेका छन्। विद्यालय खोल्दा कुशवाहाले आफ्नो भागको जमीन विद्यालयलाई निश्शुल्क दिए र दाजुभाइको जमीन आफूले नगद दिएर किने र विद्यालयलाई दिए। अझ विद्यालयसँग जोडिएर रहेको केही जग्गा किनेर विद्यालयलाई दिन पाए हुन्थ्यो भन्ने लागेको छ, कुशवाहालाई। तर चलनचल्तीको भाउभन्दा अत्यधिक महँगो बताउने गरेकाले कुशवाहाको भूमि विस्तारको सदीक्षा तत्काललाई सीमित भएको छ।
कुशवाहाले आफूले चाहेको जस्तो सामुदायिक विद्यालय सञ्चालन गर्न धेरै समस्या भएको अनुभव गरे पनि पहिले प्राथमिक र अहिले आधारभूत तहको विद्यालय सञ्चालन गरी नमूना कसरी बनाउन सकिन्छ भन्ने ध्याउन्नमा लागेको प्रतिफलको रूपमा विद्यालयको वर्तमान संरचना र स्वरूप उभिन सकेको छ।
भौतिक पूर्वाधारको दृष्टिकोणले खासै सम्पन्न भइसकेको छैन विद्यालय। जस्ताले छाएका दुई भवन छन् र एउटा सामुदायिक सिकाइ केन्द्रको भवन पनि छ। सामुदायिक सिकाइ केन्द्रको भवनमा पनि कक्षा सञ्चालन हुन्छ। अहिले कक्षा ८ सम्म विद्यालय सञ्चालन भएको छ र करीब सात सय विद्यार्थी विद्यालयमा अध्ययनरत छन् भन्ने सूचना पाइन्छ।
चारैतिरबाट पक्की पर्खाल लगाइएको विद्यालयको कक्षाकोठाको वातावरण भने निकै फरक छ। कक्षा तीनसम्मका बालबालिका बसेर पढ्ने कक्षाकोठामा पिफोममाथि कार्पेट बिछ्याइएका छन्, गर्मी र जाडोबाट जोगाउन। हरेक कक्षाकोठाका भित्ताहरू चित्रले भरिएका छन्। जहाँ हेरे पनि जता देखे पनि बालबालिकाको शिक्षासित सम्बन्धित केही कुरा जोडिएका छन्। विद्यालयको चौरमा करीब डेढ बित्ता अग्लो एउटा अमलाको बिरुवा र अर्को एउटा केही वनस्पतिको उत्रै बिरुवा देखेर मैले भनें– हेड सर, कृपया यस बिरुवालाई चारैतिर इँटा अथवा अरू केहीले बारिदिनुहोला किनभने साना बालबालिकाको खुट्टाले खेल्ने क्रममा कुल्चन सक्छन्।
हेड सरको नाम त अहिले सम्झना भएन। खासै पुरानो भ्रमण पनि होइन तर म कुन कुरामा क्षमाप्रार्थी छु भने मलाई एकाध भेटमा कोहीको नाम याद रहँदैन। यो मेरो कमजोरी हो। यसलाई जति सुधार गर्न खोज्दा पनि सकेको छैन। अनि हेड सरको जवाफ सुनेर अचम्भित बनें– कुनै पनि बालबालिकाको खुट्टाले यो कुल्चिंदैन। हरेक बालबालिकालाई कहाँ कुन वनस्पति छ भन्ने थाहा छ र हरेक बालबालिका वनस्पति बचाउन उत्तिकै सचेत छन्।
अझ विद्यालय संस्थापक कुशवाहा सरको थपोक्ति छ– चारैतिर जति पनि फूल देख्नुहुन्छ, सबै बालबालिकाले जोगाएका हुन्। कोही पनि बालबालिकाले फूल टिप्दैनन्, हाँगा भाँच्दैनन्, यहाँसम्म कि एउटा पात पनि टिप्दैनन्।
विद्यालयको कार्यालय भनिएको कक्षमा पुग्छौं। हुनत मलाई के लाग्छ भने कार्यालय भनेको त्यो घर हो, जहाँ कार्य गर्दछौं। तर कार्यालय कोठाको व्यवस्थापन पनि हृदयलाई प्रफुल्लित बनाउने किसिमको रहेको छ। कोठामा दर्जनौं सम्मान तथा प्रशंसा र कदरपत्रहरू छन्। विद्यालयले पाएका यस्ता सम्मानहरूले विद्यालयको गरिमा बढाएको महसूस हुन्छ र कताकता आफ्नो अभ्यन्तरको शिर पनि ठाडो भएको अनुभूति हुन्छ। विद्यालय संस्थापक, जग्गादाता र अन्य केही विशिष्ट व्यक्तिहरूको तस्वीर झुन्ड्याइएका छन्, नाम लेखिएका छन्। विभिन्न उक्तिहरूले भरिएका छन् कक्ष।
आगन्तुक पुस्तिका बनाइएको छ, निरीक्षण पुस्तिका बनाइएको छ। हामी हेर्दछौं र विस्मित हुन्छौं। आश्चर्य लाग्दछ हामीलाई। हेड सरले पाँच सय पृष्ठभन्दा मोटो नेपाली कागजको एउटा पुस्तकमा हामीलाई विद्यालय कस्तो लाग्यो भन्ने कुरा दर्शाइदिन आग्रह गर्न आइपुग्छ। शुरूमा हामी अस्वीकार गर्दछौं तर आग्रहलाई कतिबेर छेकेर राख्ने ? दुई शब्द लेख्दछौं र सही धस्काउँछौं। त्यत्ति व्यवस्थित अभिलेख कुनै विद्यालयले राख्छ होला कि भन्ने कल्पना मात्र गर्न छौं। विद्यालयको विषयमा कुनै प्रश्न गर्नु छ भने प्रश्न झर्नासाथ उत्तरको लागि तथ्यपूर्ण रजिस्टर हाजिर छ। तथ्यपूर्ण प्रश्नको उत्तर तथ्यले नै र तर्कपूर्ण प्रश्नको उत्तर तर्कले नै। प्रश्न अन्ततः आफैं चुपो लागेर बस्न बाध्य हुन्छ।
१३ मङ्सिर २०७७ का दिन शनिवार थियो। शनिवारको दिन विद्यालयको भ्रमण गरेका थियौं र श्रीकृष्णजीले कुशवाहाजीलाई आग्रह गरेर तारतम्य मिलाएका थिए। विद्यालयमा देखिएको व्यवस्थापन जुन किसिमको रहेको छ, त्यो आफैंमा अद्वितीय रहेको छ। विद्यालयबाट हार्दिकतापूर्वक बिदाइ हुँदै बाटाभरि हामी दुई विद्यालय र संस्थापककै कुरा गरिरहन्छौं।
अहिले पनि मलाई लाग्छ कि तराई–मधेसमा पनि लगनशीलता र इमानदारिताले काम गर्ने हो भने विद्यालय व्यवस्थित बन्न सक्दछ। दृष्टान्त यही विद्यालय हो। म अहिले पनि त्यस विद्यालयको एउटा भित्तामा लेखिएको यो वाक्य सम्झिरहेछु– “सकारात्मक सोच, सम्मानजनक व्यवहार र सम्मानजनक शिक्षण सिकाइबाट पेशा मर्यादित तथा प्रभावकारी हुन्छ –रामचन्द्र।”

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्