११ वटा पालिकाले सासु भत्ता वितरण गर्न सकेन

89

प्रस, सेढवा, २ पुस/
पर्सा जिल्लाका १४ वटा पालिकामध्ये तीनवटा पालिकाले मात्र सामाजिक सुरक्षा भत्ता वितरण गरेका छन् भने ११ वटा पालिकाले अहिलेसम्म सामाजिक सुरक्षा भत्ता वितरण गर्न सकेका छैनन्।
प्रत्येक वर्ष पहिलो चौमासिक कात्तिकमा सामाजिक सुरक्षा भत्ता वितरण हुँदै आएको थियो।
चाडपर्वलाई मध्यनजर गर्दै अघिल्ला वर्षहरूमा पहिलो चौमासिकको दशैंअगावै र दशैंपछि भत्ता वितरण भएपनि अहिले चाडपर्व बितेर पहिलो चौमासिकको एक महीना बितिसक्दा पनि सामाजिक सुरक्षा भत्ता वितरण भएको छैन।
पटेर्वासुगौली, जगरनाथपुर र धोबिनी गापाले मात्र सामाजिक सुरक्षा भत्ता वितरण गरेका छन्। यी तीन गापामा अहिलेसम्म सामाजिक सुरक्षा भत्ता बैंकमार्फत वितरण नभई प्रत्यक्षरूपमा सरोकारवालाहरूलाई वितरण हुँदै आएको छ। वीरगंज महानगर, पोखरिया, बहुदरमाई र पर्सागढी नगरपालिका लगायत सातवटा गापामा भने बैंकिङ प्रणालीबाट सामाजिक सुरक्षा भत्ता वितरण हुँदै आएको छ।
सरकारले बैंकिङ प्रणालीबाट भत्ता वितरणको लागि निर्देशन दिंदै आए पनि तीनवटा गापामा बैंक सेवा शुरू भएको छैन।
ठोरी गापाका प्रमुख प्रशासकीय अधिकृत कृष्णबहादुर श्रेष्ठले बैंकिङ प्रणालीबाट भत्ता वितरण हुने हुँदा पहिलो चौमासिकमा ढिला भएको बताए। उनले खाता खोल्ने काम सम्पन्न भएको र सोको रूजु गर्ने काम अन्तिम चरणमा पुगेको भन्दै अबको एक सातामा गापाले भत्ता बैंकमा जम्मा गर्ने र सरोकारवालाले निकाल्न सक्ने बताए।
भत्ता वितरण नहुँदा अहिले पालिका र वडा कार्यालयमा ज्येष्ठ नागरिक, एकल महिला, अपाङ्गलगायतका व्यक्तिहरू धाउने गरेको एकजना वडा सचिवले बताए।
भत्ता वितरण नहुँदा घरपरिवारको सहारामा रहेकाहरूलाई समस्या नभए पनि एकल जीवन बिताउने महिला, ज्येष्ठ नागरिक, अपाङ्गले समयमा भत्ता नपाउँदा उनीहरूको आर्थिक समस्या बढेको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्