शिक्षामन्त्रीद्वारा प्रयोगशाला उद्घाटन

107

प्रस, सिराहा, २ पुस/
सिराहा जिल्लाको गोलबजार नगरपालिका–८ चोहर्वास्थित जनता प्राविधिक नमूना माध्यमिक विद्यालयमा स्थापित सूचना, सञ्चार तथा प्रविधि प्रयोगशालाको उद्घाटन गरिएको छ। महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री लीलानाथ श्रेष्ठले प्रयोगशाला भवनको बिहीवार उद्घाटन गरेका हुन्।
सो अवसरमा मन्त्री श्रेष्ठले शिक्षाक्षेत्रमा राजनीति बर्जित गरिनुपर्ने विचार व्यक्त गर्दै बढ्दो राजनीतीकरणका कारण मुलुकको शैक्षिक अवस्था कमजोर बनेको बताए। “विद्यालय व्यवस्थापन समिति गठनदेखि शिक्षक सरुवाको विषयमा समेत राजनीति हुने गरेको छ,” मन्त्री श्रेष्ठले भने। राजनीतिक हस्तक्षेपकै कारण शैक्षिक गुणस्तर बढ्नुको साटो झन्झन् खस्किंदै गएकोले समग्र विकासको मेरुदण्डमैं विकृति देखा परेको उनको टिप्पणी थियो।
भौतिक पूर्वाधार निर्माणसँगै शैक्षिक गुणस्तरमा पनि सुधार ल्याउनुपर्ने बताउँदै मन्त्री श्रेष्ठले विद्यालयलाई भौतिकरूपमा मात्र नभई शैक्षिक गुणस्तरीयताको रूपमा समेत नमूना बनाउनुपर्नेमा जोड दिए। महिला हिंसाको अन्त्य, बालबालिकाको सुरक्षित भविष्य र ज्येष्ठ नागरिकको सम्मानित जीवनयापनका लागि निकट भविष्यमैं आफ्नो मन्त्रालय ठोस योजना ल्याउने तयारीमा रहेको उनले बताएका छन्।
कार्यक्रममा गोलबजार नगरका प्रमुख देवनाथ साहले जिल्लाको नमूना विद्यालयको रूपमा उक्त विद्यालयलाई विकास गर्ने प्रतिबद्धता जाहेर गरेका थिए। उनले विद्यालयमा प्रयोगशाला निर्माणसँगै शैक्षिक गुणस्तरीयता बढ्ने विश्वास व्यक्त गरे।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्