तत्काल भुक्तानी नगरे रौतहटका उखु किसानले पनि काठमाडौंमा आन्दोलन गर्ने

111

प्रस, गरुडा, २ पुस/
रौतहटका उखु किसानले उखुको मूल्य तत्काल भुक्तानी हुनुपर्ने अडान लिएका छन्। रौतहटको गरुडास्थित श्रीराम सुगर मिल्स लि.लाई विभिन्न वर्षमा किसानहरूले बेचेको उखुको मूल्य एक/दुई दिनमैं भुक्तानी हुनुपर्ने अडान राखेका छन्।
रौतहटका उखु किसानले ४१ करोड रुपैयाँ भुक्तानी पाउनुपर्ने बाँकी रहेको उखु उत्पादक सङ्घ रौतहटले जनाएको छ। उद्योगपतिले उखुको मूल्य भुक्तानीको लागि बारम्बार गरेको भाका नाघेकोले अब कुनै भाकामा होइन नगदमा कारोबार हुनुपर्ने अडान उखु उत्पादक सङ्घको रहेको सङ्घका सल्लाहकार सफिन्द्रप्रसाद यादवले जानकारी गराएका छन्।
सङ्घको पहलमा बुधवार जिल्ला प्रहरी कार्यालय रौतहटमा श्रीराम सुगर मिल्सका तीनजना सञ्चालकमाथि ठगी मुद्दा दर्ता गराइएको छ। ४६ जना किसानको हस्ताक्षरमा दर्ता भएको मुद्दामा उद्योगपतिलाई तत्काल कारबाही गर्नुपर्ने माग गरिएको छ।
किसानहरूले उद्योगका सञ्चालक हितेश गोल्छा, सञ्चालक विशाल अग्रवाल र कार्यकारी उपाध्यक्ष पद्मकान्त झामाथि ठगी मुद्दा दर्ता गराएका हुन्। किसानको उखुको मूल्य भुक्तानी नगर्ने उद्योगपतिमाथि रौतहटमा पहिलोपटक ठगी मुद्दा दर्ता भएको हो।
मुद्दा दर्ता भएपछि उद्योगपतिलाई पक्राउ गर्न पक्राउ पुर्जी पनि जारी भएको स्रोतको भनाइ छ। गृह मन्त्रालयले पनि उखुको रकम भुक्तानी नगर्ने चिनीमिलका सञ्चालकविरुद्ध ठगीमा कारबाही गर्न प्रहरी र जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिइसकेको छ।
जिल्ला प्रहरी कार्यालय रौतहटमा मुद्दा दर्ता भएको र पक्राउ पुर्जी जारी भएपछि उद्योग सञ्चालकहरूले रकम भुक्तानीको लागि एक हप्ताको समय मागिरहेको सल्लाहकार यादवको भनाइ छ। गत वर्ष रौतहटका उखु किसानहरूले रकम भुक्तानीको लागि आन्दोलन गर्दा २०७६ चैत मसान्तसम्म सबै बाँकी बक्यौता भुक्तान गर्ने सम्झौता गरेको उद्योगले किसानलाई भुक्तानीको नयाँ तिथि तोकेर छल्ने काम मात्र गरेको आरोप रहेको छ।
सरकारले उखु किसानको रकम भुक्तानीको लागि तत्परता देखाएपछि अब किसानको रकम भुक्तान हुने केही आशा जागेको गढीमाई नगरपालिका–२ का अगुवा उखु किसान कामेश्वर सहनीको भनाइ छ।
उद्योगपतिले एक हप्ताको समय मागेको र उखु उत्पादक सङ्घ रौतहटले एक/दुई दिनमा भुक्तानी नगरे रौतहटका किसानहरूले पनि काठमाडौं केन्द्रित आन्दोलन गर्ने तयारी गरेका छन्।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्