जिप्रका पर्सामा विपद् व्यवस्थापनबारे छलफल

0
31

प्रस, वीरगंज, २ पुस/
जिल्ला प्रशासन कार्यालय, पर्सामा जिल्ला विपद् व्यवस्थापन समितिको बैठक सम्पन्न भएको छ।
बैैठकले शीतलहरसम्बन्धी चार बुँदे योजना कार्यान्वयनका लागि पारित गरेको छ। प्रमुख जिल्ला अधिकारी आसमान तामाड्ढो अध्यक्षतामा बसेको बैठकले पर्साका १४ वटै पालिकाको समन्वय र समझदारीमा प्रत्येक पालिकाका अतिविपन्न वर्गका ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकहरूलाई कम्बल, जर्सी, टोपीलगायतका न्यानो कपडा वितरण गर्ने, शीतलहरबाट जोगिन स्थानीय चोक तथा गल्लीहरूमा आगो बाल्नका लागि डिभिजन वन कार्यालयसँग समन्वय गरी दाउरा उपलब्ध गराउने, न्यानो कपडा  वितरण कार्यक्रममा विपन्न ज्येष्ठ नागरिकको जिल्ला जनस्वास्थ्य कार्यालयकोे समन्वयमा निश्शुल्क स्वास्थ्य परीक्षण गर्ने, जटिल अवस्थाका बिरामीको नारायणी अस्पतालमा उपचार गराउने व्यवस्था मिलाउने निर्णय गरेको छ।
त्यसैगरी, बैठकले विपद् पूर्वतयारी खोज तथा उद्धारका लागि आवश्यक २७ लाख रुपैयाँको सामग्री खरीद गर्ने तथा शीतलहरका लागि ४४ लाख रुपैयाँको न्यानो कपडा खरीद गर्ने निर्णय गरेको प्रजिअ तामाङले बताए।
बैठकमा जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरू, वीरगंज महानगरपालिका, पोखरिया नगरपालिका, बहुदरमाई नगरपालिका, पर्सागढी नगरपालिका लगायतका १४ वटा स्थानीय तहका प्रमुखहरू, राजनीतिक दलका प्रतिनिधिहरू, वीरगंज उद्योग वाणिज्य सङ्घका प्रतिनिधि, स्वास्थ्यकर्मी, जिल्ला वन कार्यालयका प्रतिनिधिलगायतको सहभागिता थियो।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्