कोरोना सङ्कटपछिको विश्व अर्थव्यवस्था

0
73

विश्वराज अधिकारी

ग्रेट ब्रिटेनले केही दिन पहिले आफ्ना नागरिकलाई कोरोनाविरुद्ध खोप दिन आरम्भ ग–यो। यसैसाथ त्यहाँका नागरिकले सो खोप पाउने क्रम जारी रहनेछ। क्यानडाले पनि आफ्नो नागरिकलाई छिटै कोरोनाविरुद्ध खोप उपलब्ध गराउने जनाएको छ।
अमेरिकाले पनि आफ्नो नागरिकलाई हिजो (डिसेम्बर १४, २०२०) देखि कोरोनाविरुद्ध खोप दिन आरम्भ ग–यो। आफ्ना नागरिकलाई खोप दिने अभियान अमेरिकाले जारी राख्ने समाचारहरूले उल्लेख गरेका छन्। अमेरिकामा उक्त खोप सर्वप्रथम कसलाई, त्यसपछि कसलाई दिने भन्ने प्राथमिकता निर्धारण गरिएको छ र सोही अनुसार खोप उपलब्ध हुने सूचना जारी भएको छ। खोप पाउन पहिलो प्राथमिकता भने स्वास्थ्य सेवामा संलग्न रहेका स्वास्थ्यकर्मीहरूले पाएका छन्। दोस्रो प्राथमिकतामा अति संवेदनशील एवं अत्यावश्यक सेवा प्रदान गर्ने संस्थासँग आबद्ध कामदारहरू परेका छन्।
विभिन्न देशले आफ्नो नागरिकलाई कोरोनाविरुद्ध खोप दिन आरम्भ गरेसँगै विगत नौ महीना (२०२० मार्चदेखि तीव्ररूपमा फैलिएको)देखि मानवताविरुद्ध अति आतङ्क मचाइरहेको कोरोना सङ्कटको गतिमा अब केही सुस्तता आउने पक्का छ। हुन पनि कोरोना सङ्कटले स्वास्थ्य क्षेत्रमा जति क्षति पु–यायो त्योभन्दा बढी आर्थिक क्षेत्रमा क्षति पु–यायो। आर्थिक क्षेत्रमा व्यापारीहरूले अति घाटा खाने, व्यापार बन्द गर्नेजस्ता कार्य मात्र भएन, रोजगार गुमाएका कैयौं व्यक्तिले आत्महत्यासमेत गरे। विश्वभरिका अनेक देशमा कोरोनाको कारण रोजगार गुमेर, जीवन निर्वाह कठिन भएर, हजारौंको सङ्ख्यामा मानिसले आत्महत्या गरे। कोरोनाले विश्वभरि लाखौं व्यक्तिको मानसिक स्वास्थ्यमा समेत नराम्रो असर पा–यो। कोरोना सङ्कटकालले गर्दा मानसिकरूपमा बिरामी हुन पुगेका व्यक्ति पूर्ववत् स्थितिमा आउन वर्षौं लाग्नेछ। यो कोरोना सङ्कट विश्व इतिहासमा नै ठूलो पीडादायी साबित भयो।  
कोरोनालाई पूर्ण नियन्त्रण गर्न लामो समय नै लाग्नेछ, किनभने गरीब राष्ट्रका नागरिकसमक्ष कोरोनाविरुद्ध खोप पुग्न वर्षौं लाग्न सक्छ। गरीब देशका सरकारहरूको कमजोर क्रयशक्ति र व्याप्त अनियमितता र भ्रष्टाचारले गर्दा त्यहाँका नागरिकसमक्ष कोरोनाविरुद्ध खोप सजिलै पुग्न वर्षौं लाग्न सक्छ। बृहत् परिमाण र सजिलै, कोरोनाविरुद्ध खोप विभिन्न मुलुकमा उत्पादन नभएसम्म यो खोप सस्तो र सर्वसुलभ हुने सम्भावना देखिंंदैन। तर पनि कोरोनाविरुद्ध खोपको आविष्कार र त्यसको व्यापारीकरणले गर्दा विश्व समुदायमा एक किसिमको उत्साहको सञ्चार भने अवश्य भएको छ। हताशामा बाँचेकालाई आफ्नो निराशाको स्तर कम पार्न कोरोनाविरुद्ध खोपको आविष्कार बलियो सम्बल हुनेछ। यसले थप आशा, भरोसा र आँट दिनेछ।
कोरोनाविरुद्ध खोपको विकास र प्रयोगसँगै अर्थशास्त्री एवं सम्बद्ध पक्षबीच एउटा बहस प्रारम्भ भएको छ। त्यो बहस कोरोना सङ्कटपछि विश्व अर्थव्यवस्था कस्तो हुनेछ भन्ने हो।
कोरोनाविरुद्ध खोपको उपलब्धतासँगै विश्व अर्थव्यवस्थमा ठूलो सुधार आउने अनुमान गरिएको छ। अझै कतिपयले विश्व अर्थव्यवस्था तीव्र गतिमा विकास पथमा दौडिने विश्वाससमेत व्यक्त गरिरहेका छन्।
लामो समयसम्म निष्क्रिय रहेको पूँजीलाई अब आउने दिनमा व्यवसायी एवं उद्योगीहरूले थप सक्रियता एवं कुशलतापूर्वक उपयोग गर्नेछन्। उनीहरूले गुमेको उत्पादन थप उत्पादन गरेर पूर्ति गर्ने प्रयास गर्नेछन्। र त्यो थप उत्पादनका लागि थप माग पनि सृजना हुनेछ किनभने उत्पादन गतिविधिमा तीव्र वृद्धि भएकोले रोजगार वृद्धि भएर उपभोक्ताहरूको आयमा पनि वृद्धि हुनेछ। यसरी वृद्धि भएको आय (पहिलेको भन्दा)ले उपभोक्ताहरूलाई थप दैनिक आवश्यकताका वस्तु खरीद गर्न उत्प्रेरित नगरे पनि अर्ध एवं पूर्ण विलासी वस्तु खरीद गर्न अति उत्प्रेरित गर्नेछ। अर्कोतिर लामो समयसम्म नियमित काम नपाएका कामदारहरू (ह्वाइट र ब्लुकलर दुवै) थप जोश र जाँगरका साथ तथा लामो समयसम्म काम गर्न तत्पर हुनेछन्। यस्ता कार्यले वित्तीय बजारमा सकारात्मक असर पार्नेछ र त्यो सकारात्मक प्रभावले उत्पादनमा हुने वृद्धिलाई निरन्तरता दिनेछ। यी कारणहरूले गर्दा कोरोना सङ्कटपछिको विश्व अर्थव्यवस्था थप लाभदायी एवं जनहितकारी हुने सम्भावना बढेर गएको छ। निराश हुने ठाउँ देखिंंदैन।
कोरोना सङ्कटपछिको समयलाई अमेरिकामा भएको प्रशासन परिवर्तनले पनि सकारात्मक प्रभाव पार्नेछ। अमेरिकी प्रशासन परिवर्तनले गर्दा अमेरिका र चीनबीच हुने व्यापार विवादले सुस्तता पाउनेछ र त्यसको प्रभाव विश्व व्यापारमा सकारात्मक किसिमले पर्नेछ। अमेरिकी प्रशासन परिवर्तनले विश्व आर्थिक शक्तिकेन्द्र (Economic Powerhouse)हरू जस्तै अमेरिका, चीन, जापान, जर्मनी, फ्रान्स, बेलायत आदिलाई आर्थिक विकासका लागि मिलेर कार्य गर्न अनुकूल वातावरण प्रदान गर्नेछ।
कोरोना सङ्कट अवधिभर कार्य गर्ने अनेक किसिमका नयाँ शैली विकसित भएका छन्। यी शैलीहरूले उत्पादन लागत कम पार्न सघाउ पु–याउनेछ। उदाहरणका लागि कोरोना सङ्कट अवधिभर थुप्रै व्यक्तिले घरमंै बसेर काम गरे। यसैगरी, घरमा नै बसेर ‘व्यावसायिक मिटिङ’ आदि पनि गरे। यस्ता कार्यहरूले कामदारहरूको समय बचत हुन पुगेको थियो भने यातायातमा हुने ठूलो खर्चमा कमी पनि आएको थियो। ’भर्चुअल’ मिटिङले पनि लागत नियन्त्रण गर्न सघाउ पु–याएको थियो। सबैभन्दा ठूलो कुरा त ‘प्रत्यक्ष सम्पर्कमा नआएर’ पनि अनेक किसिमका व्यापार सञ्चालन गर्न सकिन्छ भन्ने बोध व्यावसायिकजगत्का व्यक्तिहरूले बलियो किसिमले गरे। हुन पनि ‘घरमैैं सामान पु–याइदिने’ सेवा व्यवसायले यो अवधिभर अन्य व्यवसाय जस्तो सङ्कट बेहोर्नुपरेन, घाटा खानुपरेन। ‘अनलाइन सपिङ’को दुनियाँमा ज्यादै ख्याति कमाएको अमेरिकी संस्था ‘अमेजन’को व्यवसायमा यो अवधिमा कुनै पनि किसिमको समस्या आएन, उल्टो राम्रो मुनाफा हात लाग्यो।
कोरोना सङ्कटपछिको समयले विश्व पर्यटन व्यवसायलाई पनि राम्रो प्रभाव पार्नेछ। कोरोना रोग निको हुने सुनिश्चिततासँगै लामो समयसम्म एउटै स्थानमा विरक्तिएर बसेका व्यक्तिहरू अब अनेक स्थानको भ्रमणमा निस्किन प्रोत्साहित हुनेछन्। लामो एकाङ्की बसाइले उनीहरूलाई घुमफिर गर्न घचघच्याउने छ। र यो कारणले गर्दा विश्व पर्यटन व्यवसायले तीव्रता पाउनेछ। व्यक्तिहरूले पर्यटन क्षेत्रमा गर्ने ठूलो खर्चले विश्व अर्थव्यवस्थामा खुशहाली ल्याउन थप बल पुग्नेछ।
कोरोना सङ्कटकालमा सुस्त हुन पुगेको अन्तर्राष्ट्रिय श्रम बजारले पनि राम्रो गति पाउनेछ। अन्तर्राष्ट्रिय बजारमा श्रमको मागमा वृद्धि हुनुको साथै आपूर्ति पनि वृद्धि हुनेछ। श्रमिकहरूको आय वृद्धि हुनेछ।
यस किसिमका अनेक कार्यले गर्दा कोरोना सङ्कटकालपछिको विश्व अर्थव्यवस्था राम्रो हुनेछ। विभिन्न राष्ट्रमा आर्थिक विकासको गतिले तीव्रता लिनेछ। समग्रमा विश्व अर्थव्यवस्था थप बलियो हुनेछ।
कोरोना सङ्कटकालपछि विश्व अर्थव्यवस्थामा आउने तीव्र सुधारको स्थिति नेपालजस्तो राष्ट्रको लागि राम्रो अवसर पनि हुन सक्छ। यो स्थितिबाट मुख्यगरी पर्यटन व्यवसाय र अन्तर्राष्ट्रिय श्रम बजारबाट नेपालले राम्रो आम्दानी प्राप्त गर्न सक्छ। योजानबद्ध किसिमले नेपालका नीति निर्माताहरूले कार्य गर्ने हो भने नयाँ सृजना भएको यो अवसरको राम्ररी उपयोग गर्न सक्छन्। त्यस कारण निर्णय तहमा बसेकाहरूले यो नयाँ अवसरको उपयोग गर्न अनेक किसिमका नयाँ–नयाँ रणनीति निर्माण गर्न आवश्यक छ।
यसैगरी, नेपालका व्यवसायीहरूले पनि आकस्मिक किसिमले सृजित यो नयाँ स्थिति (उत्तरकोरोना सङ्कटकाल)को राम्ररी उपयोग कसरी गर्न सकिन्छ भनी गम्भीरतापूर्वक सोच्न आवश्यक छ। हामीले नेपाललाई भ्रमणमैत्री राष्ट्र बनाउनेतर्फ बढी ध्यान दिन आवश्यक छ। यसका लागि नेपाल सरकारले गम्भीर भएर सोच्न आवश्यक छ। कोरोना सङ्कटले विगतमा जति दुःख दियो, त्यति नै यसले अब भविष्यमा नयाँ–नयाँ अवसरको सृजना गर्ने  सङ्केत गर्दैछ। हामीले ती अवसरहरूको पहिचान गर्ने र तिनको उपयोग गरेर राम्रो आय हात पार्न चुक्नु भने हुँदैन।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्