आर्थिक विकासका लागि युवा उद्यमशीलता

0
55

शीतल महतो

कुनै पनि समाजको आर्थिक विकास र समृद्धिका लागि उद्यमशीलता महत्वपूर्ण पक्ष मानिन्छ। हुनत समाज आफैंमा बहुआयामिक विषय हो। जसमा आर्थिक, सांस्कृतिक, राजनीतिक, भौतिक र नैतिकरूपमा गाँसिएको हुन्छ। हाम्रोजस्तो विकासोन्मुख मुलुकको आर्थिक विकास र समृद्धिका लागि यो अझ बढी महत्वपूर्ण र प्रमुख प्राथमिकताको विषय भएको छ। नवीनतम व्यवसायको तयारी गर्ने, व्यवसाय स्थापना गर्ने, त्यसको अनुसन्धान गर्ने, सञ्चालनका लागि तीव्र इच्छाशक्ति र सृजनशील क्षमता हुनु नै उद्यमशीलता हो। उद्यमशीलता उत्पादनको साधन पनि हो। उद्यमशीलता संस्कृतिको विकासले नागरिकलाई पेशा व्यवसायप्रति आकर्षित गराइ जोखिम वहन गर्न र सिर्जनशील कार्यलाई आर्थिक क्रियाकलापसँग आबद्ध गर्न मदत गर्दछ। त्यसैले मुलुकको विकास र समृद्धिका लागि स्थानीयस्तरदेखि नै उत्पादन र उत्पादकत्व वृद्धि तथा रोजगार सिर्जना गरी अर्थतन्त्रलाई गतिशीलता दिन उद्यमशीलताको विकास गर्नु आजको आवश्यकता हो।
जनसङ्ख्याको हिसाबले नेपालमा झन्डै एक तिहाइ युवा जनसङ्ख्या छ। रोजगारका पर्याप्त अवसर सिर्जना गर्न नसकेका कारण मुलुकमा युवा बेरोजगारीको सङ्ख्या बढ्दै गएको छ। नेपालमा हरेक वर्ष करीब पाँच लाख युवा जनशक्ति श्रम बजारमा आउने गरेको तथ्याङ्क छ। तीमध्ये करीब १० प्रतिशतले मात्र औपचारिक क्षेत्रमा रोजगारको अवसर पाउँछन्। रोजगारमा लागेकामध्ये पनि श्रमको गुणात्मक पक्ष थप चुनौतीपूर्ण छ। यो आँकडालाई मध्यनजर गर्ने हो भने हरेक वर्ष करीब चार लाख पचास हजार युवा बेरोजगारीको सङ्ख्या बढ्दै गएको देखिन्छ। यो सङ्ख्यालाई उद्यमशीलतामा नलाने हो भने सरकारले लिएको ‘सुखी नेपाली, समृद्धि नेपाल’को नारा केवल कागजमा मात्र सीमित हुन पुग्नेछ। विश्वमैं महामारीको रूपमा देखिएको कोरोना भाइरस सङ्क्रमणका कारण विदेशमा रोजगारका लागि गएका युवादेखि शहर बजारमा पढे–बढेका कैयौं युवा जन्मथलो फर्केका छन्। कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको बन्दाबन्दीको अवधिमा आफ्नो जमीनसँग एकाकार हुने मौका पाएका छन्। त्यस्ता केही युवालाई कृषि, पशुपालन, वन पैदावार, साना तथा मझौला उद्यमशीलता विकास गर्न प्रोत्साहित गर्नु अपरिहार्य भएको छ।
श्रम तथा रोजगार मन्त्रालयले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत सन् २०२० सम्म ६० हजार युवालाई श्रम र सीप विकास गरी रोजगारको अवसर सिर्जना गर्ने कार्यक्रम तय गरेको थियो। यस कार्यक्रमको लक्ष्य रोजगारका लागि विदेश जाने युवालाई देशभित्रै रोक्ने रहेको बताइएको थियो। कोभिड–१९ पछि वैदेशिक रोजगारमा आउने कटौतीका कारण आगामी आर्थिक वर्षमा देशभित्रै १५ लाख रोजगारका अवसर सिर्जना गर्नुपर्ने तथ्य एक सरकारी अध्ययनले देखाएको छ। जुन सरकारले तय गरेको दीर्घकालीन लक्ष्यभन्दा दोब्बर हो। यस्तै उद्योग, वाणिज्य र आपूर्ति मन्त्रालयको अध्ययन अनुसार पन्ध्रौं पञ्चवर्षीय योजना अवधिमा २५ लाख रोजगारका अवसर जुटाउनुपर्ने बताइएको छ। अहिले देशको युवा जनसङ्ख्याको ठूलो हिस्सा पारिवारिक जिम्मेवारी निर्वाह गर्न र सहज भविष्यको आशामा विदेशमा श्रम बेच्न बाध्य छ। विदेशमा नेपाली श्रमिक निकै जोखिम अवस्थामा काम गरिरहेका छन्। उनीहरूले श्रम अनुसार अत्यन्त न्यून भुक्तानी पाइरहेका छन्। देशभित्र पनि केही युवाले कृषि, साना उद्योग, विज्ञानको क्षेत्रमा सराहनीय कामको थालनी गरेका छन्। त्यो कामलाई प्रोत्साहन मिलेको अवस्थामा अरू कैयौं युवा त्यस्ता काममा आकर्षित हुन सक्छन्। हुनत सरकारले युवा रोजगार तथा उद्यमका लागि नीति प्रवद्र्धन नगरेको होइन, तर बेरोजगारी सङ्ख्यामा वृद्धि भए अनुसार नीति तथा कार्यक्रम आउन सकेको छैन। युवा बेरोजगारी सङ्ख्या बढ्नुमा मुख्यरूपमा शिक्षा प्रणाली, नीतिगत संरचना, राजनीतिक, आर्थिक, संस्कृति, लगानी र व्यावसायिक टेवालगायत क्ष्Fेत्रको अभाव हो। यस्ता कारण पहिचान गर्दै युवा उद्यमको संस्कृति निर्माण गर्न सकियो भने मात्र समृद्ध मुलुक निर्माण हुन सक्छ।
एक अध्ययन अनुसार कोरोना महामारीका कारण वैदेशिक रोजगारमा गएका करीब सात लाख नेपाली युवाले रोजगार गुमाउनेछन्। हाल नेपालमा करीब सात लाखकै हाराहारीमा विदेशी श्रमिक रोजगारमा रहेको बताइन्छ। हाल नेपालमा कार्यरत विदेशीहरू उच्च वा दक्ष श्रमिकका रूपमा उच्च आम्दानी गरिरहेका छन्। त्यस्ता श्रमिकलाई प्रतिस्थापन गर्न सक्यौं भने देशबाट बाहिरिने अर्बौं रुपियाँ स्वदेशमैं रहने र तत्कालको बेरोजगार समस्या समाधान पनि हुन सक्छ। त्यसका लागि प्रधानमन्त्री रोजगार कार्यक्रमलगायत सरकारी तथा निजी क्षेत्रले अत्यधिक लगानी बढाउनुपर्ने कठोर चुनौती त छँदैछ, बेरोजगारी युवालाई दक्ष बनाउने क्रममा सीप विकासका कार्यक्रम सञ्चालन गर्न थप जटिल छ। यस्तै प्रयोजनका लागि नेपालमा स्थापना भएको प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्मा व्यापक सुधार गरी नयाँ–नयाँ प्राविधिक विषय सैद्धान्तिक तथा व्यावहारिक रोजगारमूलक सीप विकासका कार्यक्रम सञ्चालन गर्नुपर्छ। यो काम असम्भव भने छैन, तर त्यसका लागि सरकार, परिषद् र निजी क्षेत्रबीच उच्चस्तरको समन्वय र सहकार्य हुनुपर्दछ।
राष्ट्रिय योजना आयोगले जारी गरेको पन्ध्रौं योजनाको आधारपत्रमा दीर्घकालीन विकासको खाका कोरिएको छ। यसले सुखी नेपाली, समृद्ध नेपालको लक्ष्य लिएको छ। उक्त लक्ष्यप्राप्तिका लागि २२ वटा राष्ट्रिय गौरवका आयोजना र १८ वटा गेम चेन्जर योजना अनि १७७ वटा उच्च प्राथमिकताका बहुवर्षीय योजना पहिचान गरिएको छ। यस्ता योजना सामाजिक विकासका विविध क्षेत्र जस्तै– शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार विकास, प्रविधि आदि क्षेत्र समेटेर चयन गरिएका छन्। यसलाई सकारात्मकरूपमा लिनुपर्दछ। तर छनोट भएका योजनाको कार्यान्वयन कसरी हुन्छ भन्ने कुराले यसको सफलता निर्धारण गर्नेछ। विशेषगरी श्रम बजारको अवस्था विश्लेषणगरी युवालाई व्यावसायिक शिक्षा, सीप विकासको अवसर र व्यवसाय सुरुआतका लागि सहयोग आवश्यक पर्छ। व्यावसायिक शिक्षा भनेको विविध प्रकारका व्यवसाय सञ्चालनका लागि आवश्यक पर्ने प्राविधिक वा विज्ञानमा आधारित सैद्धान्तिक ज्ञान र त्यसको कार्यान्वयन गर्र्न सीप विकास गर्नु हो। नेपालमा यसै प्रयोजनका लागि प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् स्थापना भएको छ। यो परिषद्ले स्थापनाकालदेखि अहिलेसम्म सेवाका क्षेत्रमा केही जनशक्ति उत्पादन ग–यो तर देशलाई उत्पादनको क्षेत्रमा आत्मनिर्भर बनाउनेतर्फ पर्याप्त काम हुन सकेको छैन। प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम पाएका युवालाई सीप विकास वा आत्मविश्वास बढाउने प्रयोगशाला वा कार्यक्षेत्र उपलब्ध हुनुपर्छ। यो कार्य राज्य वा समुदायको जिम्मेवारी हो। व्यक्ति वा परिवारले आफ्नै प्रयासमा यो अवसर जुटाउन सक्दैन। यस प्रकारको सीप विकास परम्परागत व्यवसायदेखि आधुनिक व्यवसायका क्षेत्र, जस्तै–कृषि तथा वन पैदावार, खाद्य प्रशोधन, हस्तकला तथा साना तथा मझौला उद्योग, कलकारखाना, यान्त्रिक तथा अन्य प्रविधिको विकास र विस्तारजस्ता क्षेत्रमा विकास गरिनुपर्छ। विश्व बजारमा गरिएका अध्ययन अनुसार राम्रो सीप विकासको अवसर पाएको व्यक्तिले श्रम बजारमा करीब ६५ प्रतिशत बढी प्रतिफल हासिल गर्न सक्छ। त्यस्ता युवा विदेश नै गए पनि उसले बढी मर्यादित, सुरक्षित काम गर्न र राम्रो आम्दानी गर्न सक्छ।
मुलुकको आर्थिक विकासमा उद्यमशीलताको अद्वितीय भूमिका हुन्छ। देशको आर्थिक विकासको मूल आधार नै उद्यमशीलता हो। अर्थतन्त्रको विकासका लागि उद्यमीको भूमिका महत्वपूर्ण हुन्छ। पूँजी निर्माण, रोजगार वृद्धि, उत्पादकत्व वृद्धि, निर्यात प्रवद्र्धन, उद्योगीकरण, सन्तुलित तथा न्यायपूर्ण विकासका लागि उपलब्ध प्राकृतिक तथा मानवीय संसाधनको सदुपयोग र गुणस्तरीय जीवनयापनका लागि राष्ट्रको कुल गार्हस्थ्य उत्पादनमा वृद्धि गर्न उद्यमीले प्रभावकारी भूमिका निर्वाह गरिरहेको हुन्छ।
त्यसैले नेपालको आर्थिक विकासको आधार उद्यमशीलता हो। वर्तमान समयमा युवाशक्तिलाई उद्यमशीलतामा परिणत गर्न सके देशको आर्थिक समृद्धि यसै पुस्तामा सम्भव हुने देखिन्छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्