सीमानाका खोल्न माग गर्दै सर्लाही बन्द

97

प्रस, सर्लाही, १ पुस/
नेपाल–भारत सीमा खुला गर्नुपर्ने माग गर्दै बुधवार सर्लाही जिल्लाका सबै पालिका बन्द गरियो। जिल्ला समन्वय समिति सर्लाहीका प्रमुख मेथुर चौधरीको संयोजकत्वमा गठित सर्वपक्षीय सङ्घर्ष समितिको आह्वानमा जिल्लाका सबै स्थानीय तह एक दिनका लागि बन्द गरिएका हुन्।
भारतसँगको सीमानाका खुला गर्नुपर्ने र हुलाकी सडक निर्माणको कामलाई तीव्रता दिनुपर्ने माग राख्दै आफूहरूले जिल्ला बन्द गराएको समन्वय समितिका प्रमुख चौधरीले बताए। जिल्लाका सबै पालिकामा बुधवार दिनभरि नै बजार, पसल, सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था र यातायातसमेत बन्द रहेको विभिन्न पालिकास्थित जनप्रतिनिधिहरूले जानकारी गराएका छन्।
यी दुई माग राख्दै सर्वपक्षीय सङ्घर्ष समितिले गत मङ्सिर २१ गतेदेखि नै सदरमुकाम मलङ्गवामा धर्ना दिइँदै आएको छ।
माग पूरा नभएसम्म आन्दोलनलाई निरन्तरता दिइने समितिले जनाएको छ।
यसैबीच, प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले सीमानाका खोल्नका लागि गृह मन्त्रालयमा पत्राचार गरिसकेको बताएका छन्।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्