उपचार अभावमा छटपटाउँदै मिर्गौलापीडित किशोरी

90

माधव तिमल्सिना, ठोरी, ०१ पुस/
पर्साको ठोरी गाउँपालिका–४, निर्मलबस्तीको स्याउलीबस्ती, वीरगंज– ठोरी हुलाकी सडकभन्दा करीब दुई सय मिटर दक्षिणमा थोत्रो जस्तापाता र खरले छाएको झुप्रो घर छ। सोही घरभित्र दुवै मिर्गौलाले काम नगर्दा उपचारको अभावमा छटपटाइरहेकी १५ वर्षीया छोरी पुष्पालाई स्याहार्दै भक्कानिन्छन् सोमलाल रूम्बा।
शरीर सुन्निएर पीडामा छटपटिरहेकी १५ वर्षीया छोरी पुष्पा रूम्बाको उपचार गर्न नसकेर घरैमा राख्नुको विकल्प नभएपछि सोमलाललाई  चिन्ताले पिरोलेको छ। कक्षा ७ मा पढ्दै गरेकी पुष्पाको खुट्टादेखि शरीर पूरै सुन्निएको छ। उनी बोल्नै सक्दिनन्। उठ्न र बामे सर्न पनि अरूको सहारा चाहिन्छ। कोही आफन्तजन वा नयाँ मानिस देख्यो कि उनी आँसु खसाल्छिन्। छोरीको अवस्था र उनले बाँच्नका लागि गुहार मागिरहेको कुरा बुझेका सोमलाल आफैं पनि पटक–पटक अचेत भइसकेको स्याउलीबस्तीका बासिन्दाहरूले सुनाए। रोग पहिचान भइसकेपछि पनि आर्थिक अवस्थाका कारण उपचार गर्न नसक्दाको पीडाले उनी रुने र मूर्छित हुने गरेका हुन्।
पुष्पा सोमलालकी साहिली छोरी हुन्। आजभन्दा दुई वर्ष पहिले माइली छोरीको पनि शरीर सुन्निने रोगले ज्यान गइसकेको छ। “रोग चिन्नै नसकेर माइली छोरीको ज्यान गयो, साहिली छोरीको रोग थाहा भएर पनि बचाउन नसकिने भयो,” प्रतीककर्मीसँगको कुराकानीमा सोमलालले पीडा पोखे।   
“माइली छोरीलाई उपचारका लागि अस्पतालमा लगेको भएपनि रोग पहिचान नभएर उनको ज्यान गयो। तर अहिले थला परेकी छोरी पुष्पाको दुवै मिर्गौलाले काम गर्न छोडेको चितवन मेडिकल कलेजले पुष्टि गरेको हो,” सोमलालले सुनाए। “डाक्टरले अब डायलासिस गर्नुपर्छ भन्नुभएको छ,” उनले आँसु झार्दै भने, “ऋण गरेर लगेको एक लाख ६२ हजार सकियो, आफूले जोरजाम गरेको समेत दुई लाख रुपैयाँभन्दा बढी खर्च भइसक्यो। त्यसपछि बाध्य भएर बिरामी छोरी घर ल्याउन प–यो। डाक्टरले बिरामीको अवस्था जटिल भन्दाभन्दै पनि पैसा नभएर घर ल्याउनुपरेको हो।”
चार सन्तानका पिता रूम्बा सुकुमबासी हुन्। उनको आफ्नो नाममा एक धुर जमीन पनि छैन। ऐलानी जग्गा चर्चिंदै आएका रूम्बाले सोही जग्गामा झुपडी बनाएका छन्। सिंचाइ नलाग्ने जमीनमा वर्षमा जेनतेन दुई बाली हुन्छ, त्यसले परिवारलाई खानका लागि पुग्ने अन्न पनि आउँदैन। त्यही जमीन पनि बेचौं वा बैंकमा राखौं भने लालपुर्जा नभएकोले किनबेच, धितो बन्धक हुँदैन। आर्थिक अवस्था अत्यन्त दयनीय रहेको र एउटा खाटसमेत नभएको झुपडीभित्र चीसो भुइँमा पातलो ओछ्यानमा बिरामी पुष्पा सुतिरहेकी छन्।
ज्याला मजदूरी गर्दै परिवारको भरणपोषण गर्नुपर्ने सोमलाल र उनकी पत्नी छोरी बिरामी भएदेखि मजदूरी गर्न जान पाएका छैनन्। उनको १२ वर्ष र ६ वर्षका दुई छोरी र ८ वर्षको छोराको लालनपालनको जिम्मेवारी त छँदैछ। बिरामी छोरीलाई घरमा छोडेर काममा जान उनी सक्दैनन्, ज्याला मजदूरी नगरे हातमुख जोर्न धौधौ परेको पुष्पाकी आमाले बताइन्। “एकजना त छोरीको साथमा नै बस्नुपर्छ। अर्को एकजनाले साना नानीबाबुहरू र उनीहरूको खाना जुटाउनमा नै समय पुग्दैन,” सोमलालका छिमेकी आसामानले सुनाए। स्याउलीबस्ती सुकुमबासी बस्ती हो। ठूलै आर्थिक सहयोग गर्न सक्ने हैसियत टोलछिमेकको पनि छैन।
मिर्गौलापीडितहरूका लागि डायलासिस निश्शुल्क हुन्छ भन्ने सोमलालले पनि सुनेको बताए तर त्यसका लागि के के गर्नुपर्छ भन्नेबारे आफूलाई केही पनि थाहा नभएको उनले सुनाए।  
बितेको कात्तिक ११ गते सुर्ती रोप्न बारीमा गएकी पुष्पालाई एक्कासि पेट दुख्यो र पखाला लाग्यो। त्यसअघि छरछिमेकमा समेत अह्रनखटन गर्न जाने परिश्रमी र स्वस्थ उनलाई त्यसअघि कहिले कुनै पनि बिरामी भएको थिएन। कहींकतै उपचार नलागेपछि गत मङ्सिर १९ गते चितवन मेडिकल कलेज भरतपुर लगिएकोमा पुष्पाको दुवै मिर्गौला काम नलाग्ने भएको पत्ता लागेको हो। तर बिरामी पत्ता लगाउँदासम्म आफूसँग ऋणदान लिएको सबै रकम सकिएपछि थप उपचार प्रक्रियामा जान नसकेको रूम्बाले दुःखेको पोखे। उनले छोरी पुष्पाको उपचारमा सहयोगको निम्ति अपील गरेका छन्।
वडा नं ४ मा रहेको नेरा आधारभूत विद्यालयमा कक्षा ७ मा अध्ययनरत पुष्पा पढाइमा अब्बल रहेको विद्यालयका प्रधानाध्यापक गोपीलाल श्रेष्ठ बताउँछन्। मिलनसार, परिश्रमी स्वभाव र नियमित विद्यालय आउने छात्राको जीवनरक्षाका लागि प्रअ श्रेष्ठ पनि सबैसँग सहयोगको याचना गरेका छन्।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्