मूला र काउलीले उचित मूल्य पाएन

132

प्रस, सिम्रौनगढ, ३० मङ्सिर/
सिम्रौनगढ क्षेत्रमा हरियो तरकारी मूला र काउली रोपेका किसानहरू अहिले चिन्तित भएका छन्। एक हप्ताअगाडिसम्म मूला रु ३० र काउली रु ९० प्रतिकिलो रहेकोमा अहिले ह्वात्तै घटेपछि मूला र काउली खेती गर्ने किसानहरू चिन्तित भएका हुन्।
सिम्रौनगढमा मूला अहिले रु २ र काउली रु ५ प्रतिकिलोमा किसानहरूले बिक्री गर्दैछन्। सिम्रौनगढ क्षेत्रका अमृतगंज, खजानी, झवानी, कमलपुर, सतुवाही, अमरपुर, कचोर्वा, ठूलो इटवाल, सानो इटवाल, हरिहरपुर, गङ्गानगर, कोतवाली, श्रीनगर बैरिया, औवाही, सलेमपुर क्षेत्रका करीब २ सयभन्दा बढी बिघामा मूला र काउली खेती गरिएको छ। यहाँ उत्पादित मूला, काउली राजधानी काठमाडौंदेखि आसपासका रौतहट र पर्सा जिल्लासम्म पुग्ने गरेको छ।
अहिले बाहिरबाट व्यापारी आउन नसकेको कारण मूला र काउलीको बिक्री घटेको अमृतगंजका कृषक गगनदेव कुशवाहाले बताए। मङ्सिरमा वैवाहिक कार्यक्रम बढी भएको र सोमा मूला र काउली बढी खपत हुने तथा दाम पनि पाउने आस राखेका किसानहरू यही समयमा मूल्य घटेपछि चिन्तित भएका हुन्। पुसमा वैवाहिक कार्यक्रम हुँदैन र यसको खपत पनि कम हुँदै झनै मूल्य घट्ने भनेर उनीहरू भयभीत छन्। कतिपय किसानले रु २ मा मूला बेच्नुभन्दा खेतमैं गाड्न शुरू गरेका छन्।
सिम्रौनगढ क्षेत्र हरियो तरकारीको लागि पर्सा, बारा, रौतहटमा अग्रस्थानमा छ। यहींबाट उत्पादित हरियो तरकारी यी तीन जिल्ला र राजधानीमा पुग्ने गर्छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्