मानव बेचबिखनविरुद्ध समन्वय भेला

0
206

प्रस, ठोरी, ३० मङ्सिर/
मानव बेचबिखन तथा महिला हिंसाविरुद्ध काम गर्दै आएको आशिष् सामाजिक सेवा नेपालले मङ्गलवार ठोरी गाउँपालिकामा समन्वय भेला गरेको छ।
रूपन्देही र नवलपरासीमा मानव बेचबिखन र महिला हिंसाविरुद्ध काम गर्दै आएको आशिष्ले पर्सामा शाखा विस्तार गरेपछि ठोरी गापा–४ विशाल चोकमा स्थानीय पालिकाको समन्वयमा मानव बेचबिखन तथा महिला हिंसाविरुद्धको अभियान सञ्चालनको लागि समन्वय भेला गरेको हो। भेलाको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि एवं गापा अध्यक्ष पद्मलाल श्रेष्ठले गरेका थिए। सो अवसरमा उनले भारतसँग सीमा जोडिएको ठोरी क्ष्Fेत्रबाट मानव बेचबिखनका घटना बढी हुने सम्भावना रहेको बताए। उनले गरीबी, अशिक्षाको कारण खुला सीमाबाट चेलीबेटी बेचबिखनको क्रम जिल्लामा बढी हुने गरेको बताए। आर्थिक अभावको कारण ठोरीबाट महिलाहरू तेस्रो मुलुक जाने क्रम पनि बढेको भन्दै उनले चिन्ता व्यक्त गरे।
अध्यक्ष श्रेष्ठले गरीबी नहटे र नागरिक शिक्षित नभएसम्म यो समस्या झेल्नुपर्ने बाध्यता रहेको पनि बताए। उनले ललाइफकाइ तथा परिवारजनको सल्लाहमा पनि वैदेशिक रोजगारमा ठोरीको बाटो भएर महिलाहरू जाने क्रम बढेको स्वीकारे। उनले स्वेच्छाले जानेभन्दा दलालमार्फत जाने क्रमलाई रोक्नुपर्नेतर्फ आफू सजग भएको र सरकारले पनि यसमा ध्यान दिनुपर्ने बताए।
जनता समाजवादी पार्टी पर्साका उपाध्यक्ष जरी लामाले मानव बेचबिखन र दासप्रथा राणा प्रधानमन्त्री चन्द्रशमशेरको पालामा अन्त्य भएपनि अहिलेसम्म यो नरोकिएको बताए। यस्ता गतिविधिले हाम्रो समाज कुन अवस्थामा छ भन्ने अनुभूति गराएको भन्दै उनले अशिक्षा र गरीबी हटाउनेतर्फ सबैको पहल आवश्यक भएको बताए।
भेलामा वडाध्यक्ष किशोर तामाङ, सूर्यबहादुर लामा, रामबहादुर पाख्रिन, नेपाली काङ्ग्रेस पर्साका सदस्य रामबहादुर श्रेष्ठ, कार्यपालिका सदस्य कान्छीमाया पाख्रिन, नेकपा ठोरीका अध्यक्ष खगेन्द्र श्रेष्ठ, ठोरी ख्रिस्टियन समाजका अध्यक्ष सुनबहादुर लामा, नेपाल तामाङ घेदुड्ढा अध्यक्ष धनबहादुर थिङ, युवराज विकलगायतले मानव बेचबिखनविरुद्ध अभियानमा सबैको सहभागिता आवश्यक हुने बताए। उनीहरूले स्वेच्छाले जानेबाहेक दलालमार्फत जाने कार्य रोकिनुपर्ने र यसले ठोरी बदनाम भइरहेको बताए। संस्थाकी अध्यक्ष कल्पना सेन्चुरीको अध्यक्षतामा कार्यक्रम भएको थियो।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्