बाक्लो हुस्सु र कुहिरोसँगै चीसो बढ्यो

91

प्रस, सप्तरी, ३० मङ्सिर/
मङ्गलवार बिहानैदेखि सप्तरीसहित तराई–मधेसमा बाक्लो हुस्सु र कुहिरोसँगै अत्यधिक चीसो बढेको छ। तीन/चार दिनदेखि मौसम परिर्वतन हुँदै आएको छ।
चीसो बढेपछि तराईको जनजीवन हरेक वर्ष कष्टकर बन्ने गरेको छ, यस वर्ष पनि जनजीवन कष्टकर बन्न थालिसक्यो। मङ्सिरको अन्तिम सातादेखि प्रदेश नं २ का आठ जिल्लामा बिहान र साँझ बाक्लो हुस्सु र कुहिरो लाग्ने गरेको यहाँका वयोवृद्धहरूको अनुभव छ। चीसो छल्न चोक–चोकमा आगो बालेर बसेका देखिन्छन्। दाउरा तथा जर्ना नहुनेहरूले परालको घुर बालेर पनि बस्न थालेका छन्।
पूर्व–पश्चिम राजमार्ग तथा सहायक राजमार्गको सडकमा बाक्लो हुस्सु र कुहिरो लागेपछि सडकमा हिंड्न र सवारी चलाउन समस्या हुन थालेको चालक सदानन्द यादवले बताए। आजभोलि दिउँसो राम्रोसँग घाम नलाग्ने हुँदा चीसोबाट बच्ने उपाय अपनाउन जिल्ला प्रशासन कार्यालय सप्तरीले सर्वसाधारणलाई सूचित गरेको छ।
शीतलहरले खासगरी डोम, मुसहर र दलित वर्गलगायतका बस्तीमा शीतलहरले वृद्धवृद्धा, बालबालिका तथा महिलालाई समस्या भएको छ। “दिनभरि मजदूरी गरेर दुर्ई छाक टार्न समस्या भएको बेला कहाँबाट न्यानो लुगा खरीद गर्नु ?” डोम जातिका अगुवा युक्ति मरिकको दुःखेसो थियो। सप्तरीमा आफूहरू जस्तो हजारौंलाई न्यानो लुगाको खाँचो परेको उनले बताए।
शीतलहरकै कारण आफू जस्ता कमजोर आर्थिक स्रोतका मानिस अकालमैं ज्यान गुमाउनुपर्ने बाध्यतामा रहेको उनको भनाइ छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्