किर्ते जग्गा प्रकरणमा थुनछेक बहस शुरू

106

प्रस, वीरगंज, ३० मङ्सिर/
वीरगंज मुख्य सडकको करोडौं मूल्यको जग्गा किर्ते नामसारी प्रकरणमा मङ्गलवार पर्सा जिल्ला अदालतमा पक्राउ परेका ६ जनाविरुद्ध थुनछेक बहस भयो।
पर्सा जिल्ला अदालतका न्यायाधीश हरिकृष्ण श्रेष्ठको इजलासमा आज भएको थुनछेक बहसमा वादी राजीव राजभण्डारीको तर्फबाट जिल्ला न्यायाधिवक्ता पद्मबहादुर कार्की र अधिवक्ता सुधीर कर्णले बहस गरेका थिए। यसैगरी, प्रतिवादीको तर्फबाट आज अधिवक्ता वीरेन्द्र यादवले मात्र बहस गर्न सके। बाँकी कानून व्यवसायीहरूले बुधवार थुनछेक बहस गर्ने बताइएको छ।
आइतवार र सोमवार दुई दिन पक्राउ परेका ६ जनासँग बयान लिने काम सम्पन्न भएपछि आज मङ्गलवारदेखि थुनछेक बहस भएको हो।
जग्गा किर्ते नामसारी प्रकरणमा मालपोत कार्यालय, पर्साका प्रमुख सुमन झा, नासु श्रीनारायणप्रसाद साह, लेखनदासद्वय प्रमेश र अमरप्रसाद साह कानू, जग्गा कारोबारी विश्वास तिवारी र किर्तेका नाइके केवलप्रताप राणा पक्राउ परेका छन्।
यही घटनामा पर्सा प्रहरीले पक्राउ गरेको व्यवसायी गिरधारीलाल अग्रवाललाई जिल्ला न्यायाधिवक्ताको कार्यालयले मुद्दा मुतल्वी राखेर रिहा गरेको थियो।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्