वीरगंज – एक ऐतिहासिक सन्दर्भ

175

बासुदेवलाल दास, पीएच.डी.

नेपालको प्रदेश नं २ अन्तर्गतको एकमात्र महानगरपालिका वीरगंज हो। यस नगरको स्थापना नेपालका राणा प्रधानमन्त्री वीरशमशेरको नामबाट आजभन्दा लगभग सवा सय वर्ष पहिले भएको थियो। ब्रिटिश महारानी भिक्टोरियाको हीरक जन्मोत्सवको उपलक्ष्यमा प्रधानमन्त्री वीरशमशेरलाई नाइट ग्रान्ड कमान्डर अफ दि स्टेट अफ इन्डिया नामक मानद उपाधिबाट विभूषित गरिएको सन्दर्भलाई स्मरणीय बनाउन उनको नामबाट वीरगंज शहरको स्थापना सन् १८९७ मा गरिएको भनिन्छ। यसको उल्लेख एलएफ स्टीलरको ‘नेपाल ः ग्रोथ अफ ए नेशन’ नामको आधारमा घनश्याम भट्टराईले आफ्नो वीरगंजको ऐतिहासिक रूपरेखा भन्ने पुस्तकमा गरेका छन्। परन्तु यस स्थानलाई ऐतिहासिक सन्दर्भमा हेर्दा प्राचीनकालको विदेह राज्यको अवस्थितिसम्म पुग्नुपर्ने हुन्छ। यस क्षेत्रको ऐतिहासिकतालाई यो आलेखमा प्राचीन तथा आधुनिक गरी दुई भागमा प्रस्तुत गर्दै सङ्क्षेपमा चर्चा गरिएको छ।
प्राचीन भाग ः
जनकवंश ः पौराणिक साहित्यमा उल्लेख भए अनुसार यो भूखण्ड विदेह राज्यभित्र पर्दथ्यो। बृहद्विष्णुपुराण ग्रन्थको मिथिलाखण्डमा उल्लेख भए अनुसार विदेह राज्यको सिमाना पूर्वमा कोशी नदी, पश्चिममा सदानीरा नदी, उत्तरमा हिमालय र दक्षिणमा गङ्गा नदी भनिएको छ। यसमा भनिएको सदानीरा नदी पर्सा जिल्लाको पश्चिमी सिमानामा प्रवाहित वर्तमान नारायणी नदी हो, जसको अर्को नाम शालग्रामी अथवा शालिग्रामी नदी पनि हो। यस नदीमा शालिग्राम पाइने हुनाले यसको यो नाम दिइएको हो। शालिग्रामलाई भगवान् विष्णुको स्वरूपमा ठानेर पूजा गर्ने परम्परा रहेको छ। यस भूभागलाई विदेह, तिरहुत र मिथिला गरी तीनवटै नामबाट सम्बोधित गरिएको पाइन्छ। यसमध्ये विदेह नामको उल्लेख सर्वप्रथम शतपथब्राह्मण ग्रन्थमा उपलब्ध हुन्छ। तीरभुक्ति वा तिरहुत परवर्ती नाम हो। मिथिला नाम तिरहुतभन्दा पुरानो भनिन्छ। प्राचीनकालमा विदेहका शासक जनक राजाहरूको शासनकाल अनुमानित ३००० ईसापूर्वदेखि अनुमानित ६०० ईसापूर्वसम्म रहेको मानिन्छ। वाल्मीकीय रामायण एवं विष्णुपुराण ग्रन्थहरू अनुसार सिरध्वज जनक रामायण महाकाव्यकी सीताका पिता थिए। यस जनकवंशका अन्तिम राजा कृति वा कराल जनक भएका थिए। यसका साथै विदेहका राजतन्त्रात्मक शासन व्यवस्थाको पनि पतन भएको थियो।
गणतन्त्रकाल ः विदेहमा राजतन्त्रको पतनपश्चात् यस क्षेत्रमा गणतन्त्रको स्थापना भएको थियो, जसको अवधि अनुमानित ईसापूर्व छैटौं शताब्दीदेखि ईसापूर्व चौथो शताब्दीसम्म मानिन्छ। यस प्रकार विश्वको इतिहासमा यस भूभागमा नै पहिलो गणतन्त्रात्मक व्यवस्था स्थापित भएको थियो। श्यामनारायण सिंह लिखित ‘हिस्ट्री अफ तिरहुत’ पुस्तक अनुसार यस कालमा बज्जिमहासङ्घको एउटा भागको रूपमा विदेह क्षेत्र आइसकेको तथा शक्तिको केन्द्र अब वैशालीमा स्थापित भएको थियो। वज्जिमहासङ्घमा सर्वाधिक महत्वपूर्ण कुल लिच्छवि थियो। परवर्तीकालमा मगधका शासक अजातशत्रुद्वारा वज्जिसङ्घ पराजित भयो एवम् यस क्षेत्रमाथि मगधको प्रभुत्व स्थापित भएको थियो। यसपछि लिच्छविहरूको एउटा शाखा काठमाडौं उपत्यकातिर लागेका थिए। यिनै लिच्छविहरू नेपालको इतिहासमा  ऐतिहासिक महत्व बोकेको पहिलो राजवंशको रूपमा स्थापित रहेका छन्।
बाह्य शासन ः बज्जिमहासङ्घको पतन उपरान्त यस क्षेत्रको इतिहासमा महत्वपूर्ण परिवर्तनको सूत्रपात भयो तथा साम्राज्यवादी युगको जन्म भयो। गणतन्त्रात्मक शक्ति समाप्त भइसकेको कारण मगधका शासक अजातशत्रुको राजधानी पाटलिपुत्र (पटना) महत्वपूर्ण केन्द्रको रूपमा स्थापित भयो। अब गङ्गा र हिमालयको मध्यवर्ती प्रदेश मगधको अधीनस्थ भइहाल्यो। उपेन्द्र ठाकुर लिखित ‘मिथिलाक इतिहास’ पुस्तकमा उल्लेख भए अनुसार अजातशत्रुको उपरान्त शिशुनागवंश, नन्दवंश, मौर्यवंश, शुंगवंश, काण्ववंश, कुषाणवंश, नाग तथा वकाटकवंश, गुप्तवंश, वद्र्धनवंश इत्यादिको प्रभाव कुनै न कुनै रूपमा यस भूभागमाथि रहेको थियो। यस भूभाग अन्तर्गतका रौतहटदेखि काठमाडौंको हाँडीगाउँको उत्खननमा समेत कुषाण–मुद्राहरू पाइएका कुरा नेपालका पुरातत्वविद् श्री तारानन्द मिश्र बताउँछन्। ईस्वी सन्को सातौं शताब्दीमा कन्नौजका शासक हर्षवद्र्धनको पतन भएपछि यो क्षेत्र तिब्बती आक्रमणबाट समेत आक्रामित भएको थियो। तदुपरान्त यस भूभागमाथि पाल, गुर्जर तथा चन्देल वंशका प्रभाव रहेको थियो। यस प्रकारको अस्थिर राजनीतिक परिवेश तथा विभिन्न वंशका शासकहरूको अधीनताको स्थिति ईसापूर्व चौथो शताब्दीदेखि ईस्वीयको एघारौं शताब्दीको मध्यकालसम्म रहेको थियो। सन् १०९७ ई.मा नान्यदेवद्वारा मिथिला वा तिरहुत क्षेत्रमा कर्णाट प्रभुत्वको स्थापनाबाट यस क्षेत्रमा एउटा सशक्त राज्यको स्थापना भएको थियो।
कर्णाट शासन ः सिपिएन सिन्हा लिखित ‘मिथिला अन्डर दि कर्णाटाज’ पुस्तक अनुसार ईस्वीय सन्को एघारौं शताब्दीको उत्तराद्र्धमा नान्यदेवद्वारा कर्णाटवंशीय शासनको स्थापनाबाट यस क्षेत्रमा नवयुगको सूत्रपात भयो। कर्णाटवंशको अवधि सन् १०९७ ई.देखि सन् १३२४ई.सम्म रहेको थियो। यस अवधिमा मिथिला आफ्नो उपलब्धि तथा गौरवलाई पुनः स्थापित गर्न सकेको थियो। कर्णाटवंशका संस्थापक नान्यदेव थिए, जसले सिम्रौनगढ (हाल बारा जिल्ला)मा शक संवत् १०१९ श्रावणमास शुक्लपक्ष सप्तमीतिथि स्वाती नक्षत्र सिद्धि योग सिंह लग्न शनिवारका दिन वास्तुकार्य सम्पन्न गरेका थिए। मिथिलामा नान्यदेवको शासनको स्थापनासँगै बङ्गाल क्षेत्रमा सेनवंशको शासन स्थापित भएको थियो, जसका संस्थापक सामन्तसेन पनि नान्यदेव जस्तै चालुक्यवंशी शासकको उत्तरी भारतीय क्षेत्रको अभियानमा संलग्न रहेका थिए। बङ्गालका सेन शासकहरू पनि कर्णाटक सम्बद्ध भएकाले यी दुवै शक्तिको मध्य सम्पर्क रहने गर्दथ्यो। बङ्गालका शासक लक्ष्मणसेनको प्रभाव मिथिला क्षेत्रमाथि रहेको कारणले मिथिलामा लक्ष्मण–संवत् प्रचलित भएको भनिन्छ। नान्यदेव मिथिला क्षेत्रमा राज्य स्थापना गरेपछि काठमाडौं उपत्यकामाथि आक्रमण गरी त्यहाँ पनि आफ्नो प्रभुत्व स्थापित गरेका थिए। नान्यदेवका उपरान्त मिथिलामा मल्ल देव, गङ्ग देव, नरसिंह देव, रामसिंह देव, शक्तिसिंह देव तथा हरिसिंह देवले शासन गरेका थिए। हरिसिंह देवको सेनाद्वारा काठमाडौं उपत्यकामाथि आक्रमण हुँदा त्यहाँका राजा जयतुङ्ग मल्लले मिथिलाका सेनापति चण्डेश्वर ठाकुरका सबै शर्त स्वीकार गरी आफ्नी कन्या देवलक्ष्मीदेवीको विवाह राजा हरिसिंह देवसित गरिदिएका थिए। यसपछि सन् १३२४ ई.मा दिल्लीका सुलतान ग्यासुद्दीन तुगलकद्वारा राजधानी सिम्रौनगढमाथि आक्रमण गरिएपछि मिथिलामा हरिसिंह देवको शासन समाप्त भयो। हरिसिंह देव सपरिवार काठमाडौं उपत्यकातिर पलायन हुँदा बाटोमा नै उनको मृत्यु भएपछि उनकी रानी देवलक्ष्मीदेवी (देवलदेवी) माइत भक्तपुरमा पुगेकी थिइन्। तिनको शासकीय प्रभाव धेरै वर्षसम्म त्यहाँ स्थापित रहेको विषय ज्ञानमणि नेपाल लिखित ‘नेपालको पूर्वमध्यकालको इतिहास’ पुस्तकबाट थाहा पाइन्छ। कर्णाटकालीन मिथिलाको राजनीतिक, साहित्यिक तथा सांस्कृतिक प्रभाव काठमाडौं उपत्यकासम्म परेको थियो।
ओइनवार वंश ः कर्णाटवंशको पतनपश्चात् यस भूभागमा सुलतानको प्रभाव स्थापित भएको थियो। यसपछि सुलतानद्वारा सन् १३५३ ई.तिर ओइनवारवंशी ब्राह्मण कामेश्वर ठाकुरलाई यस क्षेत्रको शासकको रूपमा स्थापित गरिएको थियो। ओइनवार वंशीय शासकहरूको राजधानी यस क्षेत्रभन्दा पर दरभङ्गातिर रहने गरेको थियो। वस्तुतः दरभङ्गा स्थानको महत्व सलतनतकालमा नै स्थापित भइसकेको थियो। ओइनवार शासकहरूको समुचित ध्यानको अभावमा यस भूभागमा स्थानीय सामन्तहरूको प्रभाव स्थापित हुन गयो, जसको परिणामस्वरूप चम्पारणमा इन्द्रसेन तथा पृथ्वीनारायणसिंह देव राजाका रूपमा स्थापित भएका थिए। यसरी नै चम्पारण अन्तर्गत नै बेतियामा उग्रसेनले राज्य स्थापित गरेका थिए। यी कुराहरूको उल्लेख रामप्रकाश शर्माको ‘मिथिला का इतिहास’ नामक पुस्तकमा गरिएको छ।
सेनवंश र त्यसपछि ः यसै सिलसिलामा ईस्वीय सन्को सो–हौं शताब्दीको प्रारम्भतिर नै मकवानपुरमा सेनवंशीय शासकको राज्य स्थापित हुँदा यो भूभागमाथि यिनीहरूको प्रभाव कायम भएको बुझिन्छ। वास्तवमा त्यस बखत अहिलेको जस्तो राज्यको सिमाना स्पष्टरूपमा निर्धारित हुने नगरेकाले अमूक भूभाग अमूक राज्यको हो भन्ने किटानीसाथ भन्न सकिने अवस्था थिएन। वीरगंज क्षेत्रको पनि यस्तै अवस्था थियो। यो भूभाग मकवानपुर र बेतिया राज्यहरूको सीमाञ्चल क्षेत्र थियो। यस सन्दर्भमा बेतिया राज्य अन्तर्गतको अलौं थानाका थानेदार गङ्गाराम ओझाद्वारा मकवानपुरतिरको मौजे अठराहाका आसामीहरूमाथि तथा चउतरा–सिम्रौनगढ थानाका थानेदार भूली राउतद्वारा यतातिरको मौजे भगवानपुरका आसामीहरूमाथि गरिएको व्यवहारबारे मकवानपुरका राजा मानिक सेनले बेतियाका राजा धु्रवसिंहलाई सन् १७२८ ई.मा लेखेका पत्र योगी नरहरिनाथद्वारा सम्पादित ‘इतिहास प्रकाशमा सन्धिपत्र सङ्ग्रह, भाग १’ नामक ग्रन्थमा प्रकाशित रहेको छ। पछि सन् १७६२ ई.मा गोरखाली सैन्यद्वारा मकवानपुर राज्यमाथि आधिपत्य स्थापित भएपछि यस अन्तर्गतका समस्त भूभागका साथै वीरगंज क्षेत्र पनि गोरखा शासनको अधीनमा आएको थियो। यसै परिप्रेक्ष्यमा ब्रिटिश इस्ट इन्डिया कम्पनीसितको युद्ध उपरान्त सन्् १८१६ ई.मा सुगौली सन्धि भएपछि दशगज्जा सिमानाको निर्धारण गरिए अनुसार अलौं, सिम्रौनगढको मुख्य भाग एवं अहिलेको वीरगंज क्षेत्रसमेत गरी सबै भूभाग नेपाल राष्ट्रको सिमानाभित्र समेटिएर सीमाञ्चल क्षेत्रको रूपमा विद्यमान रहेका छन्।
आधुनिक भाग
सन् १८९७ ई.मा वीरगंज नामकरणसहित शहर स्थापित भएर अलौंमा रहेका सरकारी कार्यालयहरू यहाँ सारिएपछि यस स्थानको महत्व बढ्न गएको थियो। यसभन्दा पहिले यस भूभागमा अनेक गाउँहरू रहेका थिए। यसमध्येको प्रमुख गाउँ गहवा थियो, जो अहिले वीरगंजको केन्द्रमा रहेको छ। यो क्षेत्र ब्रिटिशकालीन भारतका प्रधान शहरहरू कोलकाता र पटनादेखि नेपालको राजधानी काठमाडौं जाने सीधा मार्गमा पर्ने तथा काठमाडौंबाट यसको दूरी पनि कम रहनुका साथै ब्रिटिश भारतीय सरकारद्वारा मोतीहारी–सुगौली–गोरखपुर रेलवे लाइनको विस्तार गरेपछि यो भूभाग पायक पर्ने भएकोले समेत यसको महत्व बढेको थियो। ऐतिहासिकरूपमा विचार गर्दा पहिलेदेखि नै यो क्षेत्र काठमाडौं जाने प्रमुख मार्ग रहेको थियो। यस क्षेत्रमा पर्ने गोरपसरा, पर्सागढी जस्ता स्थानहरूको उल्लेख पृथ्वीनारायण शाहको दिव्योपदेश तथा एफबी हेमिल्टनको ‘एन अकाउन्ट अफ दि किङ्गडम अफ नेपाल’ नामक पुस्तकमा समेत महत्वका साथ गरिएको पाइन्छ। ब्रिटिश इस्ट इन्डिया कम्पनीसित नेपालको युद्ध हुँदा यस क्षेत्रमा अनेक अङ्ग्रेज सैनिक हताहत भएका थिए। अतः जनरल मार्लेको नेतृत्वमा रहेको अङ्ग्रेज फौज यसभन्दा अगाडि उत्तरतिर बढ्न सकेको थिएन। प्रथम राणा प्रधानमन्त्री जङ्गबहादुरका समयमा यसै क्षेत्रको अलौं स्थानबाट सन् १८४७ ई.मा राजा राजेन्द्रवीरविक्रम शाहलाई कैद गरी लगिएको थियो, जसलाई नेपालको इतिहासमा अलौंपर्वको नामले उल्लेख गरिएको छ।  
राणा शासनकालमा वीरगंज एउटा प्रमुख प्रशासनिक केन्द्रकोे रूपमा विकसित भएको थियो। यस स्थानमा बडाहाकिमको नियुक्ति गरिएको थियो। पर्सादेखि सर्लाहीसम्मका जिल्लामाथि यसै स्थानबाट प्रशासकीय नियन्त्रण राखिने गरिएको थियो। यहाँ विभिन्न सरकारी कार्यालय स्थापित गरिएका थिए एवं रेलमार्ग, हवाई मैदान, सडक आदिको विकास भएको थियो। वीरगंजको ऐतिहासिक महत्वको चर्चा गर्दा विसं २००७ सालको (सन् १९५० ई.) क्रान्तिबारे उल्लेख आवश्यक हुन आउँछ। सन् १९५० ई.को नोभेम्बरमा राणाशासन विरोधी मुक्तिसेनाद्वारा थीरबम मल्ल र पूर्णसिंह ठाकुरको नेतृत्वमा वीरगंजको ब्यारेकमाथि आक्रमण गरी बडाहाकिमलाई नियन्त्रणमा लिएर जनसरकारको घोषणा गरिएको थियो। परन्तु थीरबम मल्लको गोली लागेर मृत्यु भएपछि एवं काठमाडौंबाट पठाइएको सेनाद्वारा मुक्तिसेनाको अभियान विफल पारिएपछि वीरगंजको नियन्त्रण पुनः राणा सरकारको हातमा पुगेको थियो।
वीरगंज एउटा ऐतिहासिक महत्वको शहर हो। यहाँको बसपार्कदेखि उत्तरतिर रहेको भिस्वा ढिस्को मध्यकालीन किल्लाको अवशेषको रूपमा रहेको छ, जहाँ पीपलको बोटमुनि सिंहवाहिनी भगवतीको मूर्ति स्थापित मन्दिर अद्यापि विद्यमान छ। विसं २०३५ मा लामा भिक्षु श्रीबागेन्द्र वज्रले यो स्थान बौद्ध स्तूप नै हो भनेर श्री ५ महाराजाधिराज सरकारका जुनाफमा बिन्ती चढाइ सरकारको हुकुम प्रमाङ्गी आदेश भएबमोजिम विसं २०३७ चैत १२ गते वीरगंज बौद्ध समितिको नाउँमा यो स्तूपको १ बिघा १७ कट्ठा १ धुर जग्गा दर्ता भएको उल्लेख जयविक्रम शाह लिखित ‘वीरगंजको नालीबेली’ पुस्तकमा उल्लेख गरिएको छ। यस्तै, महानगरको पश्चिमी भागमा रहेको विन्ध्यवासिनी भगवतीको स्थान श्री ५ रणबहादुर शाहबाट स्थापित रहेको भनिन्छ। यहाँबाट पूर्व बारा जिल्लामा रहेको गढीमाई स्थान पनि ऐतिहासिक महत्वको छ, जहाँ पञ्चवर्षीय विशाल मेला लाग्ने गर्दछ। यस प्रकार नेपालको मुख्य प्रवेशद्वारको रूपमा स्थापित मुलुककै एउटा प्रमुख औद्योगिक र व्यापारिक नगरको रूपमा रहेको वीरगंज क्षेत्रको ऐतिहासिक सन्दर्भका केही कुरा यस आलेखमा प्रस्तुत गरिएको छ। यस विषयमा अझ बढी अध्ययन र अनुसन्धान गर्नुपर्ने आवश्यकता रहेको छ, जसबाट यस क्षेत्रको ऐतिहासिक महत्व बारे जानकारी उपलब्ध हुन सकोस्। (त्रिभुवन विश्वविद्यालय, ठाकुर राम बहुमुखी क्याम्पस, वीरगंजको इतिहास शिक्षण विभागका अवकाशप्राप्त सहप्राध्यापक सीताराम शरणको सम्मानमा गत मङ्सिर १९ गते शुक्रवार आयोजित प्राज्ञिक गोष्ठीमा प्रस्तुत आलेख।)

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्