विद्यालयमा “विद्यालय सरकार” एउटा नौलो प्रयोग

98

अनन्तकुमार लाल दास
    नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक, भौगोलिक विविधतायुक्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक देश हो। देशको शासन व्यवस्थाका मूल्य र मान्यताहरूलाई लोकतान्त्रिक आचरण भनिन्छ। लोकतान्त्रिक आचरणले लोकतन्त्रलाई संस्थागत गर्न सहयोग गर्छ। लोकतान्त्रिक समाजमा भ्रष्टाचार हुँदैन। त्यहाँ सरकारले पूर्वाधार विस्तार, रोजगारको अवसर र गरीबी निवारणका लागि सक्दो प्रयास गर्दछ। सबैको लागि समान अवसर उपलब्ध हुन्छ। यस आधारमा नेपालको विश्लेषण गर्दा यहाँ लोकतान्त्रिक आचरणको अभाव रहेको पाइन्छ। भ्रष्टाचारको बोलबाला, महँगीमाथि नियन्त्रण नहुनु, रोजगारको अभावमा युवा पलायन हुनु, अर्थतन्त्रलाई बलियो बनाउने मजबुत आधारका बावजूद देशको प्रतिव्यक्ति आयमा वृद्धि नहुनु, पढेलेखेका मानिसले पनि रोजगार नपाउनु र श्रमको सम्मान नगर्नुजस्ता कुरामा सुधार नआउन्जेल सुखी र समृद्ध नेपालको कल्पना साकार हुन सक्दैन।
    वर्तमान परिवेशमा लोकतान्त्रिक आचरणको अवधारणालाई साकार पार्ने काम राजनीतिक पक्षबाट मात्र सम्भव छैन। यसको लागि विद्यालयमा नयाँ प्रयोगको खाँचो छ। योग्य र प्रतिस्पर्धी नागरिक तयार गर्ने काम विद्यालयको हो। वर्तमान शिक्षा पद्धतिमा विद्यालयदेखि नै लोकतन्त्रको अभ्यास सही तरीकाले गरियो भने यो जीवन पद्धति बन्न सक्छ। जबसम्म विद्यालयको शिक्षण पद्धति, समाजमा त्यसको भूमिका तथा प्रभाव लोकतान्त्रिक हुँदैन तबसम्म राष्ट्रमा लोकतन्त्र सबल हुन सक्दैन। नेपाली समाजलाई गतिशील र सभ्य बनाउन वर्तमान शिक्षा नीतिमा सामान्य सुधार र परिमार्जनले मात्र पुग्दैन। यसमा पूर्ण परिवर्तन आवश्यक छ किनभने लोकतन्त्रको सफलता त्यहाँ बसोवास गर्ने नागरिकमाथि निर्भर हुन्छ।
    विद्यालय आफैंमा लोकतन्त्रको पाठ सिकाउने थलो हो। यस भित्रको वातावरण लोकतन्त्रमैत्री हुनुपर्दछ। विद्यालय परिसरभित्र लोकतान्त्रिक परिवेश छ/छैन, यसको लेखाजोखा वा मूल्याङ्कन गर्ने अभिभारा प्रधानाध्यापकको हो। लोकतन्त्र जीवन पद्धति हो भने यो व्यवहारको सिकाइ विद्यालयबाटै हुनुपर्छ। विद्यार्थीहरूलाई जागरूक, कर्तव्यनिष्ठ र उत्तरदायी नेतृत्व प्रदान गर्नको लागि हरेक विद्यालयमा ‘विद्यालय सरकार’ गठन गर्नुपर्छ। यसबाट विद्यालय तहमा विद्यार्थीहरूमा राजनैतिक जागरूकता, उत्तरदायित्वको भावना र एक परस्पर सहयोग गर्ने शैली विकसित हुन्छ।


विद्यालय सरकारको उद्देश्य
    ‘विद्यालय सरकार’को पहिलो उद्देश्य विद्यार्थीहरूमा नेतृत्व क्षमताको विकास गरेर देशको लागि राम्रो, चरित्रवान, परस्पर सहयोगी सामाजिक कार्यकर्ता तयार गर्नु हो। यसैगरी यसको दोस्रो उद्देश्य विद्यार्थीहरूबीच परस्पर सम्बन्ध स्थापित गर्नु हो। यसका साथै विद्यालय विकासलाई ध्यानमा राखी विद्यालय व्यवस्था र कार्यक्रमहरूमा सहयोग गर्नु यसको तेस्रो उद्देश्य हो। चौथो उद्देश्य अन्तर्गत सबै विद्यार्थीद्वारा विद्यालय नियमको पालना गर्न लगाउनु र अनुशासनमा बसेर विद्यालयको गरिमा कायम राख्दै विद्यार्थीहरूको उचित चाहनालाई प्रधानाध्यापक समक्ष पु–याउनु र सोको पूर्ति गर्नमा सहयोग गर्नु हो। यसको पाँचौं उद्देश्य विद्यार्थीहरूमा जागरूकता, कर्तव्यनिष्ठा र उत्तरदायी हुने भावना विकसित गर्नु हो।
विद्यालय सरकारको कार्य
    यसको पहिलो काम विद्यालयमा समय–समयमा हुने विभिन्न प्रतियोगिताहरू जस्तै वाद–विवाद, चित्रकला, वक्तृत्वकला, निबन्ध र कविता लेखन आदिको आयोजनामा सहयोग गर्नु हो। यसबाहेक अन्य कार्यक्रम जस्तै शहीद दिवस, प्रजातन्त्र दिवस, शिक्षा दिवस, बालदिवस, शिक्षक दिवस आदिको आयोजनमा पनि सहयोग गर्नु हो। विद्यालय सरकारको अन्य कार्यक्रममा श्रमदान कार्यक्रम सञ्चालन गर्नु पनि हो। यस अन्तर्गत विद्यालय र विद्यालय वरिपरि सरसफाइ, कुनै महत्वपूर्ण स्थलको सरसफाइ आदि हो। यसबाहेक विद्यालयमा हुने दैनिक कार्य, जस्तै ः प्रार्थना सभा, विद्यार्थीहरूको नियमित स्वच्छता परीक्षण, विद्यालयमा हुने खेल, टिफिनको बेला खाजा आदिको लागि बनाइने कार्यक्रममा सहयोग प्रदान गर्नु हो। विद्यालय परिसरमा फोहर हुन नदिने, पानी खाने ठाउँ सफा राख्ने र पानी खेर जान नदिनेलगायत विलम्ब गरी विद्यालय आउने विद्यार्थीहरूको ध्यान राख्ने कार्य पर्दछ। यसैगरी विद्यालयमा आयोजित हुने वार्षिक टुर्नामेन्ट, विज्ञान मेला, बालमेला, उत्सव, जयन्ती, चाडपर्व, शैक्षिक भ्रमण आलि कार्यमा सघाउ पु–याउनु हो।
विद्यालय सरकारका पदाधिकारीहरू
    विद्यालय सरकारमा अध्यक्ष, उपाध्यक्ष, प्रधानमन्त्री, साहित्यमन्त्री, स्वास्थ्यमन्त्री, अनुशासनमन्त्री, खेलमन्त्री, सांस्कृतिकमन्त्री, श्रममन्त्री र वित्तमन्त्री आदि हुन्छन्। यस मन्त्रिमण्डलमा सामान्यतया कक्षा ६ देखि १० वा १२ सम्मका विद्यार्थीलाई सामेल गराउन सकिन्छ।
विद्यालय सरकारको चुनाव
    यस प्रक्रियामा विद्यालयका कक्षा ६ देखि १० वा १२ सम्मका विद्यार्थीले भाग लिन पाउँछन्। मतदान प्रक्रियाबाट विद्यार्थीहरूले आफूले रुचाएको मन्त्री छनोट गर्छन्। चुनावी प्रक्रिया सांसदहरूलाई छनोट गर्न हुने निर्वाचन प्रक्रिया अर्थात् पहिलो हुने निर्वाचित हुने मतदान प्रक्रियाजस्तै हुनुपर्छ जसमा विद्यार्थीहरूले आफ्नो मत मतपेटीमा खसाल्छन् र आफूलाई मनपरेको मन्त्री छनोट गर्छन्।
    विद्यालय सरकारको कार्यकाल एक वर्ष मात्र हुनेछ र छानिएका मन्त्रीहरूलाई विद्यालय प्रमुख अर्थात् प्रधानाध्यापकले शपथ ग्रहण गराउँछन्। विद्यालय सरकारका मन्त्रीहरूको कार्यमा सहयोग गर्न विद्यालयका शिक्षकहरू सल्लाहकारको भूमिका निर्वाह गर्छन्। प्रत्येक मन्त्रीको लागि बेग्लाबेग्लै सल्लाहकार हुन्छन्।
पदाधिकारीहरूको कार्य
    १) अध्यक्ष ः विद्यालय सरकारको बैठक अर्थात् विद्यालय संसद्को अध्यक्षता गर्ने, आफ्नो सहयोगी  मन्त्रीहरूको कार्यको मूल्याङ्कन र मार्गनिर्देशन र सल्लाह दिने र सम्पूर्ण विद्यालय सरकारको कार्यभार सम्भाल्ने।
    २) उपाध्यक्ष ः अध्यक्षको कार्यमा सहयोग गर्नु र अध्यक्षको अनुपस्थितिमा कार्यभार सम्भाल्नु।
    ३) प्रधानमन्त्री ः विद्यालय सरकारको सम्पूर्ण कामको लेखाजोखा राख्ने, सरकारले गरेको कार्यको प्रतिवेदन तयार गर्ने र वार्षिक प्रतिवेदन पेश गर्ने।
    ४) साहित्य एवं सांस्कृतिकमन्त्री ः सबैखाले साहित्यिक एवं सांस्कृतिक कार्यक्रमको आयोजना गर्ने र त्यसको व्यवस्थापन गर्ने यस विभागको दायित्व हुनेछ।
    ५) खेलमन्त्री ः विद्यालयमा आयोजना हुने खेल र प्रतियोगिताहरूको प्रबन्ध र सञ्चालन गर्नुको साथै स्वास्थ्य रक्षा र शारीरिक स्वच्छतामाथि ध्यान दिने।
    ६) श्रममन्त्री ः यस विभागको काम श्रम, स्वास्थ्य, सेवा एवं सफाइ हुनेछ। यस अन्तर्गत विद्यालय परिसरको सरसफाइ, पर्यावरण, वृक्षारोपणजस्ता कार्यमा सहयोग गर्ने हुन्छ।
    ७) वित्तमन्त्री ः यस विभागको काम अर्थसम्भ्बन्धी मामिला हेर्ने हो। कार्यक्रमको लागि वार्षिक बजेट तयार गरी त्यसलाई अनुमोदन गराउने र भएको कार्यक्रमको आय–व्ययको हरहिसाब राख्ने।
    ८) अनुशासनमन्त्री ः प्रार्थनासभा, जन्मजयन्ती, चाडपर्वको बेला अन्य कार्यक्रममा मन्त्रीहरूको सहयोगमा अनुशासन कायम गर्ने कार्य सम्पादन गर्ने।
    मन्त्रिमण्डलको गठन भएपछि एक दिवसीय वा रात्रिकालीन शिविरको आयोजना गर्नुपर्छ जसमा विद्यालय सरकारका सबै पदाधिकारी, सल्लाहकार शिक्षकहरू, कक्षा मोनिटर र विद्यालय प्रधानाध्यापकको अनिवार्य उपस्थिति हुनुपर्छ। यस कार्यक्रममा सबै मन्त्रीले आफ्नो विभागको कार्य अनुसार वार्षिक योजना तयार गरेर ल्याउँछन् र शिविर सभामा प्रस्तुत गर्छन्। त्यसमाथि सामूहिक छलफल हुन्छ र पारित कार्ययोजना अनुसार वर्षभरि आआफ्नो कार्यको विधिवत सञ्चालन गर्छन्।
    यस नयाँ प्रयोगले विद्यार्थीहरूमा लोकतान्त्रिक आचरणको ज्ञान हुन्छ र पढाइ सकेपछि जब उनीहरू आफ्नो क्षेत्रमा जान्छन् उनीहरूमा भएको लोकतान्त्रिक आचरणले देश विकासलाई टेवा पुग्छ र बिस्तारै हाम्रो देश सुखी र समृद्ध हुन्छ।  
    तर के विद्यालयले आफ्नो भूमिका बुझ्न सकेको छ ? के अभिभावकहरूले विद्यालयलाई दिइनुपर्ने महत्व दिन सकेका छन् ? के राजनीतिकर्मीहरूले पाठशाला र रङ्गशालामा अन्तर बुझेका छन् ? जबसम्म समाजको जागरूक पक्षले विद्यालयलाई लोकतन्त्रको थलोको रूपमा मान्ने, जान्ने र लिने कार्य गर्दैन तबसम्म धरातलमा लोकतन्त्रको जग कमजोर नै रहन्छ। अरूलाई विद्यालयको उपादेयता सिकाउने शिक्षकले अन्तरात्मादेखि नै विद्यालयलाई लोकतन्त्रको थलो मान्नु अपरिहार्य छ। के अहिलेका शिक्षकहरू त्यसका लागि तयार छन् ? लोकतन्त्र भनेको आदेश मात्र होइन, व्यवहार पनि हो। हामी शिक्षक स्वयं विचार र व्यवहारमा लोकतन्त्रमुखी हुनैपर्छ। हाम्रो निष्ठा र गन्तव्य लोकतान्त्रिक हुनैपर्छ अनि मात्र विद्यालयमा ‘विद्यालय सरकार’को मान्यताले मूर्तरूप ग्रहण गर्न सक्छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्