अवैध ढुङ्गासहित टिपर र चालक नियन्त्रण

0
46


प्रस, निजगढ, २८ मङ्सिर/
    चुरे क्षेत्रको खोलाबाट अवैधरूपमा चोरी गरी ल्याएका ढुङ्गासहित एकवटा टिपर र त्यसका चालकलाई निजगढ प्रहरीले नियन्त्रणमा लिई डिभिजन वन कार्यालय सिमरालाई बुझाएको छ।
    नियन्त्रणमा पर्नेमा ना.८ख ४७२४ नम्बरको टिपर र त्यसका चालक चितवन हरपुर–४ का ३९ वर्षीय दलबहादुर विक रहेका छन्। चुरे क्षेत्रको भमरा खोलामा व्यक्तिले सङ्कलन गरी राखिएका ढुङ्गालाई अवैधरूपमा लैजाने क्रममा टिपर र चालक पक्राउ परेका हुन्।
    सूचनाको आधारमा शनिवार साँझ करीब ७ बजे इलाका प्रहरी कार्यालय निजगढको टोलीले नियन्त्रणमा लिई वन कार्यालयमा बुझाएको इप्रका निजगढका निमित्त प्रमुख एवं प्रहरी नायब निरीक्षक सञ्जय यादवले जानकारी दिए। कोल्हवी नपा–२ का २८ वर्षीय राजु लामाले टिपर भाडामा लिई ढुङ्गा ओसार्न प्रयोग गरेका थिए।
    इलाका प्रहरी कार्यालय निजगढमा टिपर छुटाउन आएका लामाले टिपर वन कार्यालयमा प्रहरीले पठाउने निश्चित गरेपछि उनी प्रहरी कार्यालयबाट बाहिरिएका थिए। चुरे क्षेत्रका खोला, खहरेका ढुङ्गा निजगढ नपा वडा नं ५ र ६ को जनजागृति सुन्दर सामुदायिक वन उपभोक्ता समूह र जनसृजनशील सामुदायिक वन उपभोक्ता समूहको भमरा खोला हँुदै ट्याक्टर र टिपरमा ढुङ्गा चोरी तस्करी हँुदै आइरहेको छ।
    शनिवार राति पाँचवटा टिपरमा  एकवटा स्काभेटरले अवैध ढुङ्गा लोड गरिरहेको सूचना पाए पनि प्रहरीले एकवटा मात्र टिपरलाई पक्राउ गरेको थियो। ढुङ्गा लोड टिपर खोलामा फसेपछि खोलामैं सो ढुङ्गा खसालिएकोे थियो।
    केही स्थानीय नै चुरे क्षेत्रको ढुङ्गा चोरी, तस्करी, सङ्कलन गरी बिक्री गर्न पल्कँदै आइरहे पनि स्थानीय सामुदायिक वन समूह, वन कार्यालय बेखबर छन्।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्