ठोरीमा श्रीमद्भागवत सप्ताह शुरू

202

प्रस, ठोरी, २७ मङ्सिर/
पर्साको ठोरी गापा–३ रामनगरमा शनिवारदेखि अखण्ड श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ शुरू भएको छ। गणेश तथा महालक्ष्मी उपभोक्ता समिति रामनगरको आयोजनामा सात दिनसम्म चल्ने ज्ञान महायज्ञको प्रमुख वाचक युवा पण्डित उज्ज्वल न्यौपाने (शास्त्री) र उपवाचक पण्डित गणेश न्यौपाने छन्। अल्पायुमा कसैले मृत्युवरण गर्न नपरोस, भड्किएको मृतात्मा र पितृ उद्धार कार्य तथा गणेश मन्दिर निर्माणार्थ महायज्ञ आयोजना गरिएको र आगामी पुस ४ गतेसम्म सञ्चालन हुने बताइएको छ।
महायज्ञको उद्घाटन गर्दै कार्यक्रममा प्रमुख अतिथि सांसद लक्ष्मणलाल कर्णले संस्कृत भाषा अध्ययन गर्दा संसारका सबै भाषाको ज्ञान प्राप्त गर्न सकिने बताए।
सांसद कर्णले हिन्दू धार्मिक ग्रन्थ वेदबाट नै विज्ञानको विकास भएको चर्चा गर्दै धार्मिक कार्यक्रमले मानिसमा निरन्तर सकारात्मक सोचको विकास गर्ने बताए। उनले मृतात्माको मात्र नभई जीवित आत्माको शान्तिको लागि पनि महायज्ञ फलदायी हुने विचार व्यक्त गरे।
जिल्ला समन्वय समिति पर्साका उपसभापति ठाकुरप्रसाद न्यौपानेले रामनगरकै युवा पण्डितले थालेको धार्मिक अभियानमा साथ दिन सबैसँग आग्रह गरे। उनले धार्मिक कार्यक्रमले सामाजिक सद्भाव बढाउने बताए। जसपाका केन्द्रीय सदस्य रामचन्द्र पडितले समाज आधुनिक बन्दै जाँदा संस्कृति हराउन थालेको भनी चिन्ता व्यक्त गरे। जसपा नेता जरी लामाले धार्मिक कार्यक्रमले मनमा शान्ति ल्याउने र समाजलाई परिवर्तन गर्ने प्रेरणा प्राप्त हुने बताए।
समाजसेवी टीकाराम अधिकारीको सभापतित्वमा भएको उद्घाटन समारोहमा ठोरी गापा–३ का अध्यक्ष सूर्यबहादुर लामाले स्वागत र सञ्चारकर्मी माधव तिमिल्सिनाले सहजीकरण गरेका थिए। यसअघि महायज्ञ सफलताको लागि ठोरी गापाको रामनगरबाट कलश यात्रा निकालिएको थियो।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्