साउनको सुकिलोमुकिलो मङ्सिरको धान चोर

0
74

वैधनाथ ठाकुर

प्रत्येक वस्तुको दुईवटा रूप हुन्छन् । एउटा बाहिरी र अर्को भित्री । वस्तुको भित्र के छ ? त्यो बाहिरबाट देखिन्न । बाहिर देखिएको रूपमैं लट्ठिने हो भने भित्र लुकेर बसेको विषले प्रयोगकर्ताहरूलाई मार्ने गरेको थुप्रै घटना दिनहँु घटिरहेका हुन्छन् । त्यसैले कुनै पनि वस्तुको बारेमा एउटा ठोस विचार बनाउनुभन्दा पहिले त्यसको भित्री अवस्था वा संरचना के कस्तो छ ? त्यसबारेमा बुझ्न जरुरी हुन्छ ।
हाम्रो समाजमा सबैभन्दा बढी प्रतिष्ठा र मान–सम्मान आजसम्म ठूलाबडा भनाउँदाहरूले नै पाउँदै आएका छन् । गरीब जनताको तिनीहरूको अगाडि कुनै अस्तित्व नै देखिंदैन । पहिले–पहिले प्राचीन धार्मिक ग्रन्थहरूमा शुद्रहरूलाई ब्राह्मण, क्ष्Fत्री तथा वैश्यको सेवा गर्ने कर्तव्यको रूपमा व्याख्या गरिएको पाइन्छ । तर हिजोआज जुन जातको भएपनि यदि ऊ गरीब छ भने उसले सेवाको काम गर्नुपर्छ । अर्थात् समाजमा जातिप्रथाभन्दा बलियो सम्पत्तिप्रथा देखिन्छ । मान्छे तल्लो जातको छ तर उससँग अपार सम्पत्ति छ भने समाजमा उसको मान–सम्मान, प्रतिष्ठा ठूलो छ । जातिले ठूलो छ तर गरीब (निर्धन) परिवारको छ भने उसको कुनै प्रतिष्ठा नै हुँदैन ।
महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका भारतसँग जोडिएको सीमान्त नगरपालिका हो । जलेश्वर नगरपालिकाको दक्ष्Fिणमा भारतको सीतामढी जिल्ला अन्तर्गत छोटी भिठ्ठा (सानो भिठ्ठा) भन्ने गाउँ छ । त्यहाँको सबैभन्दा धनी मानिस एकजना रामदहिन सार्की (चमार) हुन् । रामदहिनको घरमा आज पनि ब्राह्मण भान्छे छ । यसरी हामी के हेर्छौं भने हाम्रो समाजमा इज्जतदार वर्गमा धन हुनेहरू नै रहेका छन् ।
अब प्रश्न उठ्छ धन कसरी प्राप्त हुन्छ ? धनको बारेमा एकथरी सोच वा विचार यस्तो छ सम्पत्ति हुनु र नहुनु, कमाउनु वा गुमाउनु सबै कुराको टुङ्गो पूर्वजन्ममा गरेको पुण्य वा पापले निर्धारण गर्दछ । यो धार्मिक मान्यता हो । यस अनुसार मानिसले जीवनमा भोग्ने गरेका प्रत्येक घटना चाहे त्यो दुःखद होस् वा सुखद सबै कुराको टुङ्गो पहिले नै लागिसकेको हुन्छ । यसलाई अध्यात्मवादीहरू भाग्यवाद पनि भन्ने गर्छन् । भाग्यवादले एकजना चित्रगुप्तको कल्पना गरेको छ, जसले संसारभरिको मानिसको कर्म अनुसारको भाग्य लेख्ने गर्दछन् ।
अर्को मतले भन्छ भाग्य नै हुँदैन । भाग्य, पुनर्जन्म, पूर्वजन्म, स्वर्ग–नर्क यी सबै झूठा कुरा हुन् । यी सबै केवल मनोगत कल्पना मात्र हुन् । मान्छेले भोग्ने गरेका जीवनका सम्पूर्ण घटना देश, काल, परिस्थिति, राजनीति, अर्थनीति आदिमा निर्भर गर्दछ । समाजका सबै कुराको जिम्मेवार मूलतः राजनीति नै हो । राजनीति जस्तो छ, समाज त्यस्तै हुन्छ अर्थात मानिसहरूले त्यही किसिमको परिघटनाहरूको सामना गर्नुपर्ने हुन्छ । खासगरी राज्यले सम्पत्तिको वितरण कसरी गरेको छ । व्यक्तिगतरूपमा सम्पत्तिको वितरण राज्यले गरेको छ भने त्यहाँ कोही खर्बपति हुने र कोही दुई छाक खान पनि नसक्ने अवस्था राजनीति र आर्थिक नीतिले गर्दा हुन जान्छ । राज्य नै समाजभित्र असमानता जन्माउने प्रमुख तŒव हो । राज्य स्वयम् भ्रष्टाचारमा लिप्त हुने, भ्रष्टाचारलाई संस्थागत गर्ने अनि आफ्नो यी नै दोषहरू लुकाउन विगतमा कपोलकल्पित घटना तथा पात्रहरू उभ्याएर राजा महाराजाहरूले धार्मिक ग्रन्थको रचना गर्न लगाएका हुन् । यस्तो उनीहरूले आफूलाई कथित भगवान्को अवतारसम्म भन्न भ्याए ।
यसरी समाजभित्रका धेरै कुरामा जब हामी सामान्य ज्ञानको प्रयोग गर्छौं, अनि त्यसको वास्तविकता र काल्पनिकताबीचको अन्तरसम्बन्ध तथा फरकको बारेमा स्पष्टसँग बुझ्न सक्छौं । होइन भने मुख्य कुराभन्दा हाम्रो दिमाग सहायक कुराहरूमा अल्झिरहन्छ । फलस्वरूप सही निष्कर्ष निकाल्नुको साटो हामी गलत निर्णयमा पुग्छौं र त्यो नै सही हो भनेर प्रचारप्रसारसमेत गर्छौं ।
नेपाल जस्तो सानो तर प्राकृतिक सम्पदाले भरिएको देशका नागरिकहरू के कारणले दुई छाक टार्नको लागि खाडीको चर्को गर्मीमा मर्न जाने गर्छन् । एकछिन हामी विचार गरौं त १ देशमा मित्रराष्ट्रहरूले बनाइदिएका कलकारखानाहरूमध्ये असी प्रतिशत बन्द भइसकेको छ । बाँकी बीस प्रतिशत कलकारखाना पनि रुग्ण अवस्थामा रहेको छ । मान्छेलाई एकातिर रोजगार दिने, अर्कोतिर स्थानीय सम्पदाको उपयोग हुने र कारखानाबाट उत्पादित वस्तु विदेशी बजारमा बेचेर डलर पनि कमाउन पाउने राष्ट्र क्रमशः आत्मनिर्भर बन्दै जाने र ‘सुखी नेपाली समृद्ध नेपाल’को सपना पनि साकार हुने काममा हाम्रो चासो किन छैन ?
आजसम्म कुनै पनि पार्टीभित्र नेताहरूबीच बन्द रहेका कलकारखानाहरू खोल्ने विषयमा अन्तरसङ्घर्ष भएको सुन्नुभएको छ । पद नपाएकोले नेपाली काङ्ग्रेसलाई गिरिजाप्रसाद कोइराला र शेरबहादुर देउवाले फुटाएको कसलाई थाहा छैन । तत्कालीन नेकपा एमालेलाई वामदेव गौतम, सिपी मैनालीलगायतले पटक–पटक फुटाएको पनि पदकै लागि हो भन्ने कुरो दुनियाँले बुझेकै हो । यतिबेला नेकपाभित्र दुई अध्यक्ष्Fबीचको लफडा पनि पदीय भागबन्डा र कमाउ मन्त्रालय हात पार्ने दाउबाहेक अरू केही नभएको कुरो लाटोले पनि बुझेको छ । यस्ता पदका पछाडि भाग्ने, ठूलठूला कमिशनका खेलहरू खेल्ने, भ्रष्टाचारका ठूलठूला घटना घटाउने यिनै नेता भोलि फेरि जिल्लातिर आउँदा यिनको स्वागतमा फूलको माला लिएर घण्टौं विमानस्थलमा बसिरहने कार्यकर्ताहरूले पनि अब कुरो बुझिसकेका छन् । कम्युनिस्ट पार्टीलाई आफ्नो पारिवारिक पार्टी बनाउने, परिवारका सबैलाई कमाउ मन्त्रालय वा लाभको पदमा आसीन गराउने यी हाम्रा सुकिलामुकिला नेताहरूले यतिबेला कम्युनिस्ट पार्टीलाई बलियो बनाउँदै छन् कि जग हल्लाएर सखाप पार्ने काममा लागिपरेका छन् । यो पनि विचारणीय पक्ष्F हो । कुन विदेशी शक्तिकेन्द्रको  मानो खाएर दुई तिहाइ बहुमतको कथित कम्युनिस्ट सरकारलाई क्षतविक्ष्Fत पार्न लागेका हुन्, यसको पनि खुलासा निकट भविष्यमा हुने नै छ ।
कोरोनाको त्रासमा सिङ्गो मुलुक ठप्प भएको बेला पदीय लडाइँमा सक्रिय नेताहरूलाई इतिहासले पक्कै पनि उदाङ्गो पार्ने नै छ । देशभित्र आगो लागेर खरानी बन्दै गरेको बेला राजा निरो बाँसुरी बजाउनमा मस्त थिए रे । रोमका राजा निरोभन्दा हाम्रा नेताहरू पनि कम्ताका छैनन् । चुनावताका जनताको मत आकर्षण गर्न निकालिएको घोषणापत्रमा लेखिएका जनसरोकारका कार्यक्रमहरू तथा विकासका योजनाहरू सबैलाई पन्छाएर पदीय लडाइँमा व्यस्त नेताहरूलाई लाज लाग्नुपर्दैन ? पर्वते समाजमा एउटा उखान छ– “साउनको सुकिलोमुकिलो मङ्सिरको धान चोर ।” जनताले यी सबै कुरा विचार गर्दैछ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्