माझी परिवारलाई खाद्यान्न सहयोग

82

प्रस, वीरगंज, २६ मङ्सिर/
नेपाल–अस्ट्रेलिया प्रजातान्त्रिक मञ्चको सहयोगमा शुक्रवार वीरगंज महानगरपालिका–३१ लक्ष्मीपुरटोलमा बस्ने एक सय माझी परिवारलाई खाद्यान्न राहत वितरण गरिएको छ ।
नेपाली काङ्ग्रेस तराई–मधेस समन्वय समितिका केन्द्रीय सचिव रामनारायण कुर्मीले शुक्रवार माझी परिवारलाई सो खाद्यान्न राहत वितरण गरेका हुन् । प्रतिपरिवार २५ किलो चामल, २ किलो दाल, नून/तेल एक/एक किलो, नुहाउने र लुगाधुने साबुन एक/एक वटा तथा मास्क वितरण गरिएको थियो । कोभिड–१९ अवधिमा रोजगार गुमेर माझी परिवारलाई  खान समस्या भएको कारण खाद्यान्न वितरण गरिएको नेता कुर्मीले बताए । नेपाल–अस्ट्रेलिया प्रजातान्त्रिक मञ्चले वीरगंज महानगरपालिका वडा नं १७ अलौं र वडा नं २६ सुगौलीबिर्तामा यसअघि सय घरपरिवारलाई खाद्यान्न वितरण गरेको थियो । एक सातादेखि अभियान शुरू गरेको मञ्चको सहयोगमा पर्सा र रौतहटमा खाद्यान्न वितरण कार्य सम्पन्न भएको र अब सर्लाहीमा पनि वितरण गरिने नेता कुर्मीले बताए । नेपाल–अस्ट्रेलिया प्रजातान्त्रिक मञ्चसँग पत्रकार चन्द्रकिशोर झाले पहल गरी यो कार्यको लागि ५ लाख रकम सङ्कलन गरिएको र सोही रकमबाट खाद्यान्न राहत वितरण भएको हो ।
राहत वितरण कार्यक्रममा पत्रकार झा, वडाध्यक्ष चुमनदास चौधरी, विश्वेश्वर पटेललगायतको सहभागिता थियो।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्