माई बेस्ट फादर…

233

सञ्जय मित्र

मेरो गाउँमा एकजनाका धेरै सन्तान छन् । दुई/चार जना हुँदासम्म त सबैको नाम कण्ठस्थ हुन्थ्यो तर सन्तान बढ्दै गएपछि नाम जन्मदर्तामा सीमित हुन पुग्छ । अनि बोलाउन शुरू हुन्छ जन्मक्रमको आधारमा एक, दुई, तीन… उन्नाइस ।
संयोगले जेठो छोरा र त्यसपछि छोरी छे । छोरो बदमाश, उसको नाम भएको एक नम्बर । छोरी भलाद्मी तर नाम चाहिं दुई नम्बर ।
कहिलेकाहीं त आफ्नै सन्तान चिन्न गा¥हो हुन्छ । हो, म तपैंकै छोरो हुँ भनेपछि मान्नुपर्ने । कहिलेकाहीं त मेरा हुन् कि छिमेकीका छुट्याउन नसकेर नाम सोध्नुपर्छ । हरेकलाई नाम त थाहा छ तर जन्मदर्ताको नाम बतायो भने छिमेकीको छोराछोरी भन्ठान्लान् भनेर छोराछोरीले पनि आफ्नो रोलक्रम नै बताउँछन् । धेरै सन्तान हुनेले मात्र यस्तो आनन्द प्राप्त गर्न सक्छन् ।
बीसौं प्रसवभन्दा पहिले सारै सहयोग गर्ने छोरीलाई आमाले प्रशंसा गर्छिन्– बेस्ट छोरी । हेर्दा सबैभन्दा मरन्च्याँसी र फोहोरीको नामै भयो बेस्ट छोरी । ऊभन्दा कैयौं क्रम पछाडिकाले पनि उसलाई बेस्ट छोरी नै भन्छन् । भाइबहिनीका पनि बेस्ट छोरी ।
म बोर्डिङमा पढ्दा एकजना मास्टर साहेबले निबन्ध लेख्नलाई भनेका थिए । शीर्षक थियो– माई बेस्ट पे्रmन्ड ।
बुद्धिमा सुद्धि खासै नपसेको उमेर न हुन्छ स्कूले जीवन । पे्रmन्ड भनेको साथी र बेस्ट भनेको सबैभन्दा राम्रो । मलाई लागेको थियो, सबैभन्दा राम्रो साथी त जीवनसाथी हुन्छ । हाम्रो बोर्डिड्ढा धेरैले मन पराउने केटीसँग मेरो बोलचाल थिएन तर निबन्ध चैं उसको नामै तोकेर लेखें । ऊसित कसरी जीवन कटाउने भनेर । मास्टर साहेबले त मलाई लाइफकै बेस्ट कुटाइ कुटेका थिए । कसैले बेस्टभन्दा म आफ्नो भेस्टभन्दा पहिले त्यैं दिन सम्झन्छु ।
त्यहीं बोर्डिङ स्कूलमा पढ्ने आधुनिक भलाद्मीहरूको एक दिन आन्तरिक प्रतियोगिता थियो । अलिकपछि मात्र मैले थाहा पाएँ हैन भने सहभागी हुन्थें । भलाद्मीहरूको प्रतियोगिताको नाम थियो– बेस्ट लभर कम्पिटिशन । एउटै केटीलाई धेरै केटाले र एउटै केटालाई धेरै केटीले मन पराउने भएर त्यस्तो कम्पिटिशन राखेका रै‘छन् । त्यत्ति बेलासम्म कस्तो ‘टेन्डेन्सी’ थियो भने पढाइमा राम्रो केटालाई धेरै केटीले मन पराउँथे र अनुहारमा राम्री केटीलाई धेरै केटाले मन पराउँथे । हो, कम्पिटिशन चैं यस्तै मन पराउनेहरूबीचको थियो आन्तरिक ।
हामीले निकै पछि थाहा पायौं । धेरैमध्ये तीन/तीन जना छानेका रै‘छन् । तत्काललाई सबैको हैसियत बराबर तर एक हप्तामा गुड, बेटर अनि बेस्ट लभर हुने रे । एक हप्तासम्म तीनजनाले आफूलाई बेस्ट साबित गर्नुपर्ने ।
कतिपयको त यो वर्षको मेरो बेस्ट लभर फलानो रह्यो भन्ने घोषणा गरेको पनि सुनियो । साप्ताहिक, मासिक, अर्धवार्षिक र वार्षिक बेस्ट लभर हुन थाल्यो ।
एउटीले यसरी घोषणा गरेकी रहिछन्– फलानो मेरो गुड लभर, फलानो मेरो बेटर लभर, फलानो मेरो बेस्ट लभर । वर्षभरिको बेस्ट लभरमध्ये फलानो मेरो बेस्टर लभर र फलानो मेरो बेस्टेस्ट लभर । अङ्ग्रेजी व्याकरणमा डिग्री पढाउने टिचरले डिग्रीको विभाजन यहींबाट सिकेर नयाँ अङ्ग्रेजी व्याकरणमा डिग्रीको आविष्कार गरेका थिए– सुपरलेटिभ डिग्री, कम्प्यारेटिभ सुपरलेटिभ र सुपरेस्ट सुपरलेटिभ डिग्री । न्यू इन्भेन्ट गरेपछि त्यो वर्षको बेस्टमध्येको पनि बेस्ट अर्थात् बेस्टेस्ट (सुपरेस्ट सुपरलेटिभ) टिचरको प्राइज जितेका थिए ।
मेरो बुद्धिले भ्यागुतो छलाङ मार्दै गयो । स्कूलमा त कछुवा गतिमा पढाइ हुन्छ । स्कूलबाट छलाङ मारें । स्कूल छाड्नुपर्ने कारणमध्ये यो पनि थियो कि जत्ति पनि केटी थिई, कसैले कुनै आवधिक कम्पिटिशनमा मलाई गुड, बेटर वा बेस्टमा कहिल्यै पनि राखिन ।
अहिले यो किन सम्झन्छु भने अस्ति पत्नी दिवसको दिन मैले मेरी पूर्णाङ्गिनीलाई भनेको थिएँ– माई बेस्ट श्रीमती ।
शायद उसको पनि सरकारी स्कूलमा पनि त्यस्तो कम्पिटिशन हुन्थ्यो क्यारे । तत्कालै जवाफ फर्काइन्– अनि बेटर को ? गुड श्रीमती को होली ?
म न नाजवाफ । मलाई मेरी श्रीमती लाजवाब लागेर खुशी पार्न उपमा दिएको थिएँ । फसें ।
पति दिवसका दिन बिहानै शुभकामना पाउँछु घरमा– मेरा प्रथम पति ।
म त ट्वाँ परूँ कि नपरूँ भन्ने दोधारमा पर्छु । प्रथम हुनुको खुशीमा मिठाइ बाँडूँ कि ? प्रथम भनेपछि द्वितीय, तृतीय… पनि हुन सक्ने देखिन्छ ।
अलमलको उत्कर्षमा रहेर कुनै प्रतिक्रिया नपाएको उपलक्ष्यमा अलिक फुरुङ्गिदै गरेको स्वर मेरो कानको जालीमा ठोक्किन्छ– ह्याप्पी हसबैन्ड डे, माई बेस्ट हसबैन्ड ।
मेरो त ब्यान्ड बजिरहेछ, भित्रभित्रै । पत्नी दिवसको दिन पत्नीले फर्काएको प्रश्न दोहो¥याउँ भने आफ्नै इज्जत जाने । अपच भएपनि सहनै पर्छ, पचाउनै पर्छ । प्रतिक्रिया दिन्छु– थ्याङ्क्स । बेस्टेस्ट हसबैन्ड भनेकी छैनन् । अझ पनि मेरो इज्जत बाँकी छ भनेर म अनुशासित किसिमले चित्त बुझाउँछु ।
केही बोल्ने पनि कसरी । बाहिर पो जे मन लाग्यो बोलिन्छ वा धाक लगाइन्छ । घरमा अलिकति चित्त नबुझ्ने कुरो बोल्नुहुँदैन । झाेंकतन्त्र देखिन शुरू हुन्छ । त्यसपछि ब्यान्ड बज्ने डर पनि हुन्छ आफ्नै ।
सन्तान दिवसको दिन हामीजस्ता सोझालाई गा¥हो हुन्छ । सबै सन्तानलाई माई बेस्ट सन्तान भनूँ भने पनि असन्तुष्टि हुने र कोही एकलाई भनूँ भने अन्य सबै रिसाउने ।
स्कूल भनेको बोर्डिङ हो र विद्यालय भनेको सरकारी स्कूल हो भन्ने बुझाइ थियो हाम्रो जमानामा । स्कूल पढ्नेहरू आफूलाई ठूलो ठान्थे र विद्यालय पढाउने मास्टरहरू आफूलाई ठूलो मान्थे । हामी प्योर इङ्गलिश बोल्थ्यौं र तिनीहरू शुद्ध नेपाली । माइनसमा प्लस जोड्दा जुन बढी हुन्छ उत्तर त्यत्तैतिर फर्केझैं स्कूल राम्रो कि विद्यालय र टिचर राम्रो कि मास्टर भन्ने विवादको अन्तिम निष्कर्ष हुने गथ्र्यो । अहिले कस्तो छ कुन्नि थाहा भएन ।
केटाकेटीले स्कूलमैं हो धेरै कुरा सिक्ने । विद्यालयमा त पढाइ नै हुँदैन भन्छन् त कहाँबाट धेरै कुरा सिक्नु । समाजमा सर्भे गर्ने हो भने विद्यालय पढेकाभन्दा स्कूल पढेका भलाद्मीहरू बढी भेटिन्छन् ।
यस्तै भलाद्मीमध्ये मेरो गाउँका एकजना मेरै छिमेकमा छन् । ‘फादर्स डे’का दिन बिहान म बाहिर आँगनमा चिया खाँदैछु । हातमा अखबारको बच्चो छ । भलाद्मीका जन्मदाता र म कुराकानी गरिरहेका छौं । कतैबाट आएर उनले आफ्नो जन्मदातालाई च्याप्प समात्छन् र मुखबाट ओकल्छन्– ह्याप्पी फादर्स डे, माई बेस्ट फादर ।
भलाद्मीले यस्तो भन्दा बाबालाई अँगालेर मतिर हेर्दै मुस्कुराइरहेका छन् । भलाद्मीले मतिर हेर्दै गर्दा उनकी जन्मदात्री कर्के नजरले मतिर हेर्दै प्राकृतिक मुस्कान छर्दैछिन् ।
फुच्चे अखबार र चियाको कप त्यहीं छाडेर छिमेकी आमा–छोराको मुस्कान मनभरि भरेर म घरमा छिर्छु । मनमनै गुन्दै पनि छु– गुड र बेटर फादर पनि हुन्छन् र ? बेस्ट फादर भन्नुपर्ने किन ? घरमा खै कुन समयदेखि कसरी तयारी गरेका रै‘छन्, मैले त थाहा नै पाइनँ । भए भरका मेरा कहलिएका सन्तानहरूले एकै स्वरमा सुन्दर मुस्कानका साथ बोल्छन्– ह्याप्पी फादर्स डे, माई बेस्ट फादर… ।
विचलित होउँ कि नहोउँ । होउँ भने आफ्नै बेइज्जत र नहोउँ भने मनभित्र चोटको खोट । पूर्णाङ्गिनीजीतिर दृष्टि पुग्छ । उनी आँखा सन्काउँछिन् र कुटिल मुस्कान छर्छिन् । म छरिएको मुस्कानमा कुनै बदलाको आगो बलेको देख्छु । भर्खर बाहिर मनभरिको मुस्कान प्राप्त गरेको छु ।
थ्याङ्कू ।
मुखबाट फुस्काउनै पर्छ । फुस्काउँछु ।
अब म शङ्का कसमाथि गरूँ । म त एक्लै छु । घरमा अरू कोही साना बा, ठूला बा वा अरू कोही बा भएको थाहा छैन । घरमूला वा घरमूली जे भने पनि मै हुँ तर तर बेस्ट फादर… । माई बेस्ट फादर… । शङ्काको सुई फनफनी घुम्न थालेको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्