पहिचानको कुरा

0
39

पहिचानको मुद्दा जोडतोडका साथ जताततै उठिरहेको छ । पहिचान र सामथ्र्यको आधारमा राज्य पुनर्संरचना हुनुपर्ने कुरा हाम्रो मुलुकमा आन्दोलनकै रूपमा आएको हो । नेपालको संविधान २०७२ ले यसलाई जतिसक्दो समेट्ने प्रयास गरेको बताइए पनि पहिचानवादीहरूको मुद्दा भने चर्कंदो छ । आदिवासी जनजातिदेखि खस, दलितसम्म र पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका बासिन्दाहरू आआफ्नो मौलिक पहिचानको खोजीमा छन्। तर पहिचान के हो ? कसरी फेला पार्न सकिन्छ, पहिचान पक्षधरहरू नै अलमलमा छन् । व्यक्तिको थर, गोत्रलाई नै पहिचान भनेर व्याख्या गर्ने विश्लेषकहरूको यहाँ कमी छैन । त्यसैले त यहाँ मौलिक पहिचानको खडेरी परेको छ । देखेर, हेरेर, कानले सुनेर वा हातले छामेर चिन्न सकिने पक्षहरू पहिचानका आधार हुन् । यो आदिम तथा  प्राचीनकालदेखि परम्परागतरूपमा चल्दै आएका हुन्छन् । थर लेखिएको कागजपत्रलाई त फगत परिचयपत्र मात्रै मान्न सकिन्छ ।
मानवको मन, मस्तिष्क, आत्माभित्र ‘म पनि केही हुँ, मेरो अरूको भन्दा छुट्टै परिचय छ, यो इज्जत र अस्तित्वपूर्ण छ’ भनेर कसैले महसूस गर्छ भने त्यहाँ उसको पहिचान हो । यो भावनात्मक पहिचानलाई प्रत्यक्ष देखिने गरी अभिव्यक्त  गर्नुपर्दा वा देखिनुपर्दा मौलिक पहिचानको खाँचो हुन्छ । व्यक्ति तथा समुदायको आत्मगौरव वा स्वाभिमानमा आत्मपहिचानको तरङ्ग दौडिरहेका हुन्छन् । मान्छेको मनभित्रको यो चेतना वा आत्मगौरवको तरङ्ग सिर्जना गर्नका लागि पहिचानका आधारहरू अनिवार्य छन् । पहिलो संविधानसभाको राज्यको पुनर्संरचना तथा राज्य शक्तिको बाँडफाँट समितिले पहिचानका मुख्य पाँच आधार किटान गरेको थियो । पहिचानको पाँच आधारमा जातीय/समुदायगत आधार, भाषिक, सांस्कृतिक, भौगोलिक/क्षेत्रगत निरन्तरता र ऐतिहासिक निरन्तरता हो । यसमध्येमा पनि सांस्कृतिक आधार सबैको प्रतिनिधिमूलक आधार हुन् । त्यसैले त भनिन्छ, ‘पहिचान जोगाउनु छ भने संस्कृतिलाई जोगाउनुपर्छ ।’  कुनै व्यक्ति वा समुदायले अपनाइरहेको लोक संस्कृतिलाई हेरेर वा सुनेर नै ऊ कुन समुदाय वा क्षेत्रको हो भन्ने कुरा ठम्याउन सकिन्छ । हुनत एक समुदायको संस्कृति अर्को समुदायले अपनाइरहेको पनि हामी पाउँछौं । यसको मतलब ऊ बिस्तारै त्यस समुदायको पहिचान अनुसरण गर्दैछ भन्ने बुझ्नुपर्छ । केही पुस्तापछि उनीहरूले आफ्नो परम्परागत पहिचान बिर्सनेछन् र त्यहाँ फेरि पुनरुत्थानको खाँचो पर्छ ।
आज पहिचानको चर्को कुरा गर्ने धेरैजना आफ्ना पुर्खाको थर, गोत्र हातमा बोकेर आफूलाई ठूलै पहिचानवादी ठान्छन् र सोही आधारमा पुनर्संचनाको कुरा गर्छन् । थर, गोत्र लेखिएको कागज त पहिचानको परिचयपत्र मात्रै हो । त्यसलाई प्र्रमाणित गर्ने आधार भनेको परम्परागत मौलिक संस्कृति हो । मौलिक संस्कृतिको जगेर्ना छैन, परम्परागत जातीय तथा समुदायका पोशाकहरू लोप भइसकेका छन् । आफ्नै लोक बाजालाई हुत्याएर आयातित बाजाहरूलाई अँगालिरहेका छौं । मारुनीलाई दुत्कारेर सात सहेलियालाई स्वीकार गरेका छौं, अनि मधुमास एकादेशको कथा भयो, भ्यालेन्टाइन डेहरू नै हाम्रो आस्था बनिसकेका छन् । अब आफ्नो संस्कृतिलाई रछ्यानमा मिल्काएर हाम्रा सन्ततिहरूलाई हामी मन्द–मन्द तरीकाले अर्काको संस्कृति हस्तान्तरण गर्दै पहिचानविहीन बनाउँदै छौं भन्नु अतिशयोक्ति हुँदैन होला ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्