द्रोण पर्व–२२

61

उमाशङ्कर द्विवेदी

बल र शानमा जसको कुनै तुलना थिएन, त्यस अर्जुनकुमारको वध भएपछि अब विजय पाएर पनि मलाई प्रसन्नता हुनेछैन । ऊविना पृथ्वीको राज्य, अमरत्व अथवा देउताहरूको लोकको अधिकार पनि अब मेरो कुन कामको ?
कुन्तीनन्दन युधिष्ठिर यस प्रकार विलाप गरिरहेकै बेला त्यहाँ महर्षि वेदव्यासजी अकस्मात् आइपुगे । युधिष्ठिरले उनको यथोचित सत्कार गरे । महर्षि वेदव्यास आसन ग्रहण गरिसकेपछि अभिमन्युको मृत्युको शोकबाट सन्तप्त भएर युधिष्ठिरले उनीसित भने– मुनिवर, सुभद्रानन्दन अभिमन्युले युद्ध गरिरहेको थियो, त्यति बेला उसलाई अनेकौं अधर्मीहरूले उसलाई चारैतिरबाट घेरा हालेर मारिदिए । मैले ऊसित भनेको थिएँ– हामीहरूलाई पनि व्यूहभित्र पस्न सक्ने बाटो बनाइदेऊ । उसले भने जस्तो बाटो बनाइ पनि दिएको थियो । व्यूहभित्र ऊ आफू पसिसकेको थियो, अनि उसको पछिपछि हामी पनि प्रवेश गर्न थालेका थियौं तर जयद्रथले हामीलाई रोकिदियो । योद्धाहरूले आफूसमान वीरसित युद्ध गर्नुपर्दछ तर शत्रुहरूले ऊसित जुन व्यवहार गरे, त्यो नितान्त अनुचित थियो । यसै कारणले मेरो ह्दयमा बडो सन्ताप भइरहेको छ, अलिकति पनि शान्ति पाइरहेको छैन ।
व्यासजीले भने– युधिष्ठिर, तिमी त महान्, बुद्धिमान् र समस्त शास्त्रको ज्ञाता हौ । तिमी जस्ता पुरुषले जस्तोसुकै सङ्कट आइ परे पनि आत्तिनुहुँदैन । अभिमन्युले युद्धभूमिमा धेरैजसो वीरलाई मारेर प्रौढ योद्धाको समान पराक्रम प्रदर्शन गरेर स्वर्गलोक गएको छ । राजन्, विधाताको विधानलाई कसैले पनि टार्न सक्दैन । मृत्यु त देउता हो, गन्धर्व र दानवहरूको पनि प्राण हरण गर्न सक्दछ, मान्छेको त के कुरा ?
युधिष्ठिरले भने– मुने, यी शूरवीर राजकुमारहरू शत्रुको वशमा परेर विनाशको मुखमा गइहाले । भन्दछन्, यिनीहरू मरिसके अरे, तर मलाई सन्देह भइरहेको छ– ‘मरिसके’ यस्तो किन भन्दछन् । मृत्यु कसको हुन्छ ? किन हुन्छ ? मृत्युले कसरी मान्छेलाई मार्दछ तथा कसरी यो जीवलाई परलोकमा लग्दछ ? पितामह, यी सबै कुराबारे मलाई बताउनुहोस् ।
व्यासजीले भने– राजन्, जान्नेहरूले यस विषयमा एउटा प्राचीन इतिहासको दृष्टान्त दिन्छन् । यसलाई सुनेर तिमी स्नेहबन्धनको कारण हुने दुःखबाट मुक्त भइहाल्नेछौ । यो उपाख्यान समस्त पापहरूलाई नष्ट पार्ने, आयु बढाउने, शोकनाशक, अत्यन्त मङ्गलकारी तथा वेदाध्ययनको समान पवित्र छ । आयुष्यमान् पुत्र, राज्य र लक्ष्मी प्राप्त गर्ने उद्देश्य भएको द्विजले प्रतिदिन प्रातःकाल यस आख्यानको श्रवण गर्नुपर्दछ ।
प्राचीनकालको कुरो हो । सत्ययुगमा एक अकम्पन नाम गरेका राजा थिए । उनीमाथि शत्रुहरूले आक्रमण गरे । राजाको एउटा पुत्र थियो, जसको नाम थियो– हरि । ऊ बलमा नारायणको समान थियो तथा युद्धमा इन्द्रको समान । त्यस युद्धमा दुष्कर पराक्रम प्रदर्शन गरेर अन्तमा शत्रुहरूको हातबाट मारियो । यसबाट राजालाई बडो शोक भयो । उनको पुत्रको मृत्युको समाचार पाएर देवर्षि नारदजी त्यहाँ आए । राजाले उनको यथोचित सत्कार गरे तथा उनी आसनमा बसेपछि उनले भने– भगवन्, मेरो पुत्र इन्द्र तथा विष्णुको समान कान्तिमान् तथा महाबली थियो । उसलाई धेरैजना शत्रुले मिलेर युद्धमा मारिदिएका छन् । अब म ठीक–ठीक जान्न चाहन्छु कि यो मृत्यु भनेको के हो ? यसको वीर्य, बल र पौरुष कस्तो छ ?
राजाको यस्तो कुरा सुनेर नारदजीले भने– राजन्, आदिमा सृष्टिको समय ब्रह्माजीले सम्पूर्ण प्रजाको सृष्टि गरे, तर उनीहरूको संहार नभइरहेको हेरेर उनले विचार गरे । सोच्दासोच्दै जब केही पनि नबुझेपछि उनलाई क्रोध आयो । उनको त्यस क्रोधको कारणले आकाशमा अग्नि प्रकट भयो र त्यो अग्नि सम्पूर्ण दिशामा पैmलियो । भगवान् ब्रह्माले त्यसै आगोबाट पृथ्वी, आकाश एवं सम्पूर्ण चराचर जगत्लाई जलाउन प्रारम्भ गरे । यो हेरेर रुद्रदेव ब्रह्माजीको शरणमा गए । रुद्रदेव अकस्मात् प्रकट भएको हेरेर ब्रह्माजीले भने– बाबु, तिमी आफ्नो इच्छाबाट प्रकट भएका छौ र मसित अभीष्ट वस्तु पाउने योग्य छौ । भन, तिम्रो कुन चाहिं कामना पूर्ण गरूँ ? तिम्रो जुन अभीष्ट छ, म त्यसलाई पूर्ण गरिदिनेछु ।
रुद्रदेवले भने– प्रभो, तपाईंले नानाथरीका प्राणीहरूको सृष्टि गर्नुभएको छ तर ती जम्मै आज तपाईंकै क्रोधाग्निबाट दग्ध भइरहेका छन् । उनीहरूको त्यो दशालाई हेरेर मलाई अत्यन्त दया लागिरहेको छ । भगवन्, अब त उनीहरूमाथि प्रसन्न हुनुहोस् ।
ब्रह्माजीले भने– पृथ्वीदेवी जगत्को भारले पीडित भइरहेकी थिइन्, त्यसै व्यथाले मलाई संहार गर्नको लागि प्रेरित ग¥यो । यस विषयमा धेरै विचार गरेर पनि कुनै उपाय नलागेपछि मलाई अत्यन्त क्रोध आयो ।
रुद्रदेवले भने– भगवन्, संहारको लागि तपाईंले क्रोध नगर्नुहोस् । प्रजामाथि प्रसन्न हुनुहोस् । तपाईंको क्रोधबाट प्रकट भएको यो आगोले पर्वत, वृक्ष, नदी, जलाशय, तृण, घाँस आदि सम्पूर्ण स्थावर, जङ्गमरूप जगत्लाई जलाउँदै छ । अब तपाईंको क्रोध शान्त भई जाओस्– मलाई यही वर दिनुहोस् । प्रजाको हितको लागि कुनै यस्तो उपाय सोच्नुहोस्, जसबाट यी प्राणीहरूको ज्यान बचोस् । क्रमशः…

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्