आन्दोलन थाती राखी मजदूरहरू काममा फर्के

0
44

प्रस, परवानीपुर, २६ मङ्सिर/
वीरगंज महानगरपालिका–२१ परवानीपुरस्थित बहुराष्ट्रिय कम्पनी ब्रिटानिया नेपाल प्रालिमा आन्दोलनरत मजदूरहरू काममा फर्केका छन ।
कम्पनीले गत कात्तिक २३ गते १२ जना स्थायी मजदूरलाई कामबाट निकालेको विरोधमा ब्रिटानियामा कार्यरत ११० जना मजदूरले विगत एक महीनादेखि आन्दोलन गरिरहेका थिए । मङ्सिर २४ गते बुधवारदेखि आन्दोलनरत मजदूरहरू काममा फर्केका र ब्रिटानियाको उत्पादन नियमित भएको एकजना मजदूरले बताए । निष्कासित १२ जना मजदूरको हकमा उनीहरूले श्रम अदालतबाट न्याय खोज्ने गरी बाँकी मजदूरहरू काममा फर्केको ती मजदूरले बताए । निष्कासनको विरोधमा उत्रेका मजदूरहरूको रोजगार धरापमा पर्न थालेपछि उनीहरू आफ्नो रोजगार जोगाउन काममा फर्केका हुन् । ब्रिटानियाले मजदूरहरू आन्दोलनमा ओर्लिएपछि ठेक्कामा कामदार बहाल गरी कारखाना चलाएको थियो । यही कारण कारखानाअगाडि धर्नामा बसेका मजदूरमाथि प्रहरीले बल प्रयोग गर्दै आएको थियो । ठेकेदारका कामदारहरूलाई उद्योगमा छिर्न नदिंदा प्रहरीले बल प्रयोग गर्दै कारखाना सञ्चालनलाई निरन्तरता दिएपछि अन्य मजदूरहरूले १२ जना निष्कासित मजदूरलाई श्रम अदालतमा जान सल्लाह दिएर काममा फर्केको ती मजदूरले बताए ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्