व्यावसायिक जगत्मा ज्ञानको महत्व

93

विश्वराज अधिकारी

व्यावसायिक जगत्मा सूचना एवं जानकारीको ठूलो महत्व हुन्छ। त्यतिकै ठूलो महत्व कसैले प्राप्त गरेको खास अनुभवको पनि हुन्छ। सूचना, जानकारी एवं अनुभवको महत्व पैसाभन्दा पनि ठूलो हुन्छ। तर हाम्रो व्यावसायिक जगत्मा सूचना, जानकारी एवं अनुभवलाई राम्ररी व्यवस्थित गर्न सकिएको छैन। न यी कुराहरूको कुशल उपयोग गर्न सकिएको छ। यसको प्रभावकारी हस्तान्तरण पनि गर्न सकिएको छैन। राम्ररी अभिलेख राख्न नसकिएको हुनाले नै प्रभावकारी उपयोग र हस्तान्तरण गर्न नसकिएको हो। र यी सबै कुरा ज्ञानको कमीले गर्दा भएको हो। हामीमा ज्ञानको ज्यादै अभाव छ। ज्ञानको विकास र विस्तारको क्षेत्रमा हामीले धेरै काम गर्न बाँकी छ। र गरीबीबाट मुक्ति पाउन ज्ञानको विकास एवं विस्तार आवश्यक छ। नयाँनयाँ ज्ञानको खोजी गर्न आवश्यक छ।
नेपालमा केही व्यक्तिले व्यावसायिक क्षेत्रमा ठूलो सफलता प्राप्त गरेका छन्। उनीहरूले त्यो सफलता पाउन अनेक सङ्घर्ष गरे, दुःख–कष्ट सहे। अनेक रणनीति विकास गरे। अनेक योजना बनाए। नयाँनयाँ एवं रचनात्मक सोचको विकास गरे। तर तिनको ज्ञान, सूचना एवं जानकारी अर्को पुस्तामा वा सम्बन्धित क्षेत्रका व्यक्तिमा हस्तान्तरण हुन सकेन। ती सफल व्यक्तिले आफ्नो सफलताका सूत्र वा व्यावसायिक नीति अथवा अनुभव केवल आफ्ना परिवारका सदस्यहरूलाई मात्र हस्तान्तरण गरे। सार्वजनिक गरेनन्।
नेपालको व्यापारिक क्षेत्रमा चौधरी, गोल्छा, केडिया, खेतान, ज्योतिजस्ता व्यापारी पारिवारहरूले व्यापारमा ठूलो सफलता हासिल गरे। उनीहरूको व्यापारको आकार निकै ठूलो थियो। अहिले पनि छ। तर उनीहरूको व्यापारिक अनुभव सम्बन्धित क्षेत्रका मानिस (व्यापार विषयका विद्यार्थी, व्यापार गर्ने सोच भएका व्यक्ति) सम्म पुग्न सकेन। केवल परिवारका केही व्यक्तिमा सीमित रह्यो। उनीहरूकले प्राप्त गरेका ज्ञान वा अनुभवको हस्तान्तरण हुन सकेन।
वीरगंजबाट व्यापार आरम्भ गरेका बृजलाल (छोटकरीमा बिर्जुबाबू पनि भन्ने गरिन्थ्यो) केडियाको नाम नेपालका सफल व्यापारीमा पर्दछ। उनको आर्थिक स्थिति र व्यापारको आकार प्रारम्भमा निकै सानो थियो। तर अनेक सङ्घर्ष गरेर उनले प्राप्त गरेको व्यापारिक सफलताले उनलाई एक ठूलो व्यापारी बनायो। उनको व्यपार वीरगंजसम्म सीमित रहेन। नेपालभरि फैलियो।
केडियाले व्यापार प्रारम्भ धान चामल खरीद–बिक्रीबाट गरेका थिए। वीरगंजमा उनको ठूलो (त्यस बेलाका लागि निकै ठूलो) चामल मिल थियो। केडियाले ठूलो परिमाणमा धान खरीद गर्थे। त्यो धान आफ्नो मिलमा कुटेर चामल बनाउँथे। त्यो चामल भारततर्फ निकासी गर्दथे। त्यसबेला उनले ठूलो परिमाणमा चामल भारततर्फ निर्यात गर्दथे।
केडिया एक कुशल व्यापारी थिए। उनले व्यापारिक अवसर राम्ररी चिनेका थिए। चितवन, पर्सा, बारा, रौतहट, सर्लाही धान उत्पादनका लागि भर गर्न सकिने, लाभदायक जिल्ला हुन् भन्ने उनलाई थाहा थियो। हुन पनि त्यसबेला यी जिल्लामा ठूलो परिमाणमा धान उत्पादन हुन्थ्यो। एक किसिमले यी जिल्लाहरूको मुख्य बाली नै धान थियो। र बजारमा प्रतिस्पर्धा न भएकोले कृषकहरूबाट धान सस्तोमा खरीद गर्न सकिन्थ्यो। यी जिल्ला मात्र होइन, नेपालका तराईका अन्य जिल्लामा पनि ठूलो परिमाणमा धान उत्पादन हुन्थ्यो र ठूलो परिमाणा चामल भारत निर्यात हुन्थ्यो। केडियाले त्यो व्यापारिक अवसर चिने। त्यो अवसरको राम्ररी प्रयोग गरे। धान खरीद गर्ने, चामल बनाउने, त्यो चामल भारत निर्यात गर्ने। यस्तो किसिमको निर्यात व्यापारबाट केडियाले राम्रो आम्दानी प्राप्त गरे। ठूलो सफलता प्राप्त गरे। तर उनको सफलताको कथा सूचना वा जानकारीको रूपमा, वा व्यापारिक ज्ञानको रूपमा सामान्य व्यक्तिसम्म पुग्न सकेन। व्यापार गर्न चाहने युवा पुस्ता एवं नयाँ पुस्तासम्म पुग्न सकेन। उनको सफलताको कथा केवल उनको परिवारका सदस्यहरूमा मात्र सीमित हुन पुग्यो। जबकि उनको त्यो सफलता वा अनुभवबाट थुप्रै व्यक्ति लाभान्वित हुन सक्थे। व्यापार गर्ने सफल तरीका सिक्थे।
नेपालमा केडिया मात्र होइन, अन्य थुप्रैले कडा सङ्घर्ष गरेर सफलता हासिल गरेका छन् तर तिनको अनुभव पारिवारिक सदस्यहरूमा मात्र सीमित हुन पुगेको छ। व्यापार गर्न चाहने अनेक व्यक्तिमा हस्तान्तरण हुन सकेको छैन। यस्तो किन भएको हो भने हामी कहाँ अनुभवको व्यवस्थापन र हस्तान्तरण गर्ने परिपाटीको ठूलो अभाव छ।
नेपालका कलेजहरूमा व्यापार विषय पढ्ने विद्यार्थीहरूलाई नेपालका ठूला–ठूला व्यापारिक सङ्गठनहरूमा लगेर व्यापारी वा प्रमुख पदाधिकारीबाट व्यापारसम्बन्धी ज्ञान लिन लगाइएको कमै पाइन्छ। तर त्यस्तो गर्नु आवश्यक हुन्छ। विद्यार्थीहरूलाई व्यापारको कोरा ज्ञान पढाएर मात्र हुँदैन। उनीहरूलाई व्यापारको व्यावहारिक ज्ञान दिनुपर्छ। अनि मात्र व्यापारमा सफल हुन्छन्। शिक्षामा गरेको लगानीको राम्रो प्रतिफल पाउँछन्। आफू पनि रोजगारी हुन्छन् र अरूलाई रोजगार दिन्छन्।
राष्ट्रिय एवं अन्तर्राष्ट्रिय व्यापारमा सफलता प्राप्त गरेका वा धनी राष्ट्रहरूमा व्यापारिक ज्ञानको व्यवस्थापन एवं हस्तान्तरण प्रभावकारी किसिमले गरिएको पाइन्छ। ती राष्ट्रहरूले व्यापारिक ज्ञानलाई पनि एक किसिमको पूँजी वा सीपको रूपमा लिएका छन्। र यो कारणले गर्दा व्यापारमा प्रगति गरेका छन्।
उदाहरणको रूपमा अमेरिकामा गरिने व्यापारिक ज्ञानको व्यवस्थापन एवं हस्तान्तरणबारे चर्चा गरौं। अमेरिकामा गैरमुनाफामूलक एउटा संस्था छ जसको नाम स्कोर (क्ऋइच्भ्(क्भचखष्अभ ऋयचउक या च्भतष्चभम भ्हभअगतष्खभक) हो। यस संस्थासँग आबद्ध भएर विगतमा व्यापार गरेका (व्यापारनिवृत्त) व्यापारधनी (दगकष्लभकक यधलभचक), कार्यकारी प्रमुख (भहभअगतष्खभक) तथा व्यक्तिविशेष (ष्लमष्खष्मगबकि) ले व्यापार गर्न चाहनेलाई आफ्नो अनुभव सुनाएर सहयोग गर्छन्। कसरी व्यापार स्थापना गर्ने र त्यसको सञ्चालन गर्नेबारे जानकारी (सीप) दिन्छन्। व्यापार गर्दा उत्पन्न समस्या समाधान गर्न राय दिन्छन्।
खासगरी सानो पूँजीमा व्यापार सञ्चालन गरेका व्यापारधनीहरूले स्कोरबाट व्यापारसम्बन्धी अनेक किसिमका उपयोगी जानकारी प्राप्त गर्छन्। यो संस्थाको स्थापना सन् १९६४ मा भएको थियो। यो संस्थाले अनलाइन पनि जानकारी एवं सूचना सम्बन्धित व्यक्ति समक्ष पु–याउने गर्दछ।
स्कोर अमेरिका एउटा बृहत् सङ्गठन हो। यसले राष्ट्रव्यापीरूपमा कार्य गर्छ। यसको उद्देश्य मुनाफा गर्नु नभएर व्यापारिक ज्ञान बाँड्नु हो। ज्ञानको प्रभावकारी व्यवस्थापन एवं वितरण तथा हस्तान्तरण गर्नु हो। स्कोरसँग आबद्ध भई विगतमा व्यापार गरेर अनुभव बटुलेका १० हजारभन्दा बढी पूर्व व्यापारीहरूले निश्शुल्क सेवा प्रदान गरिरहेका छन। अर्थात् ती पूर्व व्यापारी वा पूर्व कार्यकारी प्रमुखहरूले व्यापार गर्न चाहने व्यक्तिलाई व्यापार गर्न सिकाइरहेका छन्। व्यापार गर्न सहयोग गरिरहेका छन्। आफ्नो व्यापारिक अनुभव उनीहरूलाई हस्तान्तरण गरिरहेका छन्। स्कोरले अहिलेसम्म एक करोड दस लाखभन्दा बढी व्यक्तिलाई व्यापारसँग सम्बन्धित सूचना एवं जानकारी दिएर सहयोग गरिसकेको छ।
अमेरिकामा ज्ञानको विकास, प्रयोग एवं व्यवस्थापन व्यवस्थित किसिमले गरिन्छ। कुनै व्यक्तिले व्यापारिक क्षेत्रमा प्राप्त गरेको ज्ञानलाई अति महत्व दिइन्छ र संस्थागत पनि गरिन्छ। र त्यस ज्ञानको हस्तान्तरण गरिन्छ। अमेजनको जनक जेफ बेजोज हुन् वा माइक्रोसफ्टका जनक बिल गेट्स, यसैगरी एपलका जनक स्टिभ जब्स, यी सबैका ज्ञान (कुशलता) लाई कम्पनी स्थापना गरेर व्यवस्थित गरिएको छ। यी व्यक्ति भोलिका दिनमा नभए पनि उनीहरूले विकास गरेको ज्ञानबाट आउने पीढी लाभान्वित हुने क्रम जारी रहने छ। देशले फाइद पाइनै रहने छ।
हामीकहाँ ज्ञानको व्यवस्थापन र त्यसको हस्तान्तरण व्यवस्थित किसिमले गर्ने कुशल परिपाटीको विकास गर्नु अत्यावश्यक छ। नेपालका सफल व्यापारी एवं व्यापारिक सङ्गठनका प्रमुखहरूले अवकाश प्राप्त गरेपछि एउटा सङ्गठन स्थापना गरेर त्यसमार्फत व्यापार विषयका विद्यार्थी तथा व्यापार गर्न चाहने व्यक्तिलाई आफ्नो अनुभव बाँड्ने हो भने नेपालको व्यापारिक विकासमा ठूलो योगदान पुग्ने थियो। नयाँनयाँ व्यापारको सृजना भएर रोजगार विस्तार हुने थियो। देशको आर्थिक विकासमा टेवा पुग्ने थियो।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्