वीरगंजमा खुल्यो एक अर्बको पाँच तारे रिसोर्ट

0
238

राधेश्याम पटेल, परवानीपुर, २५ मङ्सिर/
प्रदेश २ मै एक मात्र पाँच तारे रिसोर्ट वीरगंजमा सञ्चालनमा आएको छ। वीरगंजका व्यवसायी सुनील खेतानको एक अर्ब रुपैयाँको लगानीमा वीरगंज–१४ बहुअरीमा हिमाल वाटरपार्क एन्ड भिलेज रिसोर्ट सञ्चालनमा आएको हो। करीब ३ वर्षअघि निर्माण कार्य शुरू भएको यो रिसोर्ट दुर्ई बिघा क्षेत्रफलमा फैलिएको छ। भारतको चर्चित होटल ब्रान्ड क्लार्कले व्यवस्थापकीय जिम्मेवारी लिएको रिसोर्टमा ६० वटा आरामदायी कोठा, १५ सयदेखि २ हजार मानिस अट्ने कन्भेन्सन हल, चारवटा डेढ सयदेखि ३ सयजना अट्ने सभा हल, स्वीमिङ पुल, क्यासिनो, साङ्गीतिक कार्यक्रमको लागि ओपेन एयर थियटर पार्क, ओपेन एयर किचेन, पर्याप्त पार्किङ स्थल, बगैंचालगायत संरचना निर्माण गरिएको छ।
नारायणी सिंचाइ डिभिजन नं ५ गण्डक बहुअरीभन्दा ७ सय मिटर पूर्व अवस्थित रिसोर्टले एक सातादेखि कन्भेन्सन हल र रेस्टुराँ सञ्चालनमा ल्याएको छ भने ६० वटा कोठासहितको होटल ब्लकको काम अहिले पनि जारी छ। आगामी ८ महीनामा होटल ब्लकको काम सम्पन्न गर्ने रिसोर्टका सञ्चालक खेतान बताउँछन्। वीरगंज उद्योग वाणिज्य सङ्घका उपाध्यक्षसमेत रहेका खेतानले यसअघि कागज उद्योग र रेडियो व्यवसायमा लगानी गरेका थिए। वीरगंजमा सुविधासम्पन्न रिसोर्टको आवश्यकता महसूस गर्दै भारतको क्लार्क ब्रान्डले लखनउको पाँच तारे होटल अवधबाट जारी राखेको होटल फ्रेन्चाइजसँग नेपालमा पहिलो अन्तर्राष्ट्रिय चेन होटलको रूपमा हिमाल वाटर पार्क एन्ड भिलेज रिसोर्टलाई अनुबन्धित गरेको थियो। रिसोर्टका सञ्चालक खेतानले भने– “लगानी मेरो हो, सञ्चालनको जिम्मा चर्चित ब्रान्ड क्लार्कलाई दिएको छु, यो उसको पहिलो विदेशी प्रडक्ट भएकोले आशा छ, अन्तर्राष्ट्रियस्तरको रिसोर्टको सुविधा ग्राहक तथा पर्यटकले पाउनेछन्।” होटल ब्लक बनेपछि रिसोर्ट परिसरमा चारवटा एक्जुकेटिभ स्वीट्स, आठवटा एक्जुकेटिभ कोठा, आठवटा स्वीट्स, २६ वटा किङ र फुल फ्लेज्ड रेस्टुराँ सञ्चालनमा आउनेछन्। अहिले रिसोर्टमा जन्मदिन, वैवाहिक वर्षगाँठ, वैवाहिक कार्यक्रमको बुकिङ खुला गरिएकोमा एक सातामा तीनवटा कार्यक्रम सम्पन्न भएको उनले बताए। व्यवस्थापकीय पक्षको जिम्मा लिएको क्लार्कले १५ जना कर्मचारी नियुक्त गरेको छ भने रिसोर्टले नेपाली ५० जनालाई प्रत्यक्ष रोजगार दिने प्रारम्भिक चरणको तयारी रहेको जनाएको छ।
वीरगंजमा अन्तर्राष्ट्रिय मापदण्ड मुताबिक सञ्चालन हुने दियालो लड्र्स प्लाजापछि यो दोस्रो लगानी हो। दियालोमा भारतीय फ्रेन्चाइज लड्र्स प्लाजाले प्रबन्धन हेर्दै आएको छ। सो हाटेलमा वीरगंजका उद्योगी अनिल रूँगटाको लगानी छ। उक्त होटल चार तारे मापदण्डमा एक वर्षदेखि सञ्चालनमा छ। रिसोर्ट सञ्चालनमा आएपछि साढे ४ देखि ७ हजारसम्ममा आरामदायी कोठा बूक शुरू गर्ने तयारी छ। ग्लोबल आइएमई बैंकले ऋण उपलब्ध गराएको रिसोर्टले प्रदेश २ कै होटल व्यवसाय क्षेत्रमा एउटा महत्वपूर्ण योगदान पु–याउने विश्वास लिइएको छ। “मलाई लाग्छ, काठमाडौंपछि वीरगंजमा यस्तो स्तरीय रिसोर्ट सञ्चालनमा आएको छ, यसले प्रदेश २ मा बिहार, उत्तरप्रदेश तथा अन्य राज्यबाट वैवाहिक कार्यक्रम तथा अन्य औद्योगिक प्रयोजनको लागि आउने पयर्टकलाई आकर्षित गर्छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्