सामाजिक व्यवहारमा मानव अधिकारको प्रयोग

98

सञ्जय साह मित्र

अन्तर्राष्ट्रिय मानव अधिकार दिवस सबैको साझा र प्रिय दिवस हुनुपर्दछ। विश्वका जुनसुकै कुनाका मानवले आफ्नो अधिकार पाउनुपर्दछ भन्ने मान्यता रहेको यस मानव अधिकारको अवधारणालाई सबैले सम्मान पनि गर्नुपर्दछ। सिद्धान्तमा त मानव अधिकारको विरोध गर्ने मानिस कमै भेटिन्छन् तर व्यवहारमा यसको प्रयोग गर्न धेरै हच्किने गरेको अवस्था पनि नरहेको होइन। अझ कतिपय अवस्थामा मानव अधिकारको रक्षा गर्नेबाट समेत कहिलेकाहीं त्रुटि भएको पाइन्छ। मानव अधिकार आयोगले पनि सरकारलाई सचेत गराएको देखिन्छ, बेला बेलामा।
अझ ग्रामीण समाजमा मानव अधिकारबारे धेरै हदसम्म अनभिज्ञ रहेको छ। मानव अधिकार यस्तो अधिकार हो जुन सबै मान्छेले केवल मानव भएको नाताले पाउनुपर्दछ। यी अधिकारहरू विश्वव्यापी हुन्, त्यसैले प्रत्येक मानिसले मानव अधिकार पाउनुपर्दछ। वास्तवमा मानव अधिकार मानिसको आधारभूत अधिकार हो। मान्छेको जात, धर्म, सम्प्रदाय, उमेर, लिङ्ग, राष्ट्रियता, राजनीतिक विचार, ज्ञान, अपाङ्गता, लैंङ्गिक झुकाव, लैंङ्गिक परिचय आदिले कुनै पनि व्यक्तिको मानव अधिकारमा फरक पर्दैन र पर्नु पनि हुँदैन। मानव अधिकार हरेक जात, धर्म, समुदाय, सम्प्रदाय, राष्ट्रियता, उमेर, लिङ्ग तथा राजनैतिक आस्थाका मानिसले पाउनुपर्दछ। किनभने यो प्रत्येक मानिसले पाउने अधिकार हो। मानिस भएकै कारणले पाउने अधिकार हो। तथा मानव अधिकारको मान्यता अनुसार यसको प्रकृति विश्वव्यापी, अविभाज्य र अहरणीय हुन्छ।
मानव अधिकार अन्तर्गत के–के पर्दछ भन्ने कुरामा पनि एकरूपता रहेको पाइँदैन। संयुक्त राष्ट्र सङ्घीय मानव अधिकार आयोगले विश्वमा मानव अधिकार रक्षाको लागि प्रयास गरेको पाइन्छ। विभिन्न देशका मानव अधिकार आयोग तथा विभिन्न देशका राष्ट्रिय अनि अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूले पनि मानव अधिकारलाई विभिन्न किसिमले परिभाषित गरेका छन्। मानव अधिकारको क्षेत्र निकै व्यापक रहेको पाइन्छ तर कहिलेकाहीं यसको विस्तृत क्षेत्रबारे मतभेद पनि पाइन्छ। जे जति मतभेद भए पनि मानिसको जीवन जिउने अधिकार, आफ्नै निम्ति काम गर्न पाउने अधिकार, दास हुनु नपर्ने अधिकार, सम्पत्तिमाथि अधिकार, बोल्ने स्वतन्त्रताको अधिकार, ज्यानको सुरक्षा, कुनै देशको नागरिक हुन नपाउनु, मताधिकारको अधिकार, उचित शिक्षाको अधिकार, स्वतन्त्र विचार राख्न पाउने अधिकार, स्वतन्त्ररूपमा विचार व्यक्त गर्न पाउने अधिकार तथा रोजगार गर्न पाउने अधिकार मानिसका आधारभूत अधिकार हुन् भन्ने कुरामा करीब सबै एकमत रहेको पाइन्छ।
मानव अधिकारको क्षेत्र व्यापक रहेको तथा निगरानी गर्ने संस्थाहरू पनि पर्याप्त रहेको अनि देशको संविधान तथा कानूनले समेत मानव अधिकारको रक्षा गर्नुपर्ने बताएको अवस्था रहे पनि व्यावहारिक सामाजिक जीवनमा मानव अधिकारको अवस्था कस्तो छ ? यस विषयमा धेरै कम चर्चा भएको पाइन्छ। छलफल र बहसमा मुख्यगरी शहरी मानव अधिकारको प्रसङ्ग बढी आउँछ तर ग्रामीण समाजमा मानव अधिकारको अवस्था कमजोर रहेको र यसबारे न खासै चेतनाको विस्तार भएको पाइन्छ र न मानव अधिकार रक्षाको लागि खासै प्रयास भएको नै पाइन्छ।
अझै पनि ग्रामीण समुदायमा पञ्चायती गर्ने चलन छ। पञ्चायतको निर्णय गाउँ समाजको निर्णय मानिन्छ। यसमा नियम, कानून तथा मानव अधिकारको खासै वास्ता गरिन्न। कोही कसैको घरमा पसेर चोरी गरेको होओस् वा युवती तथा महिलालाई जिस्क्याएको होओस् वा कहिलेकाहीं त बलात्कारका घटना नै किन नहोओस्, गाउँ–समाजका मानिस बसेर सकेसम्म प्रहरी, प्रशासन वा अदालतमा पुग्न नदिई समाजमैं मिलाउन खोज्दछन्। यस प्रकारका पञ्चायतीमा महिलालाई बोल्ने अधिकार खासै हुँदैन। महिलाले बोल्न खोज्नु वा महिलाले आफ्नो तर्क राख्न चाहनुलाई कतिपयले नकारात्मकरूपमा नै लिने गरेको पाइन्छ अहिले पनि।
अझै पनि, प्रायः हरेक वर्ष कहीं न कहीं महिलामाथि बोक्सीको आरोप लगाउने गरेको घटना सार्वजनिक हुन्छ। बोक्सीको आरोप लगाउने कुनै व्यक्ति हो भने त कारबाई गराउन सकिन्छ तर एक व्यक्तिले महिलामाथि दुव्र्यवहार गरेपछि उसलाई चुनावमा सहयोग गरेको तथा आफ्नो जात र धर्म भएको र अन्य कुनै किसिमले प्रभावको मानिस भएको भनी मिलाउन खोजिन्छ। यसले गर्दा अपराध बढ्दछ वा अपराधीको मनोबल बढ्दछ। पीडितको मानव अधिकारको रक्षाको पक्षको हो भन्ने कुरामा कसैको ध्यान गएको हुँदैन। कोही पनि मानिस बोक्सी हुँदैन तथा कसैको नजर कसैमाथि लाग्दैन भन्ने कुरा थाहा हुँदाहुँदै पनि मानिसले आफ्नो स्वार्थको कारण बोक्सी र अन्य आरोप लगाई मानव अधिकारमाथि धावा बोल्ने काम गर्दछन्।
पछिल्लो चरणमा मानव अधिकारलाई राजनैतिक तथा समाजवादी दृष्टिकोणले हेर्नेहरूले गाँस, वास, कपास तथा शिक्षा र स्वास्थ्यजस्ता आधारभूत आवश्यकतालाई पनि मानव अधिकारको अङ्गको रूपमा विश्लेषण गर्न थालिएको छ। आधुनिक युगमा यसलाई सही मान्न पनि सकिन्छ। विज्ञान र प्रविधिका साथै भौतिक विकासले निरन्तर उन्नति गर्दै गएको छ तर अझै पनि मानिसको अगाडि भोकको समुद्र वा पहाड छ जसलाई नाघ्न गरीबलाई सजिलो छैन। गरीबीले मानव अधिकारको रक्षा गर्न केही समस्या उत्पन्न भएको देखिन्छ। विश्वमा कति मानिस गरीब छन् र गरीबीको कारण कति मानिस भोकभोकै मर्न बाध्य छन् भन्ने तथ्य पनि निरन्तर सार्वजनिक भइरहेका छन्।
अन्धविश्वास र गरीबीले एक अर्कालाई सहयोग गरिरहेको छ। यसले गर्दा अशिक्षाको अँध्यारोले समाजलाई छोड्न सकेको छैन। शिक्षाको अभावमा मानिस रोजगारको लागि भौंतारिनुपरेको तथा निकृष्ट श्रम गर्न बाध्य बनेका छन्। श्रम गर्न गएका कति मानिसको लाश मात्र फर्केर आउँछ। कतिपय श्रमिक विदेशमैं जेलमा जीवन व्यतीत गरिरहेका छन्। विदेशमा श्रम बेच्न गएका कतिपयको घरपरिवारको विचल्ली भएको देखिन्छ। यस प्रकारका मानिसको लागि संरक्षण दिने मानव अधिकारको आवश्यकता अझै पनि रहेको छ। स्वदेशमैं रोजगार प्राप्त गर्न सक्ने योग्य नागरिक बनाउन समाज अझै चुकेको देखिन्छ। यसले गर्दा अभिभावक घरबाहिर एक्लै रोजगार खोज्न जानुपर्दा सानासाना बालबालिकाहरूले संरक्षणको अधिकार पाउन सकेका छैनन्। अझ कतिपय बालबालिकाका आमा पनि बिरामी रहने वा गाउँघरमा पनि श्रम गर्ने हुन्छन्। यस प्रकारका बालबालिका सानै उमेरमा बाल अधिकार वा मानव अधिकारबाट वञ्चित हुन पुग्छन्। समाजले सामान्य सहानुभूति राख्नबाहेक के पो गर्न सक्छ र ?
रोग, भोक र शोकले थलिएका मानिसलाई कस्तो मानव अधिकार चाहिएला ? अथवा खान नपाएका, औषधि उपचार नपाएका र अभिभावक गुमाएका बालबालिकाहरूलाई कस्तो प्रकारको अधिकार दिंदा हुन्छ ? वास्तवमा यस प्रकारका मानिसलाई जति धेरै अधिकार दिए पनि यदि कागजमा सीमित रहने अवस्था रहिरहन्छ भने यस प्रकारका मानिसले केही पाउँदैनन्। केही समय पहिले कोही सडक–मानव नबनोस् भनी धेरै शहरलाई सडक मानवमुक्त घोषणा गरिएको थियो र यसको प्रसार अन्य शहरसम्म होला भन्ने अपेक्षा पनि गरिएको थियो तर साना बजारहरूमा सडक मानव देखिइ नै रहेकाछन्। सडककै छेउमा सुत्ने र जे पायो त्यहीं खाने वा भोकै बस्ने हुन्छन्। समाजले पनि सहयोगभन्दा बढी सहानुभूतिको नजरले हेर्दछ। कुनै होटलमा कुनै सामान उब्रेको छ भने खान दिन्छन् र त्यस्ता मानिसले खुशी भएर खान्छन्। यो बडो मार्मिक दृश्य हुन्छ। यस्ता मानिसको समस्या के हो ? किन कोही सडक मानव बन्छ ? कसरी सुरक्षित र मर्यादित जीवन बिताउन सकिन्छ ? यस प्रकारका मानिसलाई हेर्ने वा संरक्षण गर्ने निकाय पनि होला तर किन यस्ता सडक मानवहरू कम भइरहेका छैनन् ? वास्तवमा यस प्रकारका मानिसलाई धेरै किसिमले सहयोग, सहानुभूति र प्रेमको आवश्यकता रहन्छ जसबाट पूर्णतया वञ्चित छन्।
मानव अधिकार संरक्षणको क्षेत्रमा धेरै राम्रा कामहरू भएका छन्। नेपाल तथा विश्वमा कार्यरत मानव अधिकारसम्बन्धी सङ्घसंस्थाहरूले गरेका कामहरू प्रशंसनीय छन्। मानव अधिकारको दृष्टिले अहिलेको जस्तो फराकिलो दिन विगतमा थिएन तर पनि मानव अधिकारको आलोकबाट अझै केही मानिस साँच्चीकै वञ्चित छन्। मानव अधिकारको न्यानो घाममाथि त्यस्ता मानिसको अधिकार स्थापित गराउनेतर्फ पनि ध्यान जानुपरेको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्