शिक्षामा परिवार, विद्यालय र समुदायको भूमिका

100

अनन्तकुमार लाल दास

विद्यार्थीहरूमा ज्ञान र भावनात्मक कुशलताको विकास गर्ने कार्य शिक्षाको हो। विद्यार्थीहरूलाई भावी जीवनमा आउने चुनौतीहरूको सामना गर्नको लागि जीवनोपयोगी सीपसँग सुसज्जित गर्ने कार्य पनि शिक्षाको नै हो। विद्यार्थीहरूलाई एउटा सार्थक व्यक्तिगत जीवन सँगसँगै कामकाजी जीवनको लागि तयार गर्ने काम पनि शिक्षाको नै हो। तर दुर्भाग्यवश शिक्षाको वर्तमान अवधारणामा विद्यार्थीहरूको समग्र विकासको साटो जानकारी वा सूचना मात्र दिने काम भइरहेको छ। हुन त विद्यार्थीहरूले आफ्नो क्षमताको सक्दो उपयोग गरेर आत्मविश्वासका साथ चुनौतीहरूको सामना गर्न प्रशिक्षित गर्नुपर्छ, तर वर्तमान शिक्षा प्रणालीमा यस कुरामाथि यथेष्ट ध्यान दिइएको छैन। विद्यार्थीहरू जसैजसै ठूलो हुँदै जान्छन् हेरेर, सुनेर, स्वयं आफ्नो अनुभवको विश्लेषण गरेर र आफ्नो वरिपरिको वातावरणको अवलोकन गरेर धेरै हदसम्म विभिन्न प्रकारका जीवनोपयोगी सीपहरू सिक्दै जान्छन्।
दुर्भाग्यवश बौद्धिकरूपले विकलाङ्ग केटाकेटीमा यस्तो जीवनोपयोगी सीपको अभाव हुन्छ। उनीहरूको लागि चाहिने सीपको प्रशिक्षणमा ध्यान केन्द्रित गर्नु आवश्यक छ। यसको लागि ठीक समयमा शारीरिक सीप, बोध र ज्ञानसँगै भावनात्मक प्रशिक्षण प्रारम्भ गर्नुपर्छ र पछि कार्यात्मक शिक्षा र व्यावसायिक सीप प्रशिक्षण दिनुपर्छ। तर विकलाङ्ग बच्चालाई शिक्षित गर्ने कुरा गर्दा परिवार र समुदायले उनीहरूको तुलना एउटा सामान्य बच्चासँग गर्न थाल्छन् जुन सही होइन। सबैभन्दा पहिले के बुझ्नुपर्छ भने विकलाङ्ग केटाकेटीहरूको लागि शिक्षाको अर्थ के हो ? विकलाङ्ग केटाकेटीहरूको शिक्षा समग्ररूपले एउटा कार्यक्रममाथि केन्द्रित हुनुपर्छ र त्यसको अन्तिम लक्ष्य बच्चा स्वतन्त्ररूपले जीवनयापन गर्न सकोस् भन्ने हुनुपर्छ। यसको लागि प्रशिक्षणको शुरूआत यथाशीघ्र गर्नुपर्छ किनभने उनीहरूलाई किशोरावस्था र वयस्कावस्थाको लागि समयमैं जग तयार गर्न र स्वतन्त्ररूपले जीवनयापनसम्बन्धी सीप सिकाउन सकियोस्।
उनीहरूको व्यक्तिगत क्षमताको आधारमा जागीर, योग्य र आर्थिकरूपले स्वतन्त्र हुनुको लागि व्यावसायिक प्रशिक्षण दिनुपर्छ। कुनै पनि प्रकारको विकलाङ्गता आत्मनिर्भर बन्नको लागि अवरोध नठानेर प्रशिक्षत नगर्ने कारण मान्नुहुँदैन। विकलाङ्ग केटाकेटीहरूलाई अवरोधबेगर शिक्षित हुने प्रत्येक अवसर दिनुपर्छ। उनीहरूलाई उनीहरूको आवश्यकता अनुसार प्रशिक्षित गर्नुपर्छ किनभने चुनौतीहरूका बावजूद उपयुक्त जागीर पाउनुको साथै स्वतन्त्ररूपले जीवन जिउने क्षमता उनीहरूमा  विकसित हुन सकोस्। उनीहरूलाई सशक्त बनाउने खालको विशेष शिक्षा हुनुपर्छ। उनीहरूलाई कहिल्यै पनि परिवार र समाजको दायित्व मान्नुहुँदैन। विकलाङ्ग केटाकेटीहरूलाई शिक्षित गर्न परिवार, विद्यालय र समाजको महत्वपूर्ण भूमिका हुन्छ। जब यी तीनै मिलेर काम गर्छन् तब विकलाङ्गहरूलाई सम्मान, स्वीकार र सही तरीकाले समाजमा समायोजन गर्न सकिन्छ। यस प्रकारको शक्तीकरण नै विशेष शिक्षाको अन्तिम लक्ष्य र विकलाङ्ग केटाकेटीहरूको अधिकार पनि हो।
आमाबुवा नै केटाकेटीहरूको हेरचाह गर्ने प्रमुख मानिस हुन् भन्ने कुरालाई कसैले झूटो साबित गर्न सक्दैन। उनीहरूको जीवनको लक्ष्य नै उनको सन्तान कसरी आत्मनिर्भर र सफल हुन्छ भन्ने हेर्नु हो। विकलाङ्ग केटाकेटीहरूप्रति उनीहरूको जागरुकताले नै भाइबहिनीले पनि विकलाङ्ग भाइ वा बहिनीलाई शिक्षित र प्रशिक्षित गर्न सहयोग र सघाउ पु–याउँछन्। हुन त विद्यालय र उपचार प्रशिक्षणले पनि विकलाङ्गहरूलाई योग्य बनाउँछ, तर आमाबुवा र परिवारको भागिदारीले विकलाङ्ग केटाकेटीलाई निर्धारित लक्ष्य हासिल गर्नको लागि महत्वपूर्ण भूमिका निर्वाह गर्छ। जुन केटाकेटीलाई परिवारको समर्थन प्राप्त हुन्छ उनीहरू जीवनको हरेक क्षेत्रमा सजिलै सफलता हासिल गर्छन्।
यसैगरी कुनै विद्यालय जसले विकलाङ्ग केटाकेटीलाई विशेष वा समावेशी शिक्षा दिन चाहन्छ, उसको प्राथमिक उद्देश्य त्यस्ता विद्यार्थीहरूको समग्र विकासका लागि चाहिने वातावरण उपलब्ध गराउनुपर्छ। त्यस्ता विद्यालयलाई परिवार र समुदायसँग सम्बन्ध कायम गर्नु नितान्त आवश्यक हुन्छ। परिवार र समुदायलाई पनि आफ्नो कार्यमा सामेल गराउनुपर्छ। विद्यालयले पनि उनीहरूको विकासका लागि क्रमशः शारीरिक, भाषागत, भावनात्मक, ज्ञान र बोध र सामाजिक जस्ता पाँचवटै क्षेत्रमा ध्यान केन्द्रित गर्नुपर्छ। व्यक्तिगत शिक्षा योजनामा मूल्याङ्कनको मापदण्ड, उल्लिखित प्रत्येक क्षेत्रको लागि निर्धारित गर्नुपर्छ। चुनौती र क्षमतालाई सँगसँगै अगाडि बढाउनुपर्छ र चिकित्सकीय हस्तक्षेप पनि यसमा सामेल गर्नुपर्छ।
जुन समुदायमा बच्चा हुर्किरहेको हुन्छ, त्यस समुदायलाई पनि विकलाङ्ग बच्चा, परिवारको मात्र हैन उसको पनि जिम्मेवारी हो भन्ने कुरा बुझ्नुपर्छ। परिवार र समाजमा घुलमिल गर्नु सामाजिक कार्य हो र वास्तविक अर्थमा यो तब मात्र सम्भव हुन्छ, जब छिमेकी र जनमानसले विकलाङ्ग केटाकेटीसँग आम केटाकेटी सरह व्यवहार गर्छन् र उनीहरूलाई सोही रूपमा अँगाल्छन्। यसरी जीवनको हरेक पाइलामा उनीहरूलाई चाहिएको सहयोग उपलब्ध गराउनुपर्छ, किनभने दृष्टिकोण र धारणाले हाम्रो कार्यलाई प्रभावित गर्दछ। यस कारण विकलाङ्ग केटाकेटीहरूलाई परिवारबाट निकालेर विद्यालय पठाउन निकै आवश्यक छ।
यहींनिर विकलाङ्ग केटाकेटीहरूको उत्थानका लागि उपयुक्त रणनीतिको आवश्यकता हुन्छ। हाम्रो पाठ्यक्रम शिक्षा सँगसँगै जीवनोपयोगी सीप, सम्प्रेषण कला र सामाजिक सीपमाथि निर्भर छ र यसपछि व्यावसायिक सीपको प्रशिक्षण दिइन्छ। यसमा शिक्षक, सहकर्मी र चिकित्सक सामेल हुन्छन्। विद्यालयमा भर्ना हुनासाथ विभिन्न प्रकारका प्रशिक्षण जस्तै शौचालय प्रयोग गर्ने तरीका, नुहाउने, व्यक्तिगत सरसफाइ, स्वतन्त्र रूपले खाना र खाजा खाने तरीका सिकाउन प्रारम्भ हुन्छ। तर विडम्बना के हो भने धेरैजसो अभिभावकहरूले जीवनमा चाहिने यस्ता आधारभूत कुराहरूको महत्व नै बुझेका छैनन्। उनीहरूले यस सन्दर्भमा कि केटाकेटीमा भएको क्षमताको सही मूल्याङ्कन गर्दैनन् वा उनीहरूलाई बढी संरक्षण दिन्छन्। प्रमुख चुनौती के हो भने विद्यार्थीहरूलाई ठूलो हुने अनुमति नै दिइँदैन। परिणाम स्वरूप उनीहरू विद्यालयमा शिक्षक र परिवारका सदस्यमाथि निर्भर हुन थाल्छन् र उनीहरूमा राम्रो र नराम्रो स्पर्श नबुझ्ने खतराको सम्भावना रहिरहन्छ। आवश्यक के छ भने वयस्क हुने क्रममा आफ्नो सुरक्षाको लागि सामाजिक सीमालाई बुझ्नु धेरै महत्वपूर्ण हुन्छ।
यसैगरी अभिभावकहरूले पनि के बझ्नुपर्छ भने जीवन–यात्रामा एक समय उनीहरूको पनि शारीरिक र तत्सम्बन्धी यौन विकास हुन्छ र यसलाई प्रबन्धन गर्नको लागि पहिलेदेखि नै तयारी गर्नुपर्छ, अन्यथा यही कुरा आमाबुवाको लागि ठूलो चुनौतीको रूपमा उभिन्छ। समाजले पनि विकलाङ्ग केटाकेटी परिवारका मात्र होइनन्, सम्पूर्ण समुदायको जिम्मेवारी हो भन्ने ठान्नुपर्छ। यसको लागि उनीहरूलाई विभिन्न सामाजिक परिस्थितिमा प्रशिक्षण दिनुपर्छ। जस्तै कसैसँग भेट गर्न अर्काको घरमा जानु, उनीहरूसँग कसरी कुरा गर्ने भन्ने सिकाउनु आदि। यसबाहेक उनीहरूको व्यवहारको सूक्ष्म अवलोकन गरेर सो अनुरूप अर्को कार्ययोजना निर्माण गर्नुपर्छ। विद्यार्थी र अभिभावक दुवैलाई साङ्केतिक भाषाको प्रशिक्षण दिनुपर्छ। यसबाट विद्यालय र परिवारमा संवाद गर्न कठिनाई हुँदैन। एउटा बच्चालाई जब यस्ता आधारभूत कुराको ज्ञान हुन्छ तब उनीहरूको लागि समय र अर्थको कुरा, क्यालेन्डर अध्ययन गर्नु, ठाउँको पहिचान गर्नुजस्ता कार्य सजिलो हुन्छ। यसको लागि उनीहरूलाई वास्तविक जीवनको स्थितिमा लगेर तत्सम्बन्धी अवधारणा सिकाउनुपर्छ। जब विद्यार्थी स्वतन्त्ररूपले जीवनयापन गर्ने सीप हासिल गर्छन्, त्यसपछि उपयुक्त व्यावसायिक प्रशिक्षण दिनुपर्छ।
विकलाङ्ग केटाकेटीहरूलाई राम्ररी जीवनयापन गर्ने सीप प्रदान गर्नुमा परिवारको भावनात्मक समर्थन धेरै महत्वपूर्ण हुन्छ। यस प्रक्रियामा परिवार सामेल भएपछि मात्र उत्कृष्ट परिणाम देखापर्छ। व्यक्तिगत र व्यावसायिक प्रशिक्षणमा आमाबुवाको सपना, प्रयास र दृष्टिकोणले उनीहरूको प्रदर्शनलाई बलियो बनाउँछ। यसको लागि सकारात्मक पालन–पोषणसँगै आमाबुवा लगायत परिवारका सदस्यहरूको निरन्तर भागिदारी धेरै आवश्यक हुन्छ। खासगरी आमाको लागि यो धेरै चुनौतीपूर्ण हुन्छ किनभने दुर्भाग्यवश विकलाङ्गतालाई एउटा कलङ्कको रूपमा हेरिन्छ। जागरुकताको कमी र नकारात्मक दृष्टिकोणले गर्दा हाम्रो समाजमा विकलाङ्गले के नै गर्न सक्छ भन्ने बुझाइ छ। तर उचित शिक्षा र छरछिमेकको संवेदनशीलताले उनीहरू पनि समाजका अन्य सदस्यजस्तै ठाउँ ओगटन सक्छन्। उनीहरूको लागि आलोचक होइन, सहायक हुनु जरूरी छ। प्रत्येक विकलाङ्ग केटाकेटीलाई शिक्षाको तीनवटा महत्वपूर्ण लक्ष्य अर्थात् स्वतन्त्र जीवनयापन गर्ने कला, जागीर पाउने योग्यता र समाजमा घुलमिल गर्ने सामथ्र्य प्रदान गर्न यदि विद्यालय, परिवार र समाजले सकारात्मक योगदान दिन्छ भने उनीहरू पनि सामुदायिक जीवनतर्फ सजीलै अग्रसर हुन सक्छन्।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्