विद्यार्थी, शिक्षक, विद्यालय, समाज र कोरोना

0
49

रोशन सिंह

कोरोनाको शाब्दिक अर्थ भिन्दै भएपनि कोभिड–१९ को कारण कोरोना शब्ददेखि नै मानवजातिलाई एक प्रकारको द्वेषको अनुभूति भएको छ। हुन पनि किन नहोस् त १ ३ र ४ महीना त घरभित्रै थेचारिएर बस्नुपरेपछि। अलिपछि आएर घरबाहिर निस्कन पाएपछि अलिक बाहिरी हावाको सास फेर्न त पॉकै हो। तर के गर्नु आजको वैज्ञानिक युगमा, यस धर्तीकै सर्वश्रेष्ठ जीवलाई एउटा अदना भाइरसले आफ्नै ठाउँमा डल्लो पारेर कामै गर्न नदिएर थन्क्याएर राखेको कटु सत्य त पक्कै हो। कोरोना भाइरस खुलेआम संसार चहार्दै, घुम्दै छ तर मानवजातिले अझैसम्म राम्रोसँग अनुहार पनि देखाउन पाएको छैन। बाहिर निस्क्यो कि मास्क (नाक–मुख सुरक्षा कवच) लगाउन बाध्य छ। एउटा सुन्दर मानिसले आफ्नो सुन्दरता देखाउन नपाएर मास्क लगाएर अनुहार छोप्नुको पीडा त त्यो सुन्दर मानिसलाई नै थाहा होला। खासगरी सुन्दर महिलाको पीडा त झन् असह्य नै होला। राम्रो मिलेको दाँत देखाएर हाँस्न पनि नपाएको ९/१० महीना हेर्दाहेर्दै कटिसक्यो। एक/दुर्ई दशकसम्म कोरोना गएन भने कुनै व्यक्ति हाँसेको हो कि हैन भनी दाँतले हैन आँखाले थाहा पाउनुपर्ने हुन्छ होला। किनभने मास्क लगाएको व्यक्तिले हाँस्दा आँखा खुम्चिन्छ। अझै यो कोरोनाकाल कति लम्बिने हो पत्तो छैन। अब त बिस्तारै–बिस्तारै मानिसले कोरोनाबाट तुरुन्तै उन्मुक्ति पाउने आस गर्नै पनि छाडे जस्तो छ। त्यसैले होला बजारमा बाहिर हेर्दा मानिसको एकथरीको समूह पहिलेको भन्दा निकै ढुक्कसँग आफ्नो दैनिक कार्य गरेको भेटिन्छन्। अझ काठमाडौंबाहिर खासगरी तराईमा त मानिसको घुइँचो र विनामास्क बजारमा वा अझ भनौं भीडभाड हुने ठाउँमा पनि कोरोनाकालभन्दाअघिको जस्तो सामान्य जनजीवन भएको भान हुन्छ। हुनत त्यसमध्ये कतिपयलाई  तिनीहरूको आफ्नो बाध्यता पनि छ।
शिक्षा क्षेत्रमा कोरोनाको असर अनि त्यसबाट पीडितको पीडाकै कुरा गर्ने हो भने त शिक्षण संस्था एवं त्यसमा आबद्ध कर्मचारीहरूको त कति छ, त्यो त सबैले अन्दाज गर्ने मात्र हो, त्यसको गहिराइको यथार्थ आकलन त पीडितबाहेक कसलाई थाहा होला र ? अनि पीडितको कुरा गर्दा सबैको नजरबाट वञ्चित विद्यार्थी वर्ग पनि कम पीडित छैन। हो आर्थिकरूपमा सोझै नदेखिएकोले ओझेल परेको मात्रै हो। अब त विद्यार्थी वर्ग पनि अतिपीडित वर्गमा परेको भन्दा पक्कै पनि अतिशयोक्ति नहोला। किनभने भनाइ नै छ, गुमेको पैसा फेरि पनि कमाउन सकिन्छ तर गुमेको समय फेरि कमाउन सकिन्न। शिक्षण संस्थाले कोभिड–१९ को कारण गुमाउनुपरेको वा भनौं घाटामा गएको रकम फेरि कमाउन सक्छ। तर एउटा विद्यार्थीले चार वर्षको कोर्ष पाँच वर्ष लगाएर पढ्नुपर्दा थप एक वर्ष उसले जिन्दगीमा कहिलै फिर्ता पाउँदैन। कक्षा दशमा अध्ययनरत विद्यार्थीले भौतिकरूपमा पढ्न नपाएर भएको क्षति उसले जिन्दगीमा कहिल्यै पाउँदैन।
यो क्षतिको अनुभव एवं कति हुन सक्छ भन्ने कुराको यकीन अनि सोको आकलन गर्न सक्ने अवस्था न कसैसँग थियो, न कसैले गर्न सक्ने अवस्था छ। अब के क्षति भयो भनी अब हिम्मत हारेर चुप लागेर बस्ने ? कोरोना जाला अनि बल्ल जे गर्नुपर्छ गरौंला भनी कुरेर बस्ने ? शायद पक्कै पनि हैन होला। समयले कसैलाई कुर्दैन। विद्यार्थी भनेपछि धेरै साना उमेर एवं कक्षादेखि उच्च अध्ययनसम्म पर्छ। सानालाई भन्दा यसको असर जतिजति माथि कक्षामा गयो, उति धेरै परेको अवस्था छ। अझै भनौं भने उच्च अध्ययन र प्रयोगात्मक एवं प्राविधिक विषयलाई त झन् अझै मर्का परेको अवस्था छ। यतिमात्र हैन, दीर्घकालीनरूपमा हेर्ने हो भने यसले शिक्षा, विज्ञान एवं प्रविधिको क्षेत्रमा त सम्पूर्ण राष्ट्रलाई असर पार्ने अवस्था देखिन्छ।
केही समययता (अन्दाजी भनौं एक महीनाअगाडिदेखि) विद्यालयमा भौतिक पठनपाठन देशका विभिन्न भागमा हुँदै, विशेषगरी तराईबाट शुरू भएको र हाल काठमाडौं उपत्यकामा पनि शुरू भइसकेको अवस्था छ। काठमाडौं महानगरमा अहिलेसम्म खासै नभए पनि वरपरका पालिकाहरूमा त बिस्तारै–बिस्तारै धेरै विद्यालय खुलेका छन्। यस्तोमा सरकारले अपनाउनुपर्ने विद्यालय सञ्चालनका लागि हुनुपर्ने रणनीतिक योजनामा एकरूपता नभएकाले अभिभावकलाई पनि एक प्रकारको द्विविधापूर्ण अवस्था छ। सरकारलाई पनि आफ्नै अप्ठ्यारा र बाध्यता छ। कहिले पनि नभोगेको महामारीमा देशभरि एउटै योजना बनाएर कार्यान्वयन गराउन खोजे जति र सोचे जति उति सजिलो भने अवश्य छैन। कम सङ्क्रमित क्षेत्रमा विद्यालय सञ्चालन गर्ने भनी र आफ्नो टाउको जोगाउन भनी स्थानीय निकायलाई जिम्मा लगाउने गरिएको कार्ययोजना नै आजको स्थितिको परिणाम हो। स्थानीय निकायसँग भएको प्रविधि, प्राविधिक, अनुभव एवं अन्य कुरा जस्तै विद्यालयको सङ्ख्या, विद्यार्थीको सङ्ख्या, सङ्क्रमणको अवस्था, सङ्क्रमितको सङ्ख्या आदिको तथ्याङ्कले के निर्णय  गर्नेभन्दा पनि अरूले गरेकोले हामीले पनि स्वीकृति दिएको हो भन्ने अवस्था छ।
कहिले नचिताएको कुनै अप्रिय घटना नभएसम्म त ठीकै होला। तर आगामी दिनमा केही अप्रिय घटना भएमा सङ्क्रमण झनै नियन्त्रण बाहिर गएमा के होला ? त्यसको जिम्मेवारी कसले लिने हो। विद्यालयमा भौतिक दूरी कायम गर्न भनेजस्तो व्यवहारमा कदापि सजिलो छैन। विद्यार्थीलाई जतिखेर पनि कक्षा कोठामैं भौतिक दूरी कायम गरेर बसाउन कदापि सकिंदैन। त्यसमाथि अझ कहिले शौचालय, कहिले खेलमैदान त कहिले क्यान्टिन जानै पर्ने भएको हुँदा जता गए पनि सुरक्षाको मापदण्ड सबै विद्यार्थीले अपनाउने सम्भावना एकदमै न्यून छ।  कि त कोरोना हामीले पचाइसक्यौं भन्नुप–यो। कि त कोरोना लाग्दै गर्छ, विद्यालय चल्दै गर्छ भन्नुप–यो। कि त कोरोना नै छैन भन्न सक्नुप–यो। जुन भन्नै नमिल्ने हो।
कोरोनाले शैक्षिक क्षेत्रमा पारेको असर पनि समय अनुसार फरक–फरक छ। एकताका अनलाइन पढाउन नसकेको विद्यालय चिन्तित थिए भने हाल आएर यही अवस्था रहेमा अनलाइन कक्षा सञ्चालन भएका विद्यालय चिन्तित हुनुपर्ने अवस्था आउन सक्छ। किनभने एकथरी अभिभावक सङ्क्रमणबाट आफ्नो बालबालिकालाई खासै केही भइहाल्छ  भन्ने रतीभर पनि डर नमानी चाँडै विद्यालय खोल्नुपर्छ भनी दबाब दिंदै आएका छन्। फलानो विद्यालय त खुलिसक्यो, हाम्रा नानीबाबुको कहिले खुल्छ भनी सोधेको सोधै गर्नु अथवा अर्काेथरी आत्तिएर तुरुन्तै विद्यालय परिवर्तन गरेर भएपनि खुलेको विद्यालयमा भर्ना गराउन आतुर छन्। अनि यस्तै हुन थालेमा अनलाइन कक्षा सञ्चालन गरेकाले पनि बाध्य भएर भौतिकरूपमा विद्यालय सञ्चालन गर्नुपर्ने हुन्छ।
अब यसको सुरक्षित निकास के होला भनी सम्बन्धित निकायले सोच्नैपर्ने बेला आइसकेको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्