जङ्गली जनावरको आतङ्क

0
53

पर्सा जिल्लाका बासिन्दाहरू जङ्गली जनावरबाट पीडित भएका समाचारहरू बारम्बार आइरहेका छन्। जिल्लाको उत्तरतर्फको सिमाना जङ्गलसँग जोडिएको छ। त्यसैगरी, पश्चिमतर्फका केही भाग पनि वनजङ्गलसँग जोडिएका छन्। १४ वटा पालिकामध्ये एक ठोरी गाउँपालिकाको तीनवटा वडा त चारैतर्फबाट निकुञ्जको जङ्गलले घेरिएको अवस्थामा छ। यसो भएको कारण पनि जङ्गली जनावर सीधैं गाउँमा आइपुग्नु स्वाभाविक हो। जङ्गली हात्तीले बाली नष्ट गर्ने, घर भत्काइदिनेलगायत बर्सेनि मानिसको ज्यान लिइरहेको छ भने बाघ, चितुवा, स्याललगायतले घरपालुवा पशुपक्षीमा हानिनोक्सानी पु–याइरहेका छन्। यसैगरी, अन्य जङ्गली जनावरले अन्न तथा तरकारी बाली नष्ट गरेर किसानलाई क्षति पु–याइरहेको छ। यहाँको जङ्गलमा ठूला हात्तीदेखि साना दुम्सीसम्म पाइने हुँदा उक्त सबै खाले क्षति जङ्गलनजीकका बासिन्दाहरूले सहँदै आइरहेका छन्।
मानिसहरू रहरले सकस भोग्छन् कि करले ? यहाँ यो दुईवटै प्रश्नले छुँदैन। उनीहरू त रहर वा करले भन्दा पनि अल्छी, गैरजिम्मेवार र दूरदृष्टि नराख्ने निकम्मा भएको कारण सकस भोगिरहेका छन्। जङ्गली जनावर हावामा उडेर आउने होइन, स्थलमार्ग भएरै बस्तीमा प्रवेश गर्ने हुन्। जनावर बस्ती प्रवेश गर्ने गौडा नै बन्द गरिदियौं भने कहाँबाट प्रवेश गर्छ ? गौडा बाँध्न गा–हो छैन। विकल्पहरू धेरै छन्। टेन्च वा नाला, तारबार, सोलार फेन्सी र जैविक छेकबार जङ्गली जनावर नियन्त्रणका अहिलेसम्म चलेका उपायहरू हुन्। यसमध्ये पर्सामा कुनै पनि विधि अपनाइएको छैन। पैसा नभएर होइन, जिम्मेवारी र दायित्व नभएर हो। हरेक पालिकामा स्थानीय बासिन्दाकै लागि भनेर करोडौं रकम गइरहेको छ। वनजङ्गलसँग सम्बन्धित निकुञ्जका मध्यवर्ती क्षेत्रका एकाइहरूमा पनि संरक्षण कार्यकै लागि लाखौं रुपैयाँ स्थानीय बजेट छ। त्यसैगरी, वन उपभोक्ता समितिहरूले काठ दाउरा बेचेको राजस्व प्राप्त गर्छन्। सबै पक्ष मिल्न सकेमा धेरै उत्तम हुन्छ, तर त्यसो भएन भने पनि कुनै एक पक्षले मात्रै पनि आँट्ने हो भने गर्न सकिन्छ। तर भनिन्छ नि अल्छीको हात–गोडा चल्दैन, मझेरीमा फल्दैन।
जङ्गल र आबादीको सिमानामा वैज्ञानिक तरीकाले नेट जाली लगाउने हो भने ठूला जनावरको त के कुरा साना दुम्सी पनि छिर्न सक्दैनन्। यसलाई पर्खाल लगाएर, भेल बाढीको निकास दिएर जडान गर्नुपर्ने हुन्छ। तर यसले मात्रै  हात्ती रोक्न सक्दैन। हात्ती रोक्न नेट जालीसँगै सोलार फेन्सी पनि राख्नुपर्छ। पर्साका केही स्थानमा नेट मात्रै राखियो भने केही स्थानमा सोलार फेन्सी मात्रै जडान गरियो। यसरी जडान गरिएका स्थानहरूमा पनि मरम्मत सम्भार तथा विस्तार गरिएन। झाडी बढेपछि सोलार फेन्सी बेकाम हुन्छ, त्यसतर्फ ध्यान दिने समय कसैलाई छैन। बरु नेट र सोलार फेन्सीमा प्रयोग भएका तारहरू काटेर गाउँटोलमा हलो बाँध्ने, कपडा सुकाउनेलगायतमा प्रयोग भइरहेको पाइन्छ। डेढ मिटर फराकिलो पक्की नाला बनाएर पनि जङ्गली जनावर रोक्न सकिन्छ। यस्ता नालाहरू सिंचाइ वा वर्षात्को पानी निकासका लागि पनि सघाउ पुग्छ। तर वन तस्कर र वन अतिक्रमण गर्ने स्वार्थ साँचेका पक्षधरहरू आबादी र जङ्गलबीचमा कुनै पनि किसिमको अवरोध राख्न चाहँदैनन्। फलस्वरूप जङ्गली जनावर मानवबस्तीमा प्रवेश गरेर हैरान पारिरहेको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्