किर्ते जग्गा प्रकरणमा थप एकजना पक्राउ

123

प्रस, वीरगंज, २१ मङ्सिर/
वीरगंज महानगर–५ मुख्य सडकको करोडौं मूल्यको जग्गा किर्ते गरी नामसारी गरेको घटनामा पर्सा प्रहरीले थप एकजनालाई पक्राउ गरेको छ।
कालिकामाई गाउँपालिका–५ निवासी विश्वास तिवारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, पर्साका मुद्दा शाखा प्रमुख प्रहरी निरीक्षक कुशल बर्तौलाले बताए। किर्ते जग्गा प्रकरणमा तिवारीको संलग्नता पुष्टि भएपछि उनलाई पक्राउ गरिएको हो।
काठमाडौं महानगरपालिका–१ बस्ने गोपाल राजभण्डारीकी पत्नी कमला राजभण्डारीको नाममा रहेको वीरगंज महानगरपालिका–५ कित्ता नं ७१ को ३२५ वर्गमिटर, कित्ता नं ३ को १२७३.८ वर्गमिटर, कित्ता नं १८६ को १०३.४ वर्गमिटर र कित्ता नं १४३ को ८६.१० वर्गमिटर जग्गा २०७६ फागुन १२ गते मालपोत कार्यालय पर्साले मुकेश राजभण्डारीको नाममा नामसारी गरेको थियो। स्व. गोपाल र स्व. कमला राजभण्डारीका तीनजना नक्कली छोरा बनाएर मुकेश भन्ने केवलप्रताप राणाले केही व्यक्तिको संलग्नतामा किर्ते जालसाज गरेको घटना सार्वजनिक भएपछि यससम्बन्धी अनुसन्धानमा प्रहरीले ६ जनालाई पक्राउ गरिसकेको छ। प्रहरीले सर्वप्रथम राणालाई पक्राउ गरेको थियो भने त्यसपछि दुईजना लेखनदास प्रमेश साह र अमर साह कानूलाई पक्राउ गरी अनुसन्धान अगाडि बढाएपछि घटनामा वीरगंज–३ का गिरधारीलाल अग्रवाल पक्राउ परेका थिए। उनीसँगै मालपोतका कर्मचारी श्रीनारायणप्रसाद साहलाई पनि प्रहरीले पक्राउ गरेको थियो।
अहिलेसम्म प्रहरीले ६ जनालाई पक्राउ गरेको र ठगी मुद्दा दायर गरेको प्रनि बर्तौलाले बताए। किर्ते प्रकरणमा भूमिसुधार तथा मालपोत कार्यालय, पर्साका निमित्त प्रमुख सुमन झासँग प्रहरीले बयान लिइसकेको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्