विद्युत् आपूर्ति अनियमित हुँदा समस्या

0
63

प्रस, ठोरी, २० मङ्सिर/
पर्साको ठोरीलगायतका क्षेत्रमा मध्यरातमा दैनिक विद्युत् आपूर्तिमा अवरोध हुने गरेको छ। चार दिनदेखि मध्यरातमा विद्युत् आपूर्ति बन्द हुने गरेको स्थानीयले बताए।
मध्यरातमा विद्युत् आपूर्ति बन्द हुने र बिहान ८ बजेदेखि सुचारु हुने क्रम चार दिनदेखि चलेको छ। यो क्षेत्रमा नेपाल विद्युत् विद्युत प्राधिकरण पोखरिया वितरण केन्द्रबाट विद्युत् आपूर्ति हुने गरेको छ।
रातिपख चिसो बढेको बेलामा जङ्गली जनावरको प्रवेश हुने खतरा भएकोले ठोरी क्षेत्रका मानिसहरू रातिपख बिजुली कट्दा चिन्तित हुने गरेका छन्। खासगरी यो क्षेत्रमा चितुवाको भय छ। अँध्यारोको फाइदा उठाएर चितुवाले घर, गोठमा रहने बाख्रा टिपेर लैजाने खतरा रहेको ठोरी गापा–४ मिलचोकका  मुङ्गालाल तामाङ बताउँछन्। उनको बाख्रा चितुवाको आक्रमणबाट बुधवार मरेको थियो। यसअघि पनि बिजुली अवरोध भएको बेला रातिपख उनको दुईवटा बाख्रालाई चितुवाले मारेको थियो। खोरमा बिजुली बाल्दा चितुवाको भय कम हुने तर अँध्यारोमा चितुवा सक्रिय हुने गरेको कुसुमवाटिका मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष टङ्कप्रसाद तिमिल्सिना बताउँछन्।
यसको अलावा विद्युत् आपूर्ति नियमित नहुँदा बालबालिकाको अध्ययन, डीप बोरिङ प्रयोगकर्ताहरूलाई पनि समस्या भएको छ। ठोरीको मिलचोक, विशालचोक, ठूलो बाधमोर्चा, ब्रह्मनगरलगायतका स्थानमा डीप बोरिड्ढो पानी प्रयोग हुन्छ, जसका लागि विद्युत् आवश्यक हुन्छ। निर्मल समाज युवा क्लबका कोषाध्यक्ष प्रेम श्रेष्ठले विद्युत् आपूर्ति बन्द हुँदा जेनरेटर चलाएर पानी आपूर्ति गर्नुपरेको बताए। उनको संस्थाले मिलचोकमा पानी आपूर्तिको जिम्मा लिएको छ। पानीको सहज आपूर्ति हुन नसक्दा चार दिनदेखि भीड लाग्ने गरेको श्रेष्ठले बताए।
पोखरिया वितरण केन्द्रले भने पोखरिया–ठोरी विद्युत् पोलमा लगाइएको माटोको किटमा समस्या भएर बिजुली आपूर्ति अनियमित भइरहेको बताएको छ। किट प्वाल परेको हुन सक्ने र त्यसमा चिसोको बेला शीत परेर विद्युत् अवरुद्ध हुने गरेको बताइएको छ। पोखरिया वितरण केन्द्रले समस्या समाधानका लागि पहल भइरहेको बताएको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्