जङ्गली जनावरका कारण बालीनाली क्षति

77

प्रस, सेढवा, २० मङ्सिर/
जङ्गली जनावरले बालीनालीमा क्षति पु–याउँदा किसानहरू चिन्तित भएका छन्।
ठोरी, जीराभवानी र पटेर्वासुगौली गाउँपालिकासँग जोडिएको जङ्गलबाट जनावरहरू आएर किसानले लगाएको बालीनाली क्षति पु–याएको किसानहरूले बताए। यो क्षेत्रका किसानहरूले लगाएको तोरी, आलु, राजमा, गहँु, कोदोलगायतका बालीमा पर्सा राष्ट्रिय निकुञ्जबाट आउने  जङ्गली जनावरहरू चित्तल, बँदेल, घोडगदहाका साथै झुन्डमा आउने मयुरले बाली नोक्सानी गरेको जीराभवानी गापा–१ शान्तिनगरका राजकुमारी श्रेष्ठले बताइन्। उनले जनावरहरूले बालीलाई चरेर भन्दा पनि माडेर नोक्सान गर्ने गरेको बताइन्।
जङ्गलको सीमाभन्दा झन्डै पाँच किलोमिटर टाढा दक्षिणसम्म पुगेर जङ्गली जनावरले आलुखेती नोक्सान गरेको जीराभवानी गापा–२ सेढवाका किसान प्रदीप चौधरीले बताए। रातभरि खेतमा जाग्राम बसेर बालीको सुरक्षा गर्न सम्भव नभएको र जङ्गली जनावरलाई हानिनोक्सानी गर्न पनि कानूनले अपराध ठहर गरेकोले समस्या बढेको उनले बताए। बाली जोगाउन आफूले गाईवस्तुको मलमूत्र पानीमा घोलेर छरे पनि जनावरहरूले खान नछोडेको उनले बताए।
जङ्गली जनावरका कारण ठोरी गापा–५ मा पर्ने गडुवालाइन, जीराभवानीको शान्तिनगर, भवानीपुर, सेढवा, काठमाडौंटोल, बसन्तपुर, हरैया, सखुवनियालगायतका किसानहरू अहिले जङ्गली जनावरको प्रकोप सहेर बसेका छन्।
जङ्गली जनावर नियन्त्रणका लागि पर्सा राष्ट्रिय निकुञ्जले निर्माण गरेको विद्युतीय तार छ तर पनि जनावरहरू खोला भएर खेतबारीमा पस्ने गरेको  सुनाखरी वन समितिका अध्यक्ष देवीप्रसाद दाहालले बताए। उनले तारबारको कारण पहिलेको तुलनामा अहिले बालीनाली क्षति कम भएको बताए।
तारबारले ठूला जनावरहरूबाट हुने क्षति रोकिएको तर साना जनावरहरूको आतङ्क भने जारी रहेको अध्यक्ष दाहालले बताए।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्