रूख चढ्दैमा छोरा बहादुर र छोरी उत्ताउली हुने होइन

0
57

वैधनाथ ठाकुर

कसैले माने पनि नमाने पनि हाम्रो समाज अझै पनि सामन्ती संस्कृतिमैं गणतन्त्रको बाटोमा बामे सर्दैछ। सम्पूर्ण नेपालीको साझा पर्व गणतन्त्र र शहीद दिवसका दिन नेपाली जनसमुदायको उल्लेख्य सहभागिता अझैसम्म हुन सकेको छैन। संविधान दिवस जस्ता राष्ट्रिय पर्व सबै तह र तप्काका जनजीवनमा अझै पुग्न सकेको छैन। यी राष्ट्रिय पर्वहरू औपचारिकताको परिधिभित्र सिंहदरबारदेखि सरकारी कार्यालयहरूमा मात्र सीमित देखिन्छन्। तर धार्मिक पर्वहरू हाम्रFे समाजका अभिन्न अङ्ग बनेका छन्। रामनवमी होस् अथवा दशैं वा फागु यिनीहरूमा हिन्दू धर्मावलम्बीहरू तराईदेखि पहाडसम्म लागेका देखिन्छन्। कता कता सामन्तवादबाट राज्यसमेत अझै प्रभावित छ। दशैं मनाउनलाई सरकारी कर्मचारी जुनसुकै जात, धर्मको भएपनि तिनलाई एक महीनाको तलब नै दिने चलन अझैसम्म कायम छ। जबकि अन्य धर्म, जातजातिका कुनै पनि चाडपर्व मनाउनलाई राज्यले कसैलाई पनि एक सुको दिंदैन। यसरी हामी प्रस्टसित देखिरहेका छौं, राज्यको विभेदकारी सामन्ती नीति जो परम्पराको रूपमा आजसम्म कायम नै छ। भन्नलाई कम्युनिस्टहरू आफूलाई जति ठूलो क्रान्तिकारी भनोस्, माक्र्सवादी भनोस् र द्वन्द्वात्मक भौतिकवादी भनोस् तर यिनीहरू कुनै न कुनै रूपमा अध्यात्मवादको अगाडि त्वम् शरणम् गच्छामी भएको कुरा दुनियाँले देखिरहेकै छ।
सामन्तवादको सबैभन्दा ठूलो प्रहार निकै लामो समयदेखि महिलाहरूले भोग्दै आएका छन्। हुनत पूँजीवादी र साम्राज्यवादीहरूले समेत महिलाहरूलाई सम्पूर्णरूपमा शोषण नै गरिरहेका छन्। नारी जातिलाई भोगविलासको साधन मात्र देख्ने पूँजीवादको रूप हामी सबैको अगाडि प्रस्ट नै छ। सामन्ती जाँतोमा महिलाहरू नराम्ररी पिसिएका छन्। सामन्तवादले नारीहरूलाई मानिसको दर्जासमेत दिन मानेको छैन। हिन्दूहरूको पवित्र ग्रन्थ रामायणमा नारीलाई कुटपिट गरेर मात्रै तह लगाउन सकिने वस्तुको रूपमा व्याख्या गरिएको छ। रामायणको अनुसार– ढोल, गँवार, शुद्र, पशु, नारी, ये सब तारण के अधिकारी। अर्थात् ढोलबाट राम्रो धुन निकाल्नु छ भने त्यसलाई पिट्नुपर्छ। गँवार अर्थात् मूर्खलाई सही ढङ्गले काममा लगाउनु छ भने त्यसलाई पनि पिट्नै पर्छ। शुद्र अर्थात् तल्लो जात यिनीहरूलाई पनि ठीक ठाउँमा राख्नु छ अर्थात् ब्राह्मण, क्षत्री, वैश्यको सेवा राम्रोसँग गराउनु छ भने पिट्नै पर्छ। पशु अर्थात् जनावरलाई पनि ठीकसँग काममा तबमात्र प्रयोग गर्न सकिन्छ, जब उसलाई पिटिन्छ। र अन्त्यमा नारी अर्थात् आदिशक्ति महिलालाई पनि ठीक ठाउँमा राख्नु छ भने तीनलाई पनि पिट्नुपर्छ।
महिलाको बारेमा हाम्रा राष्ट्रकवि भानुभक्त आचार्यको वधू शिक्षा एकचोटि पढ्ने हो भने महिलाप्रति कति घटिया सोच भानुभक्तको रहेछ प्रस्ट हुन्छ। वधू शिक्षामा भानुभक्तले यसरी लेखेका छन्–
हाँस्नु छैन कदापि नारीहरूले वेश्या हुने हाँस्तछन्
वेश्या लौ नहउन् तथापि घरको काम ती सबै नास्तछन्।
एक्लै हाँस्न हुँदैन कोही नभई अर्को सङ्गी भो जसै
हाँस्तैमा दिन जान्छ एही रीतले सब काम बित्छन् तसै।।१९
यसरी नारीलाई हाँस्नसमेत नहुने अर्थात् खुशी हुने अधिकार नारीलाई छैन। यतिमात्र होइन भानुभक्तले नारी जातिमाथिको पाशविक प्रथा सतीप्रथाको समेत समर्थन गरेको देखिन्छ–
स्त्रीको धर्म पतीमती पनि मान्या बखतको गति।
बाँचुञ्जेल सुख भोग पनि बुझी लिंदाको दिन्छ त्यसले जति।।
स्त्रीको धर्म पति जति त अरूथोक देख्दैन मन्ले रति।
यस लोकमा परलोकमा सुख दिन्या सो हेर जान्छ सती।।
यस प्रकार हामी के देख्छौं भने हाम्रो समाजका प्रत्येक क्षेत्रमा सामन्तवाद नै हावी रहेको छ। धर्म, राजनीति, संस्कृति सबै क्षेत्रमा नारीलाई हेयको दृष्टिले लामो समयदेखि हेर्दै आएकोले हाम्रो समाजमा नारीप्रति पुरुषको समान भाव, समान विचार तथा समान व्यवहार भए गरेको देखिंदैन। नारी जातिलाई जन्मदेखि मृत्यु नभएसम्म दुई नम्बरको नागरिक जस्तो व्यवहार गरिएको छ।
यतिबेला समय २१औं शताब्दीमा आइपुगेको छ। हिजोको सामाजिक अवस्था अब छैन। आर्थिक व्यवस्थामा उत्पादन शक्ति र उत्पादन मानिसहरूको परिश्रम र कम उत्पादन प्रणालीको ठाउँ नयाँ–नयाँ मेशिनहरूले लिएका छन्। विज्ञान र प्रविधिको विकास तथा प्रयोगले गर्दा आजको मानव निकै समृद्ध तथा सभ्य र सुखी भएको देखिन्छ। तर यति हुँदाहुँदै पनि नारीहरूप्रतिको दृष्टिकोणमा खासै परिवर्तन आएको देखिंदैन।
भनिन्छ, राजनीतिले र प्रविधिले असम्भव कुराहरूलाई सम्भव बनाउँछन्। तर हामीकहाँ मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरिसक्दा पनि महिलाहरू अझै आफ्नो अधिकार पुरुषसरह पाउन सकेका छैनन्। यतिबेला देशमा नेकपाको दुई तिहाइ बहुमतको सरकार छ तर सरकारमा समेत संविधानले व्यवस्था गरेबमोजिम महिलाको उपस्थिति छैन। स्वयम् नेकपाको केन्द्रीय कमिटी होस् वा सचिवालय त्यहाँ पनि महिलाको तेत्तीस प्रतिशत उपस्थिति छैन। भन्नलाई नेपाली काङ्ग्रेस, नेकपा आफूलाई प्रजातन्त्रवादी दल भन्छन् तर संविधानमा यिनीहरू महिलालाई प्रत्येक क्षेत्रमा पुरुषरसह पचास प्रतिशत उपस्थिति गराउनुपर्ने बाध्यकारी व्यवस्था नगरेबाट दलहरूभित्रको सामन्तवाद प्रस्टै देख्न सकिन्छ।
नयाँ परिवेशमा महिलाहरू हिजोका तुलनामा प्रहरी, सेना, कर्मचारी, शिक्षक, सरकारलगायतका क्ष्Fेत्रमा निस्सन्देह राम्रो उपस्थिति छ तर ती सबै ठाउँमा महिलाले नराम्रा नजर, बोली, वचन तथा व्यवहारको सामना गर्नुपरेका घटनाहरू दिनदिनै सार्वजनिक हुने गरेको देख्दा महिलाप्रतिको दृष्टिकोण के छ त भन्ने प्रश्न बुझ्न गा–हो छैन।
घरपरिवारलाई नै बालबालिकाको पहिलो विद्यालय मानिन्छ। घरपरिवारमा सबै कुरामा प्रायः बालिकालाई भिन्नता अनुभव गराउने गरिन्छ। उनीहरूको खेल्ने खेलौनादेखि सम्बोधन गर्ने कुरासमेत फरक रहेको छ। समाजभित्र पुरुषको अवस्था यति धेरै बलियो छ कि मानिसहरू छोरीलाई बोलाउँदा पनि ‘ए छोरा’ भनेर बोलाएको प्रायः देखिन्छ। जबकि कुनै पनि छोरालाई परिवारमा ‘ए छोरी’ बोलाएको सुनिंदैन। घरपरिवारभित्रको छोरामुखी चिन्तनले सामन्तवाद अझै कति बलियो रहेको छ भन्ने कुरो बुझ्न सकिन्छ। एउटै कार्य छोराले गर्दा स्याबासी पाउँछ तर त्यही काम छोरीले गर्दा गाली पाउँछ। छोराहरू रूख चढेमा बहादुर भनेर पिठ्यूँमा धाप दिन्छन् आमाबुबाले तर त्यही रूखमा छोरी चढे भने कस्ती उत्ताउली भॉकी भनेर गाली गरिन्छ। यस्तो विभेदकारी सोचमा परिवर्तन आउन जरुरी छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्