प्रेम कथा

142

सञ्जय मित्र

उत्तरवाहिनी बकेआले झन्डै घेरेको छ गाउँलाई। असारको आकाशले धर्ती तताएको छ भने गाउँलाई त्रास हुन्छ र रुझाएको छ भने धेरैको निद्रा हराउँछ। सोझो छैन, बकेआ ठाकुर पहिलेदेखि नै टेंढो छ। कहिले सोझो बनेर कतिको उठीबास गराउँछ त कहिले झन् टेंढो बनेर सताउँछ कैयौंलाई। नदीको पनि मन हुन्छ क्यारे– कहिले सोझो बनेर बिगार्ने र कहिले टेढो बनेर पनि उठीबास गराउने।
अलिकति पानी आउँदा पनि ठाकुरले तिवारीको घर खोस्रन थाल्छ। पोहोरदेखि तिवारीको घरलाई बकेआ ठाकुरले अलिक बढी सताउन थालेको सबैले देखेका छन्।
पहिले ठाकुरले तिवारीलाई यसरी सताएको पुर्खौंपुर्खादेखि कसैले देखे सुनेका छैनन्। आँगनमैं बसेर ठाकुरको शान्त र रौद्र रूप निस्पृह नयनले हेर्दै आएको छ तिवारी परिवार। “हे बकेआ ठाकुर, एई साल कथि होगेल ? काहेला खिसिआएल छा ?” मनमनै प्रार्थना गर्छन् घरका सबै।
बिहानै बाढी बढेको छ। ठाकुरको रङरूप अलिक फरक छ। बढी हिलोमाटो कताकताबाट बगाएर ल्याउँदैछ, लैजाँदैछ। गर्जन छैन तर कुनै बेला नाच्दै बाढीको पानीको एक झोक्का आएर तिवारीको घडेरीमा ठोक्किन्छ। अलिकति माटो खोस्रेर लैजान्छ। माटो खोस्रेको पानीको झोक्का खुशी हुँदै उप्रिंmदै फर्केको देखेर तिवारीको मनमा पहिरो जान्छ।
सवा पहर बेर उठेको छ। आज मङ्गलवार हो। आँगनछेउमा रहेको सानो सजिवनको एउटा हाँगामा आफूले लगाएको वस्त्र फुकालेर तिवारी झुन्ड्याउँछन्। मनभित्र डरको बाढी लिएर बकेआको हिलाम्मे पानीमा प्रवेश गर्छन्। एक डुबुल्की लगाउँछन्। अलिकति जीउ माडेको अभिनय गर्छन्। स्नान गरेको भनी आफ्नै चित्त बुझाउन तिवारीले अर्को डुबुल्की पनि लगाउँछन्। बकेआले अलिकति धकेलेको अनुभूति हुन्छ। किन हो किन बाढीको पानीको घनत्व शरीरको अन्य भागभन्दा खुट्टामा बढी महसूस हुन्छ। तिवारीको खुट्टामा बकेआ ठाकुरले ढोगेको हो।
हातमा जनै बेर्दै पूर्वाभिमुख भएर तिवारी सूर्यतिर हेर्छन्। आँखा चिम्लन्छन् र ध्यान गर्छन्। बकेआको स्वरूपको धमिलो दर्शन हुन्छ। तिवारी विन्ती गर्छन्, “हे बकेआ ठाकुर, तोहरा जमीन पर हम अतिक्रमण नकएले छी, हमरा जमीन पर भी तू अतिक्रमण नकरा।” हामी दुवै आआफ्नै सीमामा रहौं। हिलोपानीमा डुबेको शरीर बाहिर निस्कँदा अझै हिलोमाटो रहेकै छ भने नुहाउनुभन्दा पहिले नै चिसिएको मन भने अझै ओभानो भइसकेको छैन।
तिवारीको मनले देख्दछ– धमिलो पानीको प्रहार अलिक कमजोर भएको छ। हलुका शान्तिको आभास हुन्छ। अलिकति उज्यालिएको मनको मधुर आभा सन्तोषको रूपमा छरिन्छ, अनुहारमा।
दिनभर बाढीले केही बिगारेको छैन। बाढीको वेग बढे पनि एक डल्लोसमेत खसालेको छैन तिवारीको घडेरीको। साँझसम्म उनलाई ठाकुरले आफ्नो कुरो सुनेको विश्वास भइसकेको छ।
सुत्ने बेलामा चिन्ता र सन्तोष दुवै छ। कता हो कता बकेआ ठाकुरले अब कटान गर्दैन भन्ने विश्वासको मात्रा केही बढी छ तिवारीको मनमा। नदीको बाढी त हो नि, राति फेरि आक्रमण ग–यो भने १ चिन्ताको एउटा सुइरोले मनमा घोचेपछि विस्मातको चिसो बतासले आङ सिरिङ हुन्छ। सन्तोष र चिन्ताको यही दोसाँधमा तिवारीलाई निद्रादेवीले अँगालो मार्छिन्। निद्रादेवीको काखमा उनलाई मातृत्वभाव अनुभूति भएको छ।
सेतो धोती लाएको र धोतीकै केही भागले जीउ छोपेको खाइलाग्दो युवक निस्कन्छ। तिवारीको आँखाअगाडि नै युवक पानीबाट बाहिर आएको हो। सिर्रसिर्र चलिरहेको पूर्वैया हावाले युवकको धोती हल्का फरफराइरहेको छ। पानीबाटै निस्केको युवकको जीउ भिजेको छैन। धोती भिजेको छैन। केही सोध्नुभन्दा पहिले नजीकै आइसकेको युवकले तिवारीलाई भन्छ– “म बकेआ हुँ। तपाईंहरू मलाई बकेआ ठाकुर भन्नुहुन्छ। म तपाईंकी छोरीसित प्रेम गर्छु। तपाईंकी छोरीसित बिहे गर्न चाहन्छु। तपाईंकी छोरीसित बिहे गर्नकै लागि म त्यत्ति टाढाबाट घुम्दै मोडिएर तपाईंको घरसम्म आएको हुँ। तपाईंकी छोरीसित बिहे गरेपछि यो गाउँलाई छाडेर म अन्यत्रै जान्छु।” युवकको कुरा सुनेर अचम्भित हुँदै केही सोध्न चाहन्छन्। मनको वाक्य ओठबाट फुत्किन नपाउँदै युवक पानीमा पसिहाल्छ हेर्दाहेर्दै। अचम्म १ युवक पानीमा पस्दा छप्ल्याङछुप्लुड्ढो आवाजसम्म आउँदैन।
कस्तो अचम्मको सपना। यस्तो पनि सपना हुन सक्छ भनेर सपनासमेत तिवारीले सोचेका थिएनन्। नदीले मान्छेसित बिहे गर्छु भन्ने प्रस्ताव आएको सपना। यस्तो पनि कहीं हुन्छ ?
सपना सुनी रही मनगोई
अपन देखी अनकर होई।
सपनामा देखेको कुरा कसैलाई नभन्ने हो भने अरूमा सर्छ। यही विश्वासले कसैलाई भन्दैनन्। भन्नू पनि कसरी ? यस्तो पनि सपना हुन्छ त। लाजैमर्दो सपना तर सपनालाई हटाउन पनि सकिंदैन।
अर्को रात पनि सपनामा पुनरावृत्ति हुन्छ युवकको। फेरि युवक भन्छ– “मेरो कुरोमाथि पत्यार लाग्दैन ? म साँच्चिकै तपाईंकी छोरीसित बिहे गर्छु। यस गाउँलाई बर्बादीबाट जोगाउनु तपाईंको कर्तव्य हो। म पनि चाहन्छु कि यो गाउँ मेरो ससुराली बनोस्।”
हे भगवान ! कस्तो सपनाको पुनरावृत्ति भएको। कसैलाई भनूँ कि नभनूँ ? आ… होस्, आज अन्तै सुत्छु। ओछ्यानमा सितो झरेको थियो कि ? आज सिरानीमुनि हँसुवा राखेर सुत्छु, अनि कसरी आउँछ सपना, देखूँला।
दिउँसो आँगनमा बसेका छन् तिवारी। मन्द भएको छ बाढीको गति। पानी पनि अलिक सफा छ तर धमिलोपनको मात्रा मात्रै कम भएको हो। उनकी छोरी बिस्तारै खोलामा पस्न खोज्छिन्। घँघरीलाई सम्हाल्दै पानीमा पहिलो पाइलो के हालेकी छिन्– एकैचोटि माछा उफ्रन्छ चारैतिर। पानीमा करेन्ट प्रवाहित भएजस्तो छ। कति माछा त पानीबाट बाहिर किनारमा पनि पुगेका छन्। धेरै टाढासम्म यो भएको छ। केटाकेटीहरू माछा टिप्न थाल्छन्। ठूलो माछो युवतीले पनि भेटाएकी छन्। तिवारीले अर्को माछो समात्न भ्याएका छन्। टोलभरि माछाको भोजजस्तै भएको छ।
“पहिलो पाइलोलाई मैले संस्कृतिअनुरूप माछाको सलामी दिएको छु। बिहे हुनुभन्दा पहिले नै ससुराली पुगेकी युवतीलाई माछा कोसेली पठाउनु पर्छ। यो सबैभन्दा शुद्ध मानिएको हो। मैले त्यसै गरें। हाम्रो विवाह नहुन्ज्यालसम्म छोरीलाई मकहाँ नपठाउनू। अब पानीमा पाइला टेक्छिन् भने म भगाएर लैजान्छु। तपाईंहरूले छोरी डुबी भन्ठान्नुहोला।
म फेरि पनि भन्छु, असारकै लगनमा छोरीसित मेरो बिहे गराइदिनुहोस्।”
सपना नदेख्नलाई सबै उपाय गरेर सुतेका तिवारीले तेस्रो रातको सपनामा आग्रहभन्दा चेतावनी बढी पाउँछन् उही युवकबाट। सपना हराएपछि निद्रा पनि हराएको छ। सुत्नुपर्ने कुनै प्रयोजनै बाँकी नरहेको लाग्छ।
बिहान उठेर यही नदीको किनारतिरै दिसा गर्न जान्छन् सबै। दिसा धुने यही नै। लुगाधुने पनि यसैमा हो। यहीको पानी गाईवस्तुले खान्छन्। घरआँगनको सबै काम यही नदीको पानीले गरिन्छ। नुहाउने पनि यही नै हो। भान्साको लागि पानी मात्रै मठको इनारबाट ल्याउने हो।
सबै कुरो थाहा हुँदाहुँदै पनि बिहान तिवारिनीलाई सुनाएर अलि झर्केको स्वरमा आदेश दिन्छन्– कौनो भी हालमे बेटीके पानीमे नपेठाबेके हए।
एउटै सपनाको शृङ्खला कसैलाई पनि हुँदैन। सपनाको पुनरावृत्तिमाथि कसैको हक हुँदो हो त उसले मन परेको सपना फेरि पनि हेर्न खोज्थ्यो र अझ मन पर्ने गरी सपनाको निर्माण गर्दै जान्थ्यो। सपनामाथि नियन्त्रण नभए पनि तिवारीको सपना हरेक दिन पुनरावृत्ति र त्यसपछि फेरि अलिकति नयाँ कुरा थपेर सपना अलप भइरहेको छ। अलप भएको सपनाले त्रास र चिन्ता बढाइसकेको छ। अब केही गर्नुपर्ला कि भन्ने विचार मनमा आएपछि तिवारी मठतिर लाग्छन्। साधुबाबा पूजा गरिसकेर चनाइमरित बाँडिरहेका छन्। बडो श्रद्धाले तिवारीले हात थाप्छन्। चनाइमरित पिएपछि मठको आँगनमा रहेको इनारको छेउको तुलसीको बोटनेर मलिनो अनुहार लाएर बस्छन्। महाराजीलाई कस्तो कस्तो लागेर सोध्छन्– “काहे हो, कुछो भेल हए कि ?”
“जी, तन्का एगो सलाह करेके रहलई ह।” तिवारीले सारा कुरो सुनाउँछन्। संयोगले त्यहाँ सुन्ने कोही हुँदैनन्। सारा वृत्तान्त सुनाएपछि तिवारीको मनको बहले निकास पाएको जस्तो हुन्छ। कता कता समाधान पाउने फराकिलो बाटोको प्रतीक्षामा हुन्छ तिवारीको मन। महाराजी भन्छन्– “भिहान मात्रे कुछो कहसकइछी।”
मठबाट फर्केपछि तिवारिनीलाई पनि दिनदिनैको सपनाको कुरा सुनाउँछन् उनी। तिवारिनीले आफ्नो देआदिनलाई सुनाउँछिन्। तिवारीको घरमा आइरहने आफ्नो एकजना हितलाई पनि सुनाउँछन्। गाउँभरि यो सपनाको चर्चा चल्न थाल्छ। वृद्धवृद्धाहरूमा त्रासपूर्ण उत्सुकता छ भने नवयुवाहरूमा हाँसीमजाकको एउटा मसला भएको छ।
सुनेकाहरूले आफ्ना बेटीपतोहलाई नदीमा पस्न रोक लगाउँछन्। मठको कोइलामातालाई अब फुर्सद छैन। अरू मानिस पनि नदीको पानीमा पस्न डराउन थालेका छन्। साँझ हुँदासम्म यो कुरो थाहा नपाउने कोही छैन गाउँमा। आकाशमा कालो बादल बाक्लिन थालेको छ। गाउँका दरुआहरू नपुग्दा भट्टी पनि उदास छ आज। बढ्दो साँझसँगै गाउँमा अज्ञात त्रास पसेको छ। सम्साँझैं गाउँ सुनसान भइसकेको छ।
यस्तो सन्नाटापूर्ण रात त दशैंको पनि हुँदैन। धन्न, गड्याङ्गुडुङ मात्र गर्छ पानी पर्दैन। डर यति छ कि कतै धेरै पानी परेर आजैको रात गाउँ पो बगाउँछ कि बकेआ ठाकुरले।
राति फेरि सपनामा युवकको हँसिलो अनुहार आउँछ। संवाद हुन्छ। तर्सेर झल्याँस्स ब्यूँझन्छन् र त्यसपछि बिहानको प्रतीक्षा हुन्छ।
आज रात कैयौंले यस्तै सपना देखेका छन् गाउँमा। शायद कुनै कुराको गहिरो छाप परेपछि सपनामा त्यही कुरा आउँछ। यद्यपि कहिल्यै कल्पनै नगरेको कुरो पनि सपनामा नदेखिने होइन। मस्तिष्क सक्रिय भएर त सपना आउने हो। महराजीलाई धेरैले सपनाको कुरा सुनाउँछन्। मठमा जम्मा भएकाहरूले निष्कर्ष सुनाउँछन्– भोलि बिराएर पर्सि लगन छ। त्यही लगनमा बिहे गरिदिनु उचित हुन्छ। लगनको साइत छ पाँच बजे साँझ।
मजाक, त्रास, उत्साह र जिज्ञासाको सम्मिश्रणमा छ गाउँ। प्रतीक्षा छ लगनको समयको। नदी र मान्छेको बिहेको।
विधि व्यवहार शुरू हुन्छ। गाउँमा बिलौकी माग्ने क्रम चल्छ। अदृश्य दुलहाको नाउँमा पनि गीतहरू गाइन्छन्। आम–महुआ पनि बिआहिन्छ। एउटी छोरीको बिहेमा गरिने सम्पूर्ण विधि पूरा गरेपछि दुलहीलाई नदी किनारमा उभ्याइन्छ। बिहेपछि गाइने बिदाइको गीत गाउन शुरू भएको छ। दुलहीले पनि गहभरि आँसु भरेर आफन्तहरूतिर नजर दौडाउँछिन्। सबैको गला अवरुद्ध छ। गीतहरिनहरू गीतको स्वरमा आफन्त र दुलहीको मौन संवाद कसैले सुनेका छैनन्।
दुलहीलाई नदीछेउमा पु–याउँदै गीतहरिनहरू गीत गाउँदै अलिअलि पछाडि सर्दै गरेका छन्। उत्सुकता र जिज्ञासा चरम उत्कर्षमा छन्। ठेटनाहरूले खिल्ली उडाउन बन्द गरेका छैनन्। देख्दादेख्दै सबैको सामुन्ने एकै निमेषमा समुद्रको भन्दा पनि ठूलो पहाडजस्तै बनेर पानीको एउटा छाल आउँछ र दुलहीलाई लैजान्छ। तिवारीकी छोरी गायब। कोकोहोलो मच्चिन्छ। कतिले हेर्न भ्याएका हुन्छन् र त्यही हुँदा पनि कतिपयलाई यो एक निमेष आँखा झिम्काएको जस्तो पत्तै हुँदैन।
घटना र परिवेशले एक निमेष अनन्तको बन्दछ। सोही एक निमेषमा कसैको आफनो सन्तान अदृश्य हुन्छ भने…। झन् आमालाई कस्तो होला ? तिवारिनीको आँखाबाट मानौं बकैयाको बाढी बग्न थाल्दछ। अकल्पनीय र अलौकिक बज्रपात जो भएको छ।
आँसु नथामिएको चार दिन बितिसकेको छ। चौथो रात सपनामा छोरी आउँछिन् र भन्छिन्– “गे माय, नरो। हम बहुत खुशी छी।” तिवारिनीको आँसु बिलाउँछ र अनुहारमा सन्तोषको चमक मानौं उज्यालो प्रकाशको लेपजस्तो देखिन थालेको छ।
भयङ्कर ठूलो पानी पर्दछ। यस्तो वर्षा यस गाउँका मानिसले आफ्नो जीवनमा कहिल्यै देखेका छैनन्। पहाड पनि बर्सिरहेको छ। गाउँमाथि सीट मडारिएको हो कि भन्ने डर लागिरहेको छ। तिवारीको परिवार भने डर र उत्साह सबैबाट मुक्त छ। तिवारीले एकजनालाई भन्छन्– केही हुँदैन।
बाढीले बगाउँछ कि भन्ने रातमा नदी अचानक सुक्खा हुन्छ। त्यत्रो विशाल नदीको बाढी बिलाउँछ, हराउँछ। बिहान भएपछि कतैबाट खबर आउँछ– बकेआ ठाकुर सवा कोस पूर्व सरेछ।
तिवारीलाई सपनामा बताएझैं दुई/चार वर्षमा बकेआ ठाकुर धमिलो पानीको बाढी लिएर ससुराली गाउँ सोनरनिया आउँछन्।
…अनि जीवित छँदै तिवारीलाई गाउँलेले देवता मान्न थालेछन्। तिवारीले देखेछन्– गाउँको दखिन–पूर्व कुनामा उनको थान बनाएर पूजा गर्न थालेका छन्।
आज पनि तपाईं त्यहाँ पुग्नुहुन्छ भने मनसारामले तपाईंको कानमा आफ्नी छोरी र बकेआ ठाकुरको प्रेम कथा सुनाउँछन्। मलाई उनैले सुनाएका हुन्। कथा सुनेर मजस्तै तपाईंको पनि शिर श्रद्धाले निहुरिन्छ उनको अगाडि।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्